राजनीति


एसएसबीका प्रमुख अर्को साता नेपाल आउँदै, सशस्त्र प्रहरीसँग सीमा सुरक्षा बैठक हुने

एसएसबीका प्रमुख अर्को साता नेपाल आउँदै, सशस्त्र प्रहरीसँग सीमा सुरक्षा बैठक हुने

सन्तोष घिमिरे
भदौ ३१ , काठमाडौँ

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन आगामी साता नेपाल आउने भएका छन्। परराष्ट्र स्रोतका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन आउन लागेका हुन्। 

बैठक असोज ५ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ। उक्त बैठकमा सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षाका सबै विषयमा छलफल हुने भएको छ। 

बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन्। 

नेपाल र भारतका सीमा सुरक्षा बलबीच छैठौँ बैठक हुन लागेको हो। यसअघि सन् २०२१ को अगस्टमा भारतको नयाँ दिल्लीमा पाँचौँ बैठक आयोजना भएको थियो। उक्त बैठकमा भाग लिन तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल भारत गएका थिए। 

आगामी साता हुने बैठकमा अघिल्लो बैठकले गरेका निर्णयको प्रगति समीक्षा र भावी कार्ययोजनाबारे छलफल  हुने सशस्त्र प्रहरी मुख्यालयका एक अधिकारीले बताए। 

नेपाल र भारतका सीमा सुरक्षा बलबीच सहकार्य बढाउन र सीमा सुरक्षाका मुद्दामा छलफल गर्ने उदेश्यले सन् २०१२ देखि सीमा सुरक्षा बलका प्रमुखको तहमा द्विपक्षीय बैठक आयोजना गर्न थालिएको थियो। सन् २०१२ यता देशमा त्यसखालको बैठक आलोपालो आयोजना गरिँदै आएको छ। 

सशस्त्र प्रहरी बलले सीमाको सुरक्षाको जिम्मा पाएको छ। नेपाल–भारत तथा नेपाल–चीन सीमामा सशस्त्र प्रहरी बलका जवान खटिने गरेका छन्। भारतका तर्फबाट एसएसबीका जवान नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिने गरेका छन्। नेपाल र भारतबीच १८१८ किलोमिटर लामो खुला सीमा छ। खुला सीमाको फाइदा उठाउँदै बेलाबखत अन्तरदेशीय अपराध, साना तथा मझौला हतियारको कारोबार, तेश्रो देशका नागरिकको अवैध प्रवेश, मानवतस्करी, चोरीपैठारी, जाली नोट ओसारपसार, अवैध वस्तुको व्यापार र लागुऔषध ओसारपसारसँग सम्बन्धित घटना हुने गरेका छन्। 

भारतले नेपालका तराई क्षेत्रमा रहेका मदरसामा भइरहेका अवान्छित गतिविधिका कारण भारतको सुरक्षा चुनौती थपिएको आरोप लगाउने गरेको छ। आगामी साता हुन लागेको सीमाबलको बैठकमा पनि उक्त विषय भारतले उठाउन सक्ने एक अधिकारीले बताए। 

गत जुन तेश्रो साता नयाँदिल्लीमा भएको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा भारतीय पक्षले नेपालका मदरसाबाट धार्मिक आवरणमा भारतविरोधी गतिविधि भइरहेको बताएको थियो। तर नेपाली पक्षले मदरसालाई विद्यालयका रुपमा दर्ता गरिसकेको र तिनको नियमित अनुगमन समेत गरिरहेको भन्दै भारतीय पक्षलाई आश्वस्त पारेको थियो। 

‘मदरसा अहिले विद्यालयका रुपमा दर्ता भइसकेका छन्। हामीले तिनको नियमित अनुगमन पनि गरिरहेका छौं। मित्रराष्ट्र भारतविरुद्ध नेपाली भूमि प्रयोग हुन दिने छैनौँ,’ बैठकमा नेपाली पक्षले भनेको थियो। 

भारतले नेपालको तराईमा रहेका मदरसालाई आतंकवादी संगठनले दुरुपयोग गरिरहेको आशंका गर्ने गरेको छ। भारतले मदरसामा पाकिस्तानी खुफिया संस्था आईएसआई तथा साउदी अरबले लगानी गरिरहेको र ती मदरसामार्फत् भारतविरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेको छ। 

विगतमा भारतीय एसएसबीले नेपाली नागरिकलाई सीमामा दुर्व्यवहार गरेको घटना विगतमा सार्वजनिक भएका थिए। नेपालले त्यस विषयमा भारतको उच्च तहदेखि एसएसबीका अधिकारीसँगका बैठकमा पनि ध्यानाकर्षण गराएको थियो। केही वर्षयता त्यसखाले घटनामा उल्लेख्य मात्रामा कमी आएको जानकार अधिकारीहरु बताउँछन्। 

पछिल्लोपटक २०७८ असारमा भारतीय एसएसबीका जवानले तुइन काटिदिँदा महाकाली नदी तर्दै गरेका नेपालका जयसिंह धामीको मृत्यु भएको थियो। उक्त विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर अनुसन्धान गर्न माग गरे पनि भारतले त्यसलाई कुनै चासो दिएन। देउवा नेतृत्वको सरकारले उक्त विषय भारतीय पक्षसँग दह्रोसँग राख्न नसकेको भन्दै आलोचना पनि भयो। 

सन् २०१८ मा नयाँ दिल्लीमा भएको दुई देशका सीमा प्रहरी बलको बैठकमा सीमामा खटिने प्रहरी जवानलाई तालिम दिने र उनीहरुलाई जनतामैत्री बनाउने सहमति भएको थियो। भारतीय प्रहरी जवानबाट सीमा वारपार गर्ने नेपाली नागरिकमाथि दुर्व्यवहारका घटना रोक्न उक्त सहमति भएको थियो। 

नेपाल र भारतका सशस्त्र प्रहरीबीच सीमा क्षेत्र वरपर हुने अवान्छित गतिविधि रोक्न विभिन्न सहमति पनि भएका छन्। सन् २०१७ मा नेपालको सशस्त्र र भारतीय एसएसबीबीच सीमामा संयुक्त गस्ती बढाउने सहमति भएको थियो। त्यसैगरी नेपाल र भारतका बोर्डर आउटपोस्ट (बोओपी) मा खटिने प्रहरी जवानदेखि सशस्त्र बलका नेतृत्वका तहमा पनि सहकार्य बढाउँदै लैजाने सहमति भएको थियो। 

नेपाल आउन लागेका एसएसबीका प्रमुख थाओसेनलाई गत जुनमा भारत सरकारले उक्त पदमा नियुक्त गरेको थियो। इन्डियन पुलिस सर्भिसका वरिष्ठ अधिकृत थाओसेन २१ औँ एसएसबी प्रमुख हुन्। उनी सन् १९८८ मा सेवामा प्रवेश गरेका थिए। 

भदौ ३१, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad