ad ad

राजनीति


‘गठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्यो, मिल्छ मिल्दैन थाहा छैन’

‘गठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्यो, मिल्छ मिल्दैन थाहा छैन’

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०७९ मंगलबार १३:४७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँड पेचिलो बन्दै गएको बताएका छन्। 

अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँड सम्भव हुन्छ वा हुन्न? भन्ने प्रश्न उठ्ने गरेको बताए। 

पार्टीनिकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गरे। 

अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवार जिताउने गरी संगठन परिचालनमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए। 

त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिमा सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो। 

अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माणमा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए। 

‘अब हामीले चुनावमा लाग्नुछ। चुनावका लागि नै संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। काठमाडौं र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्ती जाने हो। को उठ्यो? ठूलो कुरा होइन। हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन्? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौँ', उनले भने, 'त्यसको निम्ति हामीले प्रत्यक्ष निर्वाचन मात्रै होइन। समानुपातिक निर्वाचनमा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप। अनि प्रत्यक्षतर्फ उठेका हाम्रा उम्मेदवारलाई पनि हामीले कलम छापमा भोट खसाल्ने हो।'

उनले गठबन्धनसँग तालमेल गरेर आफूहरु अघि बढिरहेको पनि बताए। 'अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ। तालमेल गर्दै जाने क्रममा नै हामी सिट बाँडफाँट गर्न चाहिरहेका छौँ', उनले भने,  'त्यो कति सम्भव छ, कति सम्भव छैन भन्नेबारे प्रश्न उठेको छ। हामीले सम्भव बनाउन चाहिरहेका छौं। पार्टीका कार्यकर्ता साथीहरु, मुक्ति संगठनका हाम्रा सबै नेताहरु, केन्द्रीय सदस्यहरु, तपाईहरुले प्रदेश कमिटी र जिल्ला कमिटीलाई परिचालन गर्ने काममा लाग्नुहोस्।'

नेपाले नेपालको राजनीतिमा समाजवादीको हैसियत र सामर्थ्य वृद्धि गर्न समर्पित हुन पनि निर्देशन दिए। 

अध्यक्ष नेपालले दलित समूदायमाथि अवहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .