ad ad

राजनीति


उपेन्द्र यादवको हालत ताप्केबाट हाम्फालेर भुङ्ग्रोमा खसेको माछाजस्तो!

सम्झौताको मसी नसुक्दै सुनसरीमा एमालेले दियो जसपालाई धोका
उपेन्द्र यादवको हालत ताप्केबाट हाम्फालेर भुङ्ग्रोमा खसेको माछाजस्तो!

नेपालखबर
असोज २२, २०७९ शनिबार १३:४४, काठमाडौँ

आफूले मागेजति सिट नपाउँदा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्ने निर्णय गरेका उपेन्द्र यादव नेतृत्वको जनता  समाजवादी पार्टी ९जसपा० को हालत ‘तातो ताप्केबाट उम्केर भुङ्ग्रोमा खस्न पुगेको माछा’ जस्तै हुन पुगेको छ।

मागेजति निर्वाचन क्षेत्र नपाएपछि सत्ता गठबन्धन छाडेका अध्यक्ष यादवले एमालेसँगको गठबन्धनबाट पनि अपेक्षा गरे अनुरुप निर्वाचन क्षेत्र प्राप्त गर्ने सकेनन्।

देशभर जसपाका लागि ३२ सिट माग गरेका यादवलाई सत्तागठबन्धनले १६ सिट दिने पक्का भइसकेको थियो भने धैर्यताका साथ सौदावाजी गर्न सक्दा थप २–४ सिट प्राप्त गर्नसक्ने स्थिति थियो।

जसपालाई ३२ सिट नै दिनुपर्ने यादवको अडान र त्यति दिन नसक्ने सत्तागठबन्धनको बाध्यताका बीच एमाले अध्यक्ष ओलीले यादवलाई आफू नेतृत्वको गठबन्धनमा ल्याउने प्रयास थालेका थिए।

यादवलाई एमाले नेतृत्वको गठबन्धनमा सामेल गराइने भएपछि ओलीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवार्दी पार्टी ९लोसपा० लाई एमाले नेतृत्वको गठबन्धनबाट बाहिर राख्ने निर्णय समेत गरेका थिए। 

सत्तागठबन्धनमा विभाजन ल्याउन ओलीले यादव नेतृत्वको जसपालाई प्रतिनिधि सभाका कम्तिमा २५ क्षेत्र दिने बचन दिएका थिए।  सत्ता गठबन्धनबाट बढीमा मुस्किलले २० क्षेत्र पाउने स्थितिमा २५ क्षेत्र दिने भएपछि सत्ता गठबन्धन छाडेर यादव एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुगे। 

तर, शनिबार ९२२ असोज० विहान भएको लिखित सहमति अनुसार एमालेबाट जसपाले देशभरका जम्मा १७ वटा प्रतिनिधि सभाका निर्वाचन क्षेत्र पाउने भएको छ।

एमालेसँगको तालमेलबाट उसले सप्तरी–१, २, ३, सिरहा– २ र ४, धनुषा– १, महोत्तरी– ३ र ४, सर्लाही– १ र ४, रौतहट– २, बारा– २, पर्सा– १ र २, रुपन्देही– ४, मोरङ्ग– ५ र सुनसरी– १ मात्र प्राप्त गरेको छ।

सत्तागठबन्धनसँगको सौदावाजीमा जसपाले काठमाडौँ– ७ र एकमात्र निर्वाचन क्षेत्र भएको धनकुटालाई पनि ‘बटम लाइन’ बनाएको थियो। मन्त्रीसमेत रहेका पार्टी नेता राजेन्द्र श्रेष्ठका लागि काठमाडौँ– ७ र अर्का नेता रकम चेम्जोङ्गका लागि धनकुटा सुरक्षित गर्न उसले यी दुई निर्वाचन क्षेत्र आफूले पाउनुपर्ने अडान जसपाले अन्तिम समयसम्म लिइरह्यो। 

आफूले माग गरेजति सिटका अतिरिक्त काठमाडौँ–७ र धनकुटा नपाउने भएकाले पनि यादवले सत्तारुढ गठबन्धन छाडेर एमालेसँग गठबन्धनको निर्णय गरेका थिए। तर, उनले प्रतिष्ठाको विषय बनाएका यी दुबै क्षेत्र जसपाका लागि सुरक्षित गर्न उनी सफल भएनन्।

धरानमा धोका
पार्टीका बरिष्ठ नेता अशोक राईका लागि सुनसरी– १ जोगाउन भने उनी सफल भएका छन्। तर, राईका लागि सुनसरी– १ जसपाले पाउने भएपछि एमाले सुनसरीभित्र असन्तुष्टि चुलिएको छ। यो निर्णय विरुद्ध धरान उपमहानगरपालिका क्षेत्रका एमाले नेता–कार्यकर्ताहरुले विद्रोहको मनस्थिति बनाएका छन्। धरान उपमहानगरपालिकाका पूर्वएमाले मेयर मनोजकुमार मेयाङ्गोले त विद्रोह गरी स्वतन्त्र उम्मेदवारी नै दिने घोषणा गरिसकेका छन्।

विद्रोहको यो घोषणापछि एमालेले मेयाङ्गोलाई नै उम्मेदवार बनाउने सम्भावना बढेको छ। यसले गर्दा सहमतिको मसी सुक्न नपाउँदै सुनसरी– १ मा जसपाले सम्झौताको मसी नसुक्दै एमालेबाट धोका पाउने सम्भावना बढेको छ। 

यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट बरिष्ठ नेता राई २०७४ को निर्वाचनमा पनि सुनसरी– १ बाट प्रत्यासी बनेका थिए। तर, एमालेका जयकुमार राईसँग ठूलो मतान्तरले पराजित भए। आफूले पराजित गरेका जसपा नेता राईलाई उम्मेदवार बनाइने निर्णयप्रति निवर्तमान सांसद जयकुमार राईपनि सन्तुष्ट छैनन्।

एकातिर बरिष्ठ नेता राईका लागि सुनसरी– १ पाएपनि एमालेभित्र विद्रोह , अर्कोतिर काठमाडौँ– ७ र धनकुटा नपाउने र एमालेबाटपनि सत्तागठबन्धनबाट प्राप्त हुने जति नै सिट प्राप्त गर्ने भएपछि उपेन्द्रका लागि एमालेसँगको गठबन्धन ‘ताप्केबाट उम्केको माछो भुङ्ग्रोमा परेजस्तो’ बन्न पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .