ad ad

राजनीति


एमाले-राप्रपा चुनावी तालमेलको टुंगो केही दिनमै

एमाले-राप्रपा चुनावी तालमेलको टुंगो केही दिनमै

नेपालखबर
भदौ २६, २०७९ आइतबार १९:१४, काठमाडौँ

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच मंसिर ४ गतेको चुनावी तालमेल केही दिनमा टुंगो लाग्ने भएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा सो जानकारी दिएको एक नेताले जानकारी दिए।

‘प्रतिनिधि सभा र प्रदेश सभामा एमालेसँग तालमेल गर्ने बारेको छलफल अन्तिम चरणमा छ,’ अध्यक्ष लिङ्देनले बैठकमा राखेको भनाई उधृत गर्दै ती नेताले थपे, ‘अब २-३ दिनमा निर्णय हुन्छ।’

राप्रपाले मुख्य नेताहरुसहित कम्तीमा २० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउनुपर्ने प्रस्ताव गरेको छ। यसमा केही लचक हुने राप्रपाका नेताहरुले संकेत गरेका छन्। 

‘एमालेसँग हामीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति जुटेपनि व्यवहारिक रुपमा सहमति हुन बाँकी थियो, त्यो पनि अब निर्णय उन्मुख छ,’ कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले भने।

यदि मागेको क्षेत्र एमालेले दिन नमाने पनि राप्रपाले तालमेल कायम राख्नेछ।

‘जुन–जुन क्षेत्रमा सहमति हुन्छ, त्यसमा मिलेर जाने र नमिलेको ठाउँमा फेरि कोसिस गरिराखिएको हो,’ राप्रपाका एक उच्च पदाधिकारीले भने।

एमालेसँग तालमेलबारे वार्ता गर्न राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री भुवन पाठकलाई जिम्मा दिएको छ।

अहिलेसम्म भएको छलफल लगायतका विषय बैठकमा प्रस्तुत भएको थियो।

राप्रपाका महामन्त्री भुवन पाठकले चुनाव तयारी सम्बन्धी छलफल भएको जानकारी दिए।

अहिले एमालेसँग चलिरहेको चुनावी तालमेलाई छिटो निर्णय गर्नुपर्ने कुरा उठेको उनले बताए।

‘अब चुनाव आउन धेरै समय छैन, एमालेसँगको तालमेलको छलफललाई स्पीडअप गर्नुपर्छ भन्ने कुरा भयो,’ उनले भने, ‘कुरा सकारात्मक छ। छिट्टै टुंगो लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .