ad ad

राजनीति


चिनियाँ शीर्ष नेताको रोजाइमा किन पर्छ भक्तपुर?

चिनियाँ शीर्ष नेताको रोजाइमा किन पर्छ भक्तपुर?

चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष ली चान्शुु बुधबार भक्तपुर दरबार स्क्वायरमा नगरप्रमुख सुनिल प्रजापतिसँग। पृष्ठभूमिमा सिलु महादेव मन्दिर (तस्बिरः लक्ष्मी गारु, रासस)


सीताराम बराल
भदौ २९, २०७९ बुधबार २२:५४, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपालको चारदिने (२७–३० भदौ) भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चाङ्सु मंगलबार (२८ भदौ) मा सर्वाधिक व्यस्त रहे।

विहानै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेट गरेका उनले लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरे। ओली र प्रचण्डपछि लीको भेटघाटको सूचीमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवा थिए।

एकैदिनमा चार–चार वटा उच्चस्तरीय भेटघाटका कारण अध्यक्ष ली थकित हुनु स्वभाविक थियो। मंगलबारका यी ‘हेक्टिक’ भेटघाटपछि उनी साँच्चिकै फ्रेस हुन चाहँदा रहेछन् भन्ने कुरा बुधबार (२९ भदौ) विहान भक्तपुर भ्रमणबाट देखियो। नीलो टि–सर्ट, पाइन्ट र ‘स्पोट्र्स सुज’ का साथ उनी नेता भन्दा विशुद्ध साधारण पर्यटकका रुपमा भक्तपुर पुगे।

काठमाडौँमा रहँदाको अवधिमा अध्यक्ष लीलाई राजधानीमा कुन–कुन ठाउँको भ्रमण गराउने भन्ने विषयमा चीन तथा नेपालका अधिकारीहरुबीच छलफल भएको थियो। लीले भ्रमण गर्ने स्थानको सूचीमा सुरुमा बसन्तपुर दरवार क्षेत्र र भक्तपुर समावेश गरिएपनि अन्तिम छनोटमा भक्तपुरमात्र परेको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीपछि तेस्रो बरियताका चिनियाँ नेता लीमात्र होइन, २७–२९ असार (०७९) मा मन्त्रीस्तरीय हैसियतमा नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जिआन्चाओ पनि भक्तपुर पुगेका थिए।

२०७६ भदौ तेस्रो साता नेपाल भ्रमणमा आउँदा विदेशमन्त्री वाङ्ग यी पनि भक्तपुर पुगेका थिए। विदेशमन्त्री वाङ्ग भक्तपुर दरबार स्क्वायर क्षेत्रको भ्रमणका क्रममा सेल्फी खिच्दै घुमिरहेको तस्वीर त्यो बेला निकै चर्चित बनेको थियो।

चिनियाँ उच्चपदस्थ नेताहरुबाट भएको भक्तपुरका यी भ्रमण सूचीले देखाउँछन्, अलिक बेसी समय लिएर नेपाल आउने जोकोही शीर्ष चिनियाँ नेताहरुको छनोटमा भक्तपुर पर्ने गरेको छ।

असारमा नेपाल भ्रमणमा आएका सीपीसीका विदेश विभाग प्रमुख लिउ जिआन्चाओ पनि भक्तपुर पुगेका थिए (रासस)

राजनीतिक निटकताले हो? 
लाओस, भियतनाम, कम्बोडिया जस्ता दक्षिणपूर्वी एसियाली मुलुक र क्युवा लगायत केही दक्षिण अमेरिकी मुलुकमा कम्युनिष्टहरु सत्तामा छन्। तर, दशकौँदेखि अमेरिकालाई चुनौति दिँदै शासन सञ्चालन भइरहेको उत्तर कोरिया र विश्व आर्थिक शक्ति बनिसकेको चीन विश्वका कम्युनिष्ट मुलुकको सूचीमा अग्रपंक्तिमा छन्।

२०४६ को परिवर्तनपछि मात्र होइन, पञ्चायतकालको नगर निर्वाचनदेखि नै भक्तपुरमा विजय हासिल गर्दै आइरहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चीन र उत्तर कोरियाका सत्तारुढ दलहरुसँग निकटको सम्बन्ध छ। बहुदलीय व्यवस्थाको पुनस्र्थापना यता चिनियाँ नेताहरुले विश्वास, भरोशा र सम्मान गर्ने नेताहरुमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (रोहित) पनि पर्छन्।

नेपाल–चीन कुटनीतिक सम्बन्ध जत्तिकै पुरानो नेपाल–चीन मैत्री संघको अध्यक्ष भएकाले पनि चिनियाँ नेताहरू रोहितलाई सम्मान गर्ने र महत्व दिने गर्छन्।

‘राजनीतिक स्थिरताबाट मात्र विकास र सम्बृद्धि सम्भव छ भन्ने चिनियाँ राजनीतिक नेतृत्वको मान्यता रहेको देखिन्छ,’ नेपाल–चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतम भन्छन्, ‘नेमकिपा सानो भूभागमा खुम्चिएपनि आफ्नो प्रभाव रहेको भक्तपुरमा उसले राजनीतिक स्थिरता प्रदान गरेको छ र सोही अनुसार विकास निर्माण पनि गरेको छ। चिनियाँ नेतृत्वको मान्यता भक्तपुरमा कार्यान्वयन भएको देखिन्छ।’

अध्यक्ष गौतमले भनेजस्तै, २०३८ र ०४३ का दुबै राष्ट्रिय पञ्चायतका निर्वाचनमा नेमकिपा समर्थित उम्मेदवार भक्तपुरबाट विजयी भएका थिए। २०४८ यताका आम निर्वाचनहरुमा भक्तपुर–२ को नेतृत्व परिवर्तन हुने गरेपनि भक्तपुर–१ मा भने २०४८, ०५१, ०५६, ०६४ र ७० को आम निर्वाचनमा नेमकिपा अध्यक्ष रोहित निरन्तर विजयी भइरहे। २०७४ को आम निर्वाचनमा अध्यक्ष रोहितले प्रतिस्पर्धा गरेनन्। उनको सट्टामा सचिव प्रेम सुवालले प्रतिस्पर्धा गरे। र, पहिलेजस्तै ठूलो मतान्तरका साथ विजयी भए।

भक्तपुर नगरपालिकामा पनि पञ्चायतकालदेखि नै नेमकिपाको एकछत्र बर्चश्व छ। २०४९ र ०५४ को स्थानीय निर्वाचनमा जस्तै ०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा पनि नेमकिपाले नगरपालिकाका सम्पूर्ण पद ‘क्लिन स्वीप’ गर्यो। २०७४ को निर्वाचनको तुलनामा ०७४ को निर्वाचनमा नेमकिपाका उम्मेदवारहरु अझ ठूलो मतान्तरका साथ नगरपालिकामा विजयी भए।

आम निर्वाचन (भक्तपुर–१) र स्थानीय तह निर्वाचनमा विपक्षीहरुलाई ठूलो मतान्तरले पछि पारी विजय हासिल गर्ने गरेका कारण विना व्यवधान आफ्ना नीति–कार्यक्रम र योजनाहरु लागू गर्ने अवसर नेमकिपाले प्राप्त गरेको छ।

अर्थात्, निर्वाचनमार्फत् नै उसले भक्तपुरमा राजनीतिक स्थिरता प्रदान गरिरहेको छ। र, विकास–निर्माण, कला–संस्कृति, फोहोर व्यवस्थापन, स्वास्थ्यसुविधा र शिक्षाका दृष्टिले देशभरका ‘नमूना’ पालिकाहरुको अग्रपंक्तिमा रहन सफल भएको छ।

नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईंका भनाइमा, सांस्कृतिक धरोहरहरुको संरक्षणका कारण नेपाल भ्रमणमा आउने चिनियाँ शीर्ष अतिथिहरुको रोजाईमा भक्तपुर पर्ने गरेको हो।

‘भूकम्पले क्षति पुर्याएका सम्पदाहरु भक्तपुरले आफ्नै खुट्टामा उभिएर पुनर्निर्माण गरेको छ,’ नेता गोसाईं भन्छन्, ‘भक्तपुर आउने चिनियाँ उच्च पदस्थ अतिथिहरुले सबैभन्दा बढी यो पक्षको प्रसंशा गर्नुहुन्छ।’

यसमा भक्तपुरको राजनीतिक माहोलको पनि धेरथोर भूमिका रहेको हुनसक्ने सम्भावना उनले संकेत गरे।

‘राजनीतिक रुपमा पनि चीन र हामीहरु निकट नै छौँ,’ गोसाईंले भने, ‘राजनीतिक सामिप्यता हुनु भनेको वैचारिक सामीप्यता बढ्नु हो। वैचारिक सामीप्यता बढेपछि आकर्षण हुनु स्वाभाविक हो।’

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उपकार्यकारी निर्देशक रुपक सापकोटा राजनीतिक कारणले भन्दा सांस्कृतिक र यातायातको सुविधाका कारणले चिनियाँ शीर्ष नेताहरुको रोजाईमा भक्तपुर पर्ने गरेको बताउँछन्।

‘भक्तपुरले पुरातात्विक सम्पदाहरुलाई जस्ताको तस्तै संरक्षण गरेको छ, यही कारण नेपाल आउने चिनियाँ नेताहरु भक्तपुर जान रुचाउँछन्,’ डा. सापकोटा भन्छन्, ‘भक्तपुरको अर्को आकर्षण भनेको त्यहाँ पुग्न र पुगेपछि घुम्न सहज हुनुपनि हो।’

हुन त, बसन्तपुर (काठमाडौँ) र पाटन (ललितपुर) को भ्रमणबाट पनि नेपालको पुरातात्विक सम्पदाहरुको अवलोकन गर्न नसकिने होइन। २०३४ माघमा चिनियाँ नेता देङ्ग सिआओ पिङ्ग नेपाल भ्रमणमा आउँदा पाटन (ललितपुर) को भ्रमणमा गएका थिए। अन्य केही चिनियाँ नेताहरुले बसन्तपुर क्षेत्रको पनि भ्रमण गर्ने गरेका छन्।

‘तर, पाटन र बसन्तपुरको तुलनामा भक्तपुर फराकिलो छ, त्यहीकारण भक्तपुर पुग्ने पर्यटकहरु १–२ घण्टा मज्जाले त्यहाँ बिताउन सक्छन्,’ सापकोटा भन्छन्, ‘त्यसबाहेक भक्तपुर पुग्ने राजमार्ग फराकिलो भएकाले चिनियाँ उच्च अतिथिहरुको रोजाईमा भक्तपुर पर्ने गरेको हो।’

अरनिको राजमार्गः भावनात्मक सम्बन्ध 
चार दिने नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले आफ्नो मुकाम ताहाचलस्थित सोल्टी होटललाई बनाएका छन्। ली बुधबार विहानै अवलोकन गर्न गएको भक्तपुरको तुलनामा सोल्टी होटलबाट बरु बसन्तपुर र पाटन धेरै नजिक पर्छन्।

अलिक टाढै परेपनि पाटन र बसन्तपुरको तुलनामा काठमाडौँबाट भक्तपुर पुग्न कठिन भने छैन।

काठमाडौँको माइतीघरबाट सुरु हुने फराकिलो ‘अरनिको राजमार्ग’ हुँदै विदेशी अतिथिहरु सहजरुपमा भक्तपुर पुग्न सक्छन्। अरनिको राजमार्गसँग जोडिने भक्तपुर सहरका पहुँचमार्गहरु पनि फराकिला छन्।

‘काठमाडौँ आउने चिनियाँ अतिथिहरु सम्भव भएमा अलिकति ‘लङ्ग ड्राइभ’ गर्न चाहन्छन्, थोरै भएपनि ‘लङ्ग ड्राइभ’ गरेर जान सकिने र सांस्कृतिक–पुरातात्विक सम्पदा पनि हेर्न पाइने ठाउँ भनेको भक्तपुर नै हो,’ नेपाल–चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भट्टराई भन्छन्, ‘भक्तपुर पुग्ने राजमार्गसँग चिनियाँहरुको भावनात्मक सम्बन्ध पनि जोडिएको छ। किनकी, सुरुमा त्यो राजमार्ग चीनले निर्माण गरिदिएको हो।’

चीन आर्थिक रुपमा आफै विपन्न रहेको अवस्थामा दुई एसियाली–अफ्रिकाली मुलुकका राजमार्ग–रेलमार्ग चिनियाँ सहयोगमा निर्माण भएका थिए। त्यसमध्ये सांस्कृतिक क्रान्तिकाल (१९६६–७६) मा तान्जानिया–जाम्बिया जोड्ने रेलमार्ग (तान्जा रेलवे) चिनियाँ आर्थिक सहयोगमा निर्माण भएको थियो भने त्यसअगावै नेपालको सिन्धुपाल्चोकको सीमावर्ती चिनियाँ बजार (जाङबु खासा) सँग जोडिने कोदारी–काठमाडौँ राजमार्ग निर्माण चीनले आफ्नै आर्थिक तथा प्राविधिक व्यवस्थापनमा गरिदिएको थियो।

आर्थिक रुपमा आफै विपन्न अवस्थामा रहेपनि नेपालसँगको मित्रता र आवश्यकतालाई महसुस गर्दै चीनले तिब्बतको राजधानी ल्हासा जोड्ने गरी कोदारी राजमार्ग निर्माण गरिदिएको थियो। चिनियाँ सहयोगमा सोही राजमार्ग निर्माण गरिने भएपछि भारत, अमेरिकी लगायतका विदेशी मिडियाहरुले कम्युनिष्ट चीनले राजनीतिक अभिष्टका साथ कोदारी राजमार्ग निर्माण गर्न लागेको टिप्पणी समेत गरेका थिए उसबेला।

कोदारी राजमार्गप्रति विदेशी मिडियाहरुले नकरात्मक टिप्पणी गर्न थालेपछि राजा महेन्द्रले ‘साम्यवाद ट्याक्सी चढेर आउँदैन’ भन्ने जवाफ फर्काएका थिए त्यसबेला, जसले ठूलै चर्चा पाएको थियो। जे होस्, चिनियाँ सहयोगमा निर्मित यो राजमार्गले सन् १९६० को दशकमा ठूलै भूराजनीतिक हलचल सिर्जना गरेको थियो।

यो राजमार्ग निर्माणका लागि चीनले आर्थिक सहयोगमात्र प्रदान गरेन, चिनियाँ सेनामा आवद्द प्राविधिकहरुलाई समेत खटायो। ज्यानको बाजी लगाउँदै अप्ठेरा भीर–पहरा उक्लेर यो राजमार्गको ट्र्याक खोल्ने काम गरेका थिए। त्यसक्रममा केही चिनियाँहरुले ज्यान समेत गुमाए।

खासा बजारसँग जोडिएको कोदारीबाट सुरु हुने भएकाले सुरुमा यो राजमार्गलाई ‘काठमाडौँ–कोदारी राजमार्ग’ नामाकरण गरिएको थियो। तर, निर्माण सम्पन्न भएपछि सरकारले यसलाई ‘अरनिको राजमार्ग’ को रुपमा नामाकरण गर्यो।

अर्थात्, चिनियाँ सहयोगमा निर्मित यो राजमार्गको नामाकरण यस्ता अग्रणी व्यक्तित्वको नाममा गरियो, जसले १२ औँ शताब्दीमा नेपाल–चीन सम्बन्धलाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। नेपाल मण्डलको पाटन क्षेत्रमा जन्मेका कलाकार अरनिको (बलबाहु) तिब्बत हुँदै बेइजिङ पुगेर ‘सेतो प्यागोडा’ जस्तो चर्चित गुम्बाको निर्माण गरेका थिए। त्यसबाहेक अन्य दर्जनौँ कलाकृतिको रचनामा कलाकार अरनिकोको योगदान रह्यो।

चीनको कलाक्षेत्रमा पुर्याएको योगदानका कारण अरनिकोलाई तत्कालिन सम्राट कुब्लाई खाँले मन्त्री सरहको पद दिएर दरबारमै राखेको संस्कृतिविद् सत्यमोहन जोशीले ‘कलाकार अरनिको’ पुस्तकमा उल्लेख गरेका छन्।

‘काठमाडौँबाट भक्तपुर पुग्ने बाटो एकातिर चिनियाँ आर्थिक सहयोगमा निर्माण भएको राजमार्गको खण्ड हो, अर्कोतिर चीन–नेपाल सांस्कृतिक सम्बन्धमा महत्वपूर्ण भूमिका खेलेका अरनिकोको स्मरणमा यसको नामाकरण गरियो,’ नेपाल–चीन कार्यकारी परिषदका अध्यक्ष भट्टराईले भने, ‘नेपाल–चीन सम्बन्धको इतिहास जोडिएको सडक हुँदै भक्तपुर पुगिने भएकाले पनि चिनियाँ शीर्ष नेताहरुको रोजाईमा भक्तपुर पर्ने गरेको हो।’

रमाई–रमाई, भक्तपुर घुमाई 
राष्ट्रपति सी जिनपिङ्ग र प्रधानमन्त्री ली खछ्याङ्गपछि तेस्रो बरियताका शीर्ष चिनियाँ नेता हुन्, राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली। सोमबार (२७ भदौ) काठमाडौँ ओर्लेपछि सभामुख सापकोटासँग भेटवार्ता गरेका उनी मंगलबार साँझसम्म राजनीतिक भेटघाटहरुमा व्यस्त भए।

कुटनीतिक महत्व राख्ने सबै राजनीतिक भेटवार्ताहरुमा औपचारिकताका लागि उनी सेतो सर्टसहितको सुट–पाइन्टमा थिए। तर, बुधबार विहान भक्तपुरका स्थानीयसमक्ष उनले आफूलाई ‘भीआइपी’ का रुपमा प्रस्तुत गर्न चाहेनन्। उनी सामान्य व्यक्ति झैँ स्पोर्ट्स सुज, नीलो रंगको टिसर्ट र पाइन्ट लगाएर भक्तपुर पुगे।

शरीरको पहिरन र खुट्टाको जुत्ताले देखाउँथ्यो– अध्यक्ष ली हिँडेरै यो पुरातात्विक–सांस्कृतिक नगरीलाई छिचोल्न चाहन्छन्। आखिर गरेपनि त्यही।

बुधबार विहान साढे ९ बजे भक्तपुर पुग्ने कार्यक्रम भएपनि ली त्यो भन्दा १५ मिनेट अगावै पुगेका थिए। उनलाई त्यहाँ नेमकिपाका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवाल र नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गरे। एक घण्टाको समय उनले भक्तपुरका सांस्कृतिक सम्पदा घुमेर बिताए।

प्रदेश सांसदसमेत रहेका नेमकिपा नेता गोसाईंका भनाईमा, भक्तपुर दरवार स्क्वायबाट यात्रा सुरु गरेका अध्यक्ष ली तौमडीस्थित पाँचतले मन्दिर पुगेका थिए।

‘उहाँले भूकम्पले क्षति पुर्याएका पुरातात्विक–सांस्कृतिक सम्पदाहरुको पुननिर्माणबारे चासो प्रकट गर्नुभयो, सचिव सुवाल र मेयर प्रजापतिले उहाँलाई पुनर्निर्माणबारे जानकारी गराउनु भएको थियो’ गोर्साइँले भने, ‘उहाँले ‘चीनले पनि पुरातात्विक सम्पदाहरुको दुरुस्त पुनर्निर्माण र संरक्षण गरेको छ। तपाईंहरुले पनि त्यसैगरी पुनर्निर्माण र संरक्षण गर्नु भएको रहेछ भनेर भक्तपुर नगरपालिका र नेमकिपाको नेतृत्वप्रति खुसी र आभार प्रकट गर्नुभयो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .