ad ad

राजनीति


बिना मगरको चुनाव क्षेत्रमा गठबन्धनको हिसाब

बिना मगरको चुनाव क्षेत्रमा गठबन्धनको हिसाब

नेपालखबर
असोज ९, २०७९ आइतबार ९:४, काठमाडौँ

आसन्न निर्वाचनमा कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत माओवादीकी नेतृ बिना मगर नै प्रतिस्पर्धामा उत्रिने पक्कापक्की भएको छ।

पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटका लागि भएको सहमतिअनुसार कञ्चनपुर–१ माओवादीको भागमा पर्ने निश्चितप्रायः छ।

गठबन्धनबीचको सहमतिअनुसार कञ्चनपुर–१ मओवादीको भागमा पर्ने निश्चितजस्तै भएपछि नेपाली कांग्रेसका नेता दिवानसिंह विष्ट अडानबाट पछि हट्ने मनस्थितिमा पुगेका छन्।

उनलाई कञ्चनपुर–१ माओवादी केन्द्रको भागमा पर्ने भएपछि कांग्रेस नेतृत्वले प्रदेशसभा सदस्यका लागि प्रतिष्पर्धामा उत्रिन सल्लाह दिइसकेको छ।

संविधानसभा सदस्य विष्टनिकट नेताका अनुसार उनलाई सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेशसभा सदस्यको उम्मेदवार बन्न सल्लाह दिएका हुन्।

‘२०७४ मा जसले जितेको हो उसलाई छाड्ने मापदण्ड बनेको छ। त्यसैले कञ्चनपुर–१ मओवादीको भाग परेजस्तै हो,’ ती नेताले नेपालखबरसँग भने, ‘अब दिवान दाइ प्रदेशसभामा लड्नु हुन्छ। यो बारे प्रधानमन्त्री र शेखर डाक्टर सापसँग कुराकानी भइसकेको छ।’

नेता विष्टले कञ्चनपुर–१ का आफूनिकट नेताहरुसँगको छलफलमा प्रतिनिधिसभा छोड्न पर्ने अवस्था आए प्रदेशसभामा उम्मेदवार बन्ने बताउने गरेको कांग्रेस कञ्चनपुरका एक पदाधिकारीले बताए।

‘दक्षिणी क्षेत्रका नेताहरुसँग आजमात्रै मेरो कुरो भएको थियो,’ ती पदाधिकारीले भने, ‘क्षेत्र माओवादीले पाउने भएपछि दिवान दाइ प्रदेशसभामा लड्न तयार हुनुहुन्छ भन्ने कुरा सुनेँ।’

यद्यपि, क्षेत्रीय सभापति गोपी उपाध्यायले गठबन्धनमा भएको सहमति अनुसार प्रनिनिधिसभा माओवादीको भागमा परे दुवै प्रदेशसभा कांग्रेसलाई दिनुपर्ने अडान राख्ने संकेत गरे।

‘प्रतिनिधिसभाबारे फाइनल भइसकेको छैन। केन्द्रको निर्णय त मान्नु नै पर्छ,’ उपाध्यायले भने, ‘प्रतिनिधिसभा माओवादीले पाए हामीलाई दुवै प्रदेशसभा दिनुपर्छ।’

यसअघि क्षेत्रीय कार्यसमितिले कञ्चनपुर–१ म कसैसँग चुनावी तालमेल नगर्ने निर्णय नै गरेको थियो। स्थानीय तह निर्वाचनमा पनि कञ्चनपुरमा कांग्रेस एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएको थियो।

कञ्चनपुर–१ मा दुई नगरपालिका पुनर्वास र बेलौरी तथा दुई गाउँपालिका लालझाडी र बेलडाँडी पर्दछन्। स्थानीय तह निर्वाचनमा एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएको कांग्रेसले पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका जितेको छ।

बेलौरी नगरपालिकामा माओवादी र लाललाडी गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो। स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतको आधारमा कञ्चनपुर–१ मा एमाले कांग्रेसको तुलनामा झिनो मतले बलियो छ भने माओवादी तेस्रो स्थानमा छ।

वडाध्यक्षको मतका आधारमा स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा १८ हजार ७७३, कांग्रेसको पक्षमा १८ हजार ७३२ र माओवादीको पक्षमा १५ हजार २८९ मत छ। यस्तै नेकपा एकीकृत समाजवादीले ३ हजार ५२१ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ६९२ मत पाएका छन्।

२०७४ को निर्वाचनमा माओवादी नेतृ मगर कांग्रेस नेता विष्टलाई दोब्बर मतअन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन्। ३८ हजार ४६७ मतसहित उनी विजयी हुँदा विष्टले १९ हजार २१९ मत प्राप्त गरेका थिए।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी विष्टसँगै पराजित भएकी थिइन्। १० हजार २९४ मा मत प्राप्त गरेर विष्ट संविधनासभा सदस्यमा निर्वाचत हुँदा मगर ९ हजार १५१ मतका साथ तेस्रो भएकी थिइन्।

उक्त निर्वाचनमा एमाले उम्मेदवार ९ हजार २३६ मत प्राप्त गरेर उपविजेता भएका थिए। तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का पुस्कल चौधरीले १ हजार ३९९ मत पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .