ad ad

राजनीति


नेपालले भन्यो- युक्रेन युद्ध शान्तिपूर्ण संवादबाट अन्त्य हुनुपर्छ

नेपालले भन्यो- युक्रेन युद्ध शान्तिपूर्ण संवादबाट अन्त्य हुनुपर्छ

नेपालखबर
असोज ११, २०७९ मंगलबार १६:६, काठमाडौँ

नेपालले युक्रेन युद्ध शान्तिपूर्ण संवादका माध्यमबाट अन्त्य हुनुपर्नेमा जोड दिएको छ। 

अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय महासभाको ७७औँ सत्रलाई मंगलबार सम्बोधन गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालले युक्रेन युद्धबाट मारिएका तथा त्यसबाट पीडित भएकाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्। 

उनले युक्रेनमा भइरहेका शत्रुतापूर्ण व्यवहार र हिंसा तत्काल अन्त्य गर्न आह्वान गरे। 

‘सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र संवादको बाटोमा फर्कन आग्रह गर्दछौँ’, सचिव पौड्यालले भने। 

गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले थालेको सैन्य हमला जारी छ। अमेरिकी ध्रुवको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिन युक्रेनले कोशिस गरेपछि त्यसको बदलामा रुसले युक्रेनमाथि सैन्य हमला गरेको हो। 

युक्रेनलाई अमेरिका लगायत पश्चिमा मुलुकले साथ र समर्थन दिइरहेका छन् भने रुसलाई चीन लगायत मुलुकको साथ छ। 

गत मार्चमा संयुक्त राष्ट्रसंघीय महासभामा भएको एक मतदानमा नेपालले रुसले युक्रेनमाथि गरेको आक्रमणको विपक्षमा मत दिएको थियो। नेपालले युक्रेनको पक्षमा मत दिएको थियो। 

परराष्ट्र सचिव पौड्यालले नेपालको त्यही नीति मंगलबार पनि दोहोर्याएका छन्। 

‘नेपालले कुनै पनि बहाना र परिस्थितिमा कुनै पनि देशको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र सार्वभौमसत्ताविरुद्ध हुने बल प्रयोगको विरोध गर्दछ’, उनले भने। 

सचिव पौड्यालले तालिवानले सत्ता हातमा लिएपछि संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक अफगानिस्तानको अवस्थाबारे पनि चर्चा गरे। 

‘अफगानिस्तान यतिबेला अनिश्चितता र हिंसाबाट पिरोलिरहेको छ। त्यहाँका जनता गरिबी र मानवीय संकटबाट प्रताडित भइरहेका छन्। हामी अफगानिस्तानमा निर्बाधरुपमा मानवीय सहायता पुग्न पाउनुपर्नेमा जोड दिन्छौं। अफगानी समाजको स्वास्थ्य, शिक्षा लगायत सार्वजनिक सेवा पाउने कुराको सुनिश्चितता गर्न आग्रह गर्छौँ’, उनले भने। 

सचिव पौड्यालले म्यानमारमा लोकतान्त्रिक प्रक्रिया पुनर्स्थापना हुनुपर्नेमा जोड दिए। 

‘म्यानमारका सबै पक्षलाई आफैँले प्रतिनिधि चुन्ने जनताको चाहनाको सम्मान गर्न आग्रह गर्छौँ’, उनले भने। 

लिबिया, सिरिया र यमनका जनताले बेहोरिरहेको चरम संकटप्रति नेपालले चासो व्यक्त गरेको छ। 

सम्बोधनमा सचिव पौड्यालले संवादका माध्यमबाट ती देशका द्वन्द्व हल हुनुपर्ने, हिंसा रोकिनुपर्ने र शान्ति कायम हुनुपर्ने सचिव पौड्यालले बताए। 

लामो समयदेखिको हिंसा र द्वन्द्वले इजरायल र प्यालेस्टाइनका जनता पीडित भइरहेको उल्लेख गर्दै इजरायल—प्यालेस्टाइन द्वन्द्व अन्त्यका लागि सचिव पौड्यालले ‘दुई देशीय समाधान’मा जोड दिए। नेपालले लामो समयदेखि उक्त क्षेत्रको शान्तिका लागि ‘दुई देशीय समाधान’ आवश्यक रहेको बताउँदै आएको छ। 

सचिव पौड्यालले नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेका हुन्। 

विगतमा सधैंजसो प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा सरकारका बरिष्ठ मन्त्रीको तहमा महासभामा सहभागिता रहने भएपनि यसपटक परराष्ट्र सचिवको नेतृत्वमा नेपाली टोली सहभागी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .