ad ad

राजनीति


रौतहटमा ढुक्क माधव नेपाललाई एमालेबाट कसले दिँदैछ चुनौती?

रौतहटमा ढुक्क माधव नेपाललाई एमालेबाट कसले दिँदैछ चुनौती?

जनार्दन पोखरेल
असोज ८, २०७९ शनिबार ११:३१, चन्द्रपुर (रौतहट)

०७४ सालको निर्वाचनमा काठमाडौं–२ बाट संघीय संसदको चुनाव लडेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यसपटक आफ्नै गृहजिल्ला रौतहटबाट चुनाव लड्ने तयारीमा छन्। रौतहट १ उनको पुख्र्यौली घर भएको निर्वाचन क्षेत्र हो।

०७४ मा नेता नेपाल वाम गठबन्धन (एमाले–माओवादी) का साझा उम्मेदवार थिए। त्यतिबेला उनलाई काठमाडौंबाट चुनाव जित्न गाह्रो भएन। तर, यसपटक एमाले फुटाएर आफ्नै नेतृत्वमा नयाँ दल गठन गरेका नेपाललाई रौतहटबाट चुनाव जित्न सहज होला कि नहोला? धेरैलाई चासो छ।

नेपाल र उनको दल भने रौतहटबाट उनले संघीय निर्वाचन जित्नेमा ढुक्क छन्। आफ्नो विजयप्रति नेता नेपाल ढुक्क हुनुका केही ठोस आधार छन्।

गएको ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौतहटमा चारवटा पालिकामा जित हात पारेको थियो। चारमध्ये दुई पालिका नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा पर्छन्।

गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका र जमुनामाई गाउँपालिका यो क्षेत्रमा पर्छन्। त्यसैगरी गढिमाई नगरपालिकाका ६, ७ र ८ तथा गरुढा नगरपालिकाको १ नम्बर वडा पनि यही निर्वाचन क्षेत्रमा पर्छ।

गएको स्थानीय तह निर्वाचनमा गौर नगरपालिका र राजदेवी नगरपालिकामा एकीकृत समाजवादी विजयी भएको थियो। एकीकृत समाजवादीका तर्फबाट गौर नगरपालिकाको मेयरमा शम्भु साह र राजदेवी नगरपालिकाको मेयरमा भिखारीप्रसाद यादव विजयी भएका छन्।

स्थानीय तहको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ अन्तर्गतका वडामा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत हेर्दा आफ्नो निर्वाचन क्षेत्रमा माधव नेपाल एक्लै पनि सबैभन्दा बलिया उम्मेदवार हुन्। त्यसमा पनि सत्ता गठबन्धनबीच तालमेल हुँदा नेपालको जित सुनिश्चित जस्तै देखिन्छ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार रौतहट १ मा एकीकृत समाजवादीका वडाध्यक्षहरूले १८ हजार ५ सय मत प्राप्त गरेका थिए।

त्यसैगरी नेपाली कांग्रेसले १३ हजार ९ सय ४६, लोसपाले १० हजार १ सय ४०, जसपाले ७ हजार ६ सय १७, एमालेले ७  हजार १ सय १७, माओवादी केन्द्रले ६ हजार ६ सय ९१, जनमत पार्टीले १ हजार ३ सय २२ तथा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले १ हजार ७ सय ४ मत पाएका छन्। यहाँ एकीकृत समाजवादी र सत्ता गठबन्धनका दलले पाएको मत हेर्दा माधव नेपाल आफ्ना प्रतिस्पर्धी उम्मेदवारभन्दा ६ गुणा बढी मतसहित विजयी हुने अनुमान गर्न सकिन्छ।

‘रौतहट १ मा हामी एक्लै पनि सबैभन्दा बलियो शक्ति हौँ’, एकीकृत समाजवादीका रौतहट जिल्ला अध्यक्ष कमल राय यादवले नेपालखबरसँग भने, ‘झन् सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुँदा अध्यक्ष माधव नेपाल विपक्षी उम्मेदवारभन्दा ६ गुणा बढी मतसहित विजय हुने अवस्था छ। उहाँको विजयलाई कुनै पनि तागतले रोक्न सक्दैन।’

उनले केपी ओलीको कारण एमालेप्रति रौतहटका नागरिकमा वितृष्णा रहेको दाबी गरे।

‘ओलीले जसरी संघीयतालाई कार्यान्वयन हुन नदिने, संसद् विघटन गर्ने, संविधान मिच्ने काम गर्नुभयो, त्यसले एमालेप्रति यहाँका नागरिक सकारात्मक छैनन्’, यादवले भने, ‘ओलीको प्रतिगामी कदमविरुद्ध डटेर मुकाबिला गरेका कारण पनि रौतहटमा माधव नेपालप्रति आम नागरिकमा सकारात्मक धारणा छ। त्यो उहाँको विजयको अर्को बलियो आधार हो।’

स्थानीय तह निर्वाचनमा रौतहट १ मा पर्ने गौर नगरपालिका र राजदेवी नगरपालिकामा एकीकृत समाजवादी एक्लैले जित हासिल गरेको थियो। सोही क्षेत्रमा पर्ने दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्र र माधव नारायण गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। माधव नारायणमा जसपाले उपमेयर पद जितेको छ। माधव नारायणका तीनवटा वडा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्। जमुनामाईमा लोसपाले मेयर जितेको छ। तीनवटा वडा माओवादीले जितेको छ। एउटा वडा एकीकृत समाजवादी र एउटा वडामा एमाले उम्मेदवार विजयी भएका छन्।

एमालेमा भएको विभाजनले देशभर माधव नेपालको अवस्था कमजोर देखिए पनि रौतहटमा भने उनी अझै एमालेभन्दा मजबुत अवस्थामा रहेको स्थानीय तहको निर्वाचनको मत परिणामबाट प्रस्ट हुन्छ।

रौतहटबाट दुईपटक जिते, एकपटक हारे 
नेता नेपाल ०५६ र ०७० सालका निर्वाचनमा रौतहटबाटै विजयी बनेका थिए। ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भने उनी माओवादी उम्मेदवार देवेन्द्र पटेलसँग हारेका थिए। ०७४ को निर्वाचनमा भने नेता नेपालले रौतहटबाट चुनाव लडेनन्। त्यतिबेला उनले काठमाडौं रोज्दा रौतहट १ बाट विजयी हुन लोसपाका अनिल झालाई सहज भएको थियो।

०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा भने नेता नेपालले विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमका अजय गुप्तालाई ३ सय मतान्तरले हारेका थिए। पछि गच्छदार कांग्रेसमा गएपछि गुप्ता महन्थ ठाकुरतिर लागे।

लोसपाबाटै उनी गएको स्थानीय तह निर्वाचनमा गौर नगरपालिकामा मेयरको उम्मेदवार बनेर हारे। धेरैतिर घुम्दै फिर्दै अहिले उनी फेरि एमाले बनेका छन्। गुप्ता गौर नगरपालिकाका पूर्वमेयर पनि हुन्। उनै गुप्तालाई यसपटक फेरि एमालेले माधव नेपालसँग भिडाउने तयारी गरेको स्रोतले जनाएको छ।

गएको स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका शम्भु साह ७ हजार ५२ मतसहित विजयी हुँदा गुप्ताले ३ हजार ७ सय ७ मत मात्रै प्राप्त गरेका थिए।

‘रौतहट १ मा गुप्ताबाहेक एमालेका अरू कोही उम्मेदवार नै छैनन्’, एकीकृत समाजवादीका अध्यक्ष यादवले भने, ‘तर स्थानीय तह निर्वाचनमै फराकिलो मतान्तरसहित पराजित गुप्ता यसपटक उम्मेदवार बने जमानत जोगिने सम्भावना पनि देखिँदैन।’

रौतहटको विकासमा के छ नेपालको योगदान?
रौतहट सदरमुकाम गौर–१ मा माधव नेपालको पुख्र्यौली घर छ। नेपालले १५ वर्षसम्म एमालेको नेतृत्व गरे। प्रधानमन्त्री र मन्त्री हुँदा रौतहटका विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकै कारण पनि नेपालप्रति रौतहटवासी सकारात्मक रहेको यादव बताउँछन्।

अध्यक्ष यादवका अनुसार नेता नेपालकै पहलमा गौर–चपुर सडकको स्तरोन्नति भएको हो। प्रधानमन्त्री हुँदा उनले दुई अर्बको योजना ल्याएर गौरका सडक कालोपत्रे गरेका छन्। जिल्ला अस्पतालको स्तरोन्नति,  गौर–बरगनिया जोड्ने पुल निर्माण, गौरमा अवस्थित बरहवा तालको सौन्दर्यकरण, बागमती र बकैया नदीको तटबन्धमा पनि नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। अहिले पनि गौर–चपुर सडक चार लेनसहित स्तरोन्नतिका लागि २० करोड बजेट परेको छ। त्यसमा नेता नेपालकै योगदान छ।

निर्वाचनको आचारसंहिता लागू हुनुअघि नेता नेपालकै पहलमा रौतहटका दुई सडक कालोपत्र गर्न सुरु हुँदै छ। जसमा उनले १३ करोड बजेट पारेका छन्। नेता नेपालले केही दिनअघि मात्रै गौरमा २२ करोड लागतमा निर्माण हुने सीटी हलको पनि शिलान्यास गरेका छन्। यसैगरी गौरमै ८ करोड लागतमा बन्ने विवाह मण्डपको पनि नेता नेपालले शिलान्यास गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .