ad ad

राजनीति


समानुपातिक सूची नसच्याए कोइराला पक्षले निर्वाचनमा असहयोग गर्ने

देउवा पक्षको एकलौटीले कांग्रेसमा तीव्र असन्तुष्टि
समानुपातिक सूची नसच्याए कोइराला पक्षले निर्वाचनमा असहयोग गर्ने

फाइल तस्बिर


सुमन पुरी
असोज ११, २०७९ मंगलबार १९:३, विराटनगर

प्रदेश सभाका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्द सूचीका कारण कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ। 

पूर्व सहमतिविपरीत संस्थापन पक्षले आफूनिकट अधिकांश नेताहरुको नाम बन्द सूचीमा राखेपछि कोइराला पक्षमा असन्तुष्टी देखिएको हो। 

कांग्रेसको १४ औँ महाधिवेशनपछि देखिएको गुटबन्दीको असर बढ्दै जाँदा समानुपातिक बन्द सूची नसच्चाए चुनावमा असहयोग गरेर जाने कोइरला पक्षले चेतवनी दिएको छ। 

कोइराला पक्षका प्रदेश १ का नेताहरुका अनुसार समानुपातिकको सूचीमा कम्तिमा ४० प्रतिशत आफूहरुका नेतारुको नाम राख्ने सहमति भएको थियो। 

४० प्रतिशतको सहमति भए पनि कम्तिमा ३० प्रतिशत कोइराला पक्षका नेताहरुलाई सूचीमा राखिए स्वीकार गर्ने रणनीति उनीहरुको थियो।

तर सार्वजनिक भएको सूचीमा २० प्रतिशत पनि नपरेपछि कोइराला पक्षका नेताहरु असन्तुष्ट बनेका छन्। 

सार्वजनिक भएको सूचीअनुसार लिलाकुमारी राई, शिला इजम, विदुर बस्नेत, केदार बाँस्कोटा, देवराज तामाङ र चन्द्र लिम्बू मात्रै कोइराला पक्षका हुन्। 

३७ जनाको बन्द सूचीमा अरु देउवा, सिटौला र विजय गच्छदारनिकट नेताहरु परेका छन्। 

सिटौला र गच्छदारसमेत देउवा समूहमा रहेकाले कोइराला पक्ष असन्तुष्ट बनेको छ। 

असन्तुष्ट नेता तथा कार्यकर्ताहरु सूची सच्याउन दबाब दिने उद्देश्यले काठमाडौं जाने क्रम बढेको छ। 

प्रदेश १ मा महामन्त्री तथा उमेश थापाले बन्दसूचीमा आफूहरुको असहमति रहेको बताए। उनले भने, 'हामीसँग भएको सहमतिअनुसार कार्यान्वयन भएन। सूची सँच्चिनेमा आशावादी छौँ।' 

महामन्त्री थापाले सूची सच्याउने म्याद अझै रहेकाले अहिले नै यसै गरेर जाने अवस्थामा आफू पुगिनसकेको बताए। उनले नेता तथा कार्यकर्ता असुन्तुष्टि लिएर आउने गरेको बताए। 

खस आर्यमा सभापतिको नाम 
सूचीको १ नम्बरमा कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाको नाम खस आर्य तर्फबाट राखिएकोमा कोइराला पक्षको विरोध छ। 

एक नेताले भने, 'यो सत्ता र शक्तिको चरम दुरुपयोग हो।' 

समानुपातिक भनेको के हो?',  उनले भने, 'शक्ति र पहुँचका आधारमा पहिलो नम्बरमा नाम राखेर सांसद हुने हो भने अरुले कहिले भाग पाउने?'

प्रदेशको समानुपातिक सूचीमा पाँचथरकी मैयादेवी श्रेष्ठ लावतीको नाम एक नम्बरमा छ। उनी सभापति शेरबहादुर देउवानिकट नेता हुन्। 

बन्दसूचीमा सबैभन्दा बढी सुनसरीका छन्। सुनसरीबाट अनु गुरूङ, गोविन्द दर्नाल, हरि मेहता, कृष्णकुमारी विक, फरिदा खातुन, चन्द्र लिम्बू, चन्द्र प्रकाश श्रेष्ठ, ममता तामाङ र ललितादेवी साह परेका छन्। 

समानुपातिकको सूचीमा रहेका उनीहरु सबै देउवा पक्षका हुन्। अधिकांश नेताहरु गच्छदारनिकट मानिन्छन्। 

केही भने ज्ञानेन्द्रबहादुर कार्कीनिकट रहेको सुनसरी कांग्रेसले जनाएको छ। 

मोरङबाट भने शोभा पालुंङ्वा, गोपाल थापा, इन्द्र सुब्बा, प्रमिला गच्छदार र सूची चौधरीको नाम समानुपातिकको बन्द सूचीमा परेको छ। 

बन्दसूचीमा परेका इन्द्र सुब्बा मात्रै कोइराला समूहका हुन्। त्यहीकारण मोरङ कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ।

शोभा पालुङ्वा कृष्णप्रसाद सिटौलानिकट हुन् भने प्रमिला र सूची गच्छदारनिकट मानिन्छन्। 

बन्दसूचीमा रहेका झापाको कोही पनि संस्थापन इतरका छैनन्। झापाबाट पम्फा विक, लक्की देवी गणेश, देवराज लिम्वू र मोहन महर्जन परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .