ad ad

राजनीति


आगामी निर्वाचनमा एमाले र लोसपाबीच गठबन्धन, सिट बाँडफाँटका लागि कार्यदल बनाइँदै

राजेन्द्र महतो भन्छन् : सम्भावना बढ्यो, केही दिनमै सम्झौता हुन सक्छ
आगामी निर्वाचनमा एमाले र लोसपाबीच गठबन्धन, सिट बाँडफाँटका लागि कार्यदल बनाइँदै

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १२:३८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमाले र अर्को प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको छ।

दुई दलबीच तालमेलका लागि अध्यक्षद्वय केपी शर्मा ओली र महन्थ ठाकुरले एक चरण वार्तासमेत गरिसकेका छन्।

सत्ता गठबन्धनमै मिसिने लोसपाको चाहनामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी बाधक बनेपछि एमालेसँग तालमेल तयारी भएको हो।

आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि सिट भागबन्डासहित केही दिनमै सम्झौता तयारी भइरहेको लोसपा अध्यक्ष ठाकुरनिकट एकजना नेताले बताएका छन्।

लोसपाकै वरिष्ठ नेता राजेन्द्र महतोले पनि एमालेसँग तालमेल सम्भावना बढेर गएको नेपालखबरलाई बताएका छन्। 

'हो, एमालेसँग तालमेलका लागि कुरा भइरहेको छ। अहिले हामी अनौपचारिक संवादमा छौँ', उनले नेपालखबरसँग भने, 'हामी र एमालेबीच तालमेल सम्भावना बढेर गएको छ। यसलाई केही दिनमै औपचारिक टुंगोमा पुर्‍याउने गरी कुरो अघि बढेको छ।'

कहिलेसम्म होला त तालमेल निर्णय?, नेपालखबरको प्रश्नमा महतोले भने, 'एमालेसँगै तालमेल सम्भावना बढ्यो, तपाईंलाई भनिराखौँ, अबको चुनावमा एमाले र हामी मिलेर जाने कुरा अघि बढिसकेको छ।'

अध्यक्ष ठाकुरनिकट एकजना नेताले पनि दुई दिनअघि ओलीसँग वार्ता भएको पुष्टि गरे।

'अध्यक्षजी र ओलीजीबीच दुई दिनअघि वार्ता भएको थियो। त्यस वार्तामा मिलेर जाने कुरामा एउटा रेखा कोरिएको छ', उनले भने, 'फेरि दुईजनाबीच आज र भोलिमा अर्को वार्ता भएपछि समिति बनाउने तयारी छ।'

उनका अनुसार दुई अध्यक्षबीच वार्ता भइसकेपछि दुवै दलबाट दुई दुई सदस्यीय समिति बनाएर सम्झौतालाई औपचारिक स्वरुप दिने तयारी भएको छ।

उनले अहिले नै सिट बाँडफाँटको हिसाब नभइसकेको बताउँदै उक्त कुरा सम्झौताकै कुरामा उल्लेख हुने बताए। 

यसअघि एमालेविरुद्ध महागठबन्धन बनाउने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोसपालाई पनि पाँच दलीय गठबन्धनमा मिसिन भनेका थिए।

त्यहीअनुसार तीन चरण वार्ता पनि भएको थियो। तर मधेश प्रदेशका सिटलाई लिएर पाँच दलीय गठबन्धन नै संकटमा परेपछि लोसपाले एमालेसँग निकटता बढाएको हो। 

देउवाले गठबन्धनमा आउन भने पनि ठोस खाका नदिएपछि अब लोसपाले एमालेसँग सहकार्य गर्न लागेको हो। 

ओलीसँग ठाकुरले वार्ता गर्नुअघि एमालेका दोस्रो तहका नेताहरु पनि संवादमा जुटेका थिए। 

लोसपासँग मिलेर अघि बढ्न एमाले दलका उपनेता सुवास नेम्वाङ र नेता गोकुल बास्कोटाले पनि वार्ता गरेका थिए।

लोसपा वरिष्ठ नेता महतोले पनि अनौपचारिक रुपमा वार्ता भएको पुष्टि गरेका छन्। उनीहरुबीच वार्ता भएपछि ओली र ठाकुरबीच दुई दिनअघि (बिहीबार) तालमेल वार्ता भएको हो।

एमालेका एकजना स्थायी कमिटी सदस्यले पनि दुई दलबीच वार्ता भइरहेको खुलाएका छन्। तर उनले सहमतिको खाकासम्म पुगिनसकेकाले अहिले नै उत्साहित भइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन्।

'कुरा भएको हो, एक चरण दोस्रो तहका नेताहरुबीच संवाद भएपछि दुई अध्यक्ष बिहीबार साँझ भेट्नु भएको हो', उनले भने, 'अनौपचारिक कुरा भएकाले अहिले नै सहमति भइजाने भन्न मिल्दैन। तर कार्यदल बनाएर औपचारिक रुपमा वार्ताबाट सहमतिमा पुग्ने कुरामा 'अन्डरस्टान्ड' कायम भएको छ।'

तर एमाले र लोसपाबीच पछिल्लो समय संसदबाट अघि बढेको नागरिकता विधेयकमा मतभेद छ। एमाले यथाअवस्थामा पास गर्ने पक्षमा छैन भने लोसपा पास गरेर जानुपर्ने भनिरहेको छ। 

अहिले सत्ता गठबन्धनमा पनि मधेश प्रदेशका ३२ सिटलाई लिएर चर्को विवाद छ। जसपाले मधेश प्रदेशका ३२ सिटमा बलियो दाबेदारीसहित धनकुटा र मोरङ ५ पनि मागेको छ। 

लोसपा मधेश प्रदेशका ३२ मध्ये १९ सिट आफूहरुले पाउनुपर्ने पक्षमा छ। स्थानीय चुनावमा राम्रो नतिजा ल्याएको एमाले पनि मधेशमा आफ्नो पकड यो चुनावमा बढाउन चाहन्छ। 

२०७४ को चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीले १० र संघीय समाजवादी पार्टीले ९ सिट जितेका थिए। महतोले ती सिटमा आफूहरुको दाबी रहे पनि केही स्थान छाडेर सम्झौतामा जान सकिने बताएका छन्। 

तर यी दुई दलबीच सहमतिको खाका बनिसकेको छैन। यस्तोमा अघिल्लो चुनावमा जितेका क्षेत्र आफू आफूले राखेर केहीमा तलमाथि हुन सक्ने दुई दलका नेताहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .