नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छाडेर प्रशासनसमक्ष आत्मसमर्पण गरेका नेता शंकर अधिकारीलाई सत्तारुढ नेकपाका नेता तथा सांसद राजकाजी महर्जनले जिम्मा लिएका छन्।
विप्लव समूहले नेपाल बन्द आह्वान गरेको पूर्वसन्ध्यामा साेमबार राति ललितपुर महानगरीय प्रहरी परिसरले नियन्त्रणमा लिएका अधिकारीलाई नेकपा नेता महर्जनले प्रहरीबाट जिम्मा लिएर लगेका हुन्।
विप्लव समूहले कारबाही गरेका अधिकारीलाई सोधपुछका लागि भन्दै ललितपुर महानगरीय प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो।
‘हामीले केही बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका थियौं,’ परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकले भने, ‘स्थानिय एक नेताको जिम्मा लगाएर पठाएका छौं।’ परिसरका अनुसार अधिकारी पक्राउ परेको केही समयमै राजकाजीसहितको टोली परिसर पुगेको थियो।
सशस्त्र द्वन्द्वको सुरुवातमै पार्टीमा आबद्ध अधिकारी पुराना विद्यार्थी नेता हुन्। उनी विप्लव समूह छाडेर नेकपा प्रवेशको तयारीमा छन्। यसको समन्वय राजकाजीले गरिरहेका हुन्।
विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज रहेका अधिकारीले अन्य दुई नेतासहित गत जेठमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका थिए।
ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडेलगत्तै अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेको प्रशासनले जनाएको थियो।
अधिकारीसहित तीनै जना मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका थिए।
अधिकारी तत्कालीन एमाओवादीको काठमाडौँ जिल्ला नेता हुँदै पार्टी विभाजनसँगै उनी वैद्य समूह र त्यसपछि विप्लव समूहमा पुगेका थिए ।

प्रतिक्रिया