ad ad

राजनीति


काठमाडौंस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा दिने व्यवस्था सुचारु गर्न नेपालको आग्रह

काठमाडौंस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा दिने व्यवस्था सुचारु गर्न नेपालको आग्रह

नेपालखबर
भदौ १४, २०७९ मंगलबार २१:५२, काठमाडौँ

नेपालले अष्ट्रेलिया जान चाहनेका लागि काठमाडौंस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा दिने व्यवस्था सुचारु गर्न अष्ट्रेलिया सरकारलाई आग्रह गरेको छ। 

नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्रको मंगलबार अष्ट्रेलियाको क्यानबेरामा सम्पन्न बैठकमा नेपालले सो आग्रह गरेको हो।

विगतमा अष्ट्रेलियाले काठमाडौंस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा जारी गर्ने गर्थ्यो। तर अहिले नेपालीलाई भिसाका लागि नयाँदिल्लीमा कागजपत्र पठाउनुपर्ने झन्झट छ। यद्यपी अष्ट्रेलिया जानेका लागि बायोमेट्रिक चाहिँ नेपालबाटै लिने गरिएको छ। 

काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले भिसा जारी गर्ने काम नगरेको केही वर्ष बितिसकेका छन्। नेपालले यहाँस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा दिने व्यवस्था मिलाउन आग्रह पटक—पटक आग्रह गरेपनि अष्ट्रलियाले सुनुवाई गरेको छैन।

मंगलबार आयोजित परराष्ट्रसचिव स्तरीय बैठकमा पनि अष्ट्रेलियाले नेपालको अनुरोधमा स्पष्ट जवाफ दिएन। नेपालबाट अष्ट्रेलिया जानेको संख्या उल्लेख्य छ। अहिले त्यहाँ नेपाली विद्यार्थी मात्रै झन्डै डेढलाख छन्। 

बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र अष्ट्रेलियाका परराष्ट्र मामिला तथा व्यापार मन्त्रालयका डेपुटी सेक्रेटरी जस्टिन हेयहस्र्टले सम्बन्धित प्रतिनिधिमण्डलको नेतृत्व गरे। 

परामर्श संयन्त्रको बैठकमा दुई देशबीच शिक्षा, उर्जा, लगानी, व्यापार, पर्यटन, प्रविधि हस्तान्तरण, आप्रवासन, जलवायु परिवर्तन र विपद् नियन्त्रण लगायतका क्षेत्रमा सहयोग अभिबृद्धि गर्ने विषयमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमण आदान, जनस्तरको सम्पर्क अभिबृद्धि, व्यापार, लगानी र प्रविधि हस्तान्तरणमा सहजीकरणलाई प्राथमिकता दिनेबारे सहमति भएको मन्त्रालयले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यसैगरी राष्ट्रसंघीय शान्ति मिसनका अनुभव एक आपसमा बाँड्ने लगायत बिषयमा बहुपक्षीय मञ्चमा सहकार्यका बिषयमा पनि संयन्त्रमा छलफल भएको थियो। 

त्यसक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्र सचिव पौड्यालले 

अष्ट्रेलियाका तर्फबाट नेपालमा जारी सहयोगका लागि धन्यवाद दिए। उनले सहयोग दिने मुलुकको सूचीमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह पनि गरे।

सचिव पौड्यालले नेपाललाई कोरोना महामारीपछिको पुनर्स्थापना, अतिकम विकसित मुलुकबाट विकाशशील मुलुकमा स्तरोन्नती र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न सघाउन पनि आग्रह गरे। 

सचिव पौड्याल नेतृत्वको नेपाली टोली अष्ट्रेलिया भ्रमणमा छ। हिजो सोमबार नेपाल र अष्ट्रेलियाबीच जलस्रोत ब्यबस्थापन सम्बन्धि एक समझदारीपत्रमा पनि हस्ताक्षर भएको थियो। परराष्ट्र सचिव भरतराज पौड्याल र समकक्षी जान आडम्सबीच भएको द्विपक्षीय वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाका परराष्ट्र सचिव आडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

सन् २०१७ जुलाईमा उक्त संयन्त्र स्थापना भएको थियो। द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा छलफल गर्न उक्त संयन्त्र स्थापना गरिएको हो। 

परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख लोकबहादुर थापा, अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोख्रेल र परराष्ट्रकी उपसचिव सीता बस्नेत प्रतिनिधिमण्डलमा सहभागी छन्।

अस्ट्रेलिया–नेपाल द्विपक्षीय सहकार्य 
अस्ट्रेलिया नेपालको एक विकास साझेदार हो। सन् १९६० फेब्रअरीमा नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। 

गरिबी निवारण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, मानव संशाधन विकास, संघीयता सुदृढीकरण र शान्ति प्रक्रियामा नेपाल सरकारका विभिन्न निकाय तथा अन्तर्राष्ट्रिय दातृ निकायको च्यानलबाट अस्ट्रेलियाले सहयोग गरिरहेको छ। भूकम्पपछिको पुनर्निर्माण र कोरोना महामारीमा पनि उसले नेपाललाई सहायता प्रदान गरेको थियो।

नेपाल आउने पर्यटक घटे 
अस्ट्रेलियाबाट नेपालमा उल्लेख्य संख्यामा पर्यटक पनि आउने गरेका छन्। कोरोना महामारीका कारण अस्ट्रेलियाबाट नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ। 

सन् २०१८ मा ३८ हजार ४२९ पर्यटक नेपाल आएकामा सन् २०२१ मा २ हजार ४७७ पर्यटक मात्रै आएको सरकारी तथ्यांक छ। अस्ट्रेलियामा प्रवासी नेपालीको संख्या ठूलो छ। जसमा विद्यार्थी बढी छन्। सन् २०२१ को गणनाअनुसार अस्ट्रेलियामा नेपाली मूलका नागरिक १ लाख २२ हजार ५१५ जना बसोबास गर्छन्। अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा पर्छ। 

नेपालको व्यापार घाटा बढ्यो 
नेपालको अस्ट्रेलियासँग ठूलो व्यापार घाटा छ। नेपालले सन् २०२१ मा अस्ट्रेलियन डलर ११ मिलियन बराबरको सामान निर्यात गरेको थियो भने १८६ मिलियन डलर बराबरको सामान आयात गरेको थियो।

कार्पेट, कटनका कपडा, चिया, कफी, पास्ता, चाउचाउ, सल र ह्यान्डिक्र्याफ्ट नेपालबाट निर्यात हुने गरेका छन्। नेपालले अस्ट्रेलियाबाट प्रशोधित पेट्रोलियम पदार्थ, फलफूल र घ्यूलगायत वस्तु आयात गर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .