राजनीति


चीन, अमेरिका र भारतको तानातानका कारण नेपालमा भूराजनीतिक संकट बढ्यो : बाबुराम

चीन, अमेरिका र भारतको तानातानका कारण नेपालमा भूराजनीतिक संकट बढ्यो : बाबुराम

नेपालखबर
असोज ८, २०७९ शनिबार १५:४७, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताए। नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिका, चीन र भारतबीच तानातान भइरहेको जनाए।

भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए।

‘पुराना शक्तिहरुले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन्। जुन भूराजनीतिक संकटका कारण चीन अमेरिकाबीचको तानातान बढ्दैछ, यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ। त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरुलाई बलियो बनाउने गरेर हामी अघि बढौं। केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो ’

भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाए। हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको उनको भनाइ छ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको दोस्रो संविधान सभाबाट जुन सरकार बन्यो, जुन नेतृत्व बन्यो, तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीजी, र उहाँको टिमले यो उपलब्धिहरुको रक्षा गर्नुको साटो, सबलीकरण गर्नुको साटो धमिराले झैँ भित्रभित्रै ती संस्थाहरुलाई कमजोर पार्ने, जुन प्रयत्न गर्नुभयो, त्यो प्रक्रिया अहिले पनि रोकिएको छैन,’ उनले भने, ‘अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसंगतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अंगहरु, राज्यका सबै अंगहरु बेथितिपूर्ण ढंगले अत्यन्त अराजक ढंगले जसरी चलिरहेका छन्, त्यसले यत्रो सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा पारेको छ। त्यसैबिरुद्ध लड्न नै हामीले यो गठबन्धन बनाएर यहाँसम्म आइपुगेका छौँ । हामी अत्यन्त गम्भीर अवस्थामा छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .