पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु मंगलबार पनि छलफलमा जुटेका छन्।
गठबन्धनमा आबद्ध पाँचै दललाई प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु छलफलमा बसेका हुन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार छलफल केही बेरअघिबाट सुरु भएको छ।
गठबन्धनका पाँच दलले सिट संख्यामा लगभग सहमति भइसकेपनि निर्वाचन क्षेत्रका विषयमा निर्णय गरिसकेका छैनन्।
नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव वेदुराम भुसालले दैनिक छलफल गर्दै निर्वाचन क्षेत्रका विषयमा सहमति गराउँदै लैजाने बताए ।
प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० क्षेत्रमा गठबन्धन गरेर मंसिर ४ गते तय भएको चुनावमा जाने उनीहरुको तयारी छ।
यसअघि सोमबार ८ घण्टा ४० मिनेट गठबन्धनका शीर्ष नेताहरु र सिट बाँडफाँटबारे समझदारी बनाउन गठित ११ सदस्यीय कार्यदलबीच छलफल भएको थियो ।
मंगलबारको बैठकमा पनि केही निर्वाचन क्षेत्रमा सहमति जुटाउने एक नेताले बताए।
‘हामी विस्तारै सहमति गर्दै जान्छौँ’, ती नेताले नेपालखबरसँग भने, ‘हिजो (सोमबार) पनि केही क्षेत्रमा सहमति जुटाएका छौँ, आज पनि जुटाउँछौँ।’
Shares

प्रतिक्रिया