ad ad

राजनीति


केपी ओलीको गुनासो–  निर्वाचन आयोग, प्रहरी प्रशासन र मिडिया निष्पक्ष देखिएनन्

केपी ओलीको गुनासो–  निर्वाचन आयोग, प्रहरी प्रशासन र मिडिया निष्पक्ष देखिएनन्

नेपालखबर
भदौ ११, २०७९ शनिबार ८:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एएवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत स्थानीय चुनावमा निर्वाचन आयोग, प्रशासन, सुरक्षाकर्मी र केही सञ्चारमाध्यमले निष्पक्ष भूमिका खेल्न नसकेको गुुनासो पोखेका छन्।

नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा शुक्रबार ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आयोग, सुरक्षा निकाय, प्रशासन र मिडियाप्रति निष्पक्ष भूमिका नखेलेको आरोप लगाइएको छ।

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै ओलीको दस्तावेजमा भनिएको छ, ‘निर्वाचन आयोगका कतिपय निर्णय सत्ता गठबन्धनका अनुकूल थिए। मतपत्रको रङ्ग, गठबन्धनले उम्मेदवारी दिँदा महिला प्रतिनिधित्व सुनिश्चित गर्नैपर्ने बाध्यकारी व्यवस्था, आचारसंहिताको पालना, निर्वाचन अधिकृतहरूको खटन–पटन, विभिन्न ठाउँमा पुनः मतदान÷निर्वाचनको निर्णयजस्ता कतिपय विषयमा निर्वाचन आयोगमाथि सत्ता गठबन्धनका दबाब र प्रभाव देखियो।’

त्यसैगरी कर्मचारी प्रशासन र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै ओलीले भनेका छन्, ‘प्रशासन र सुरक्षा संयन्त्रको भूमिका निष्पक्ष रहन सकेन। सुरक्षा निकायको बैध कमाण्डलाई समेत बाइपास गरी गृह प्रशासनले समानान्तर रुपमा सुरक्षा संयन्त्र परिचालन गर्ने गलत प्रक्रिया अवलम्वन ग¥यो।

विपक्षी दलका नेतासमेत रहेका ओली अगाडि भन्छन्, ‘कतिपय प्रशासक र प्रहरी अधिकृतहरूले सत्ता गठबन्धनको पक्षपोषण गरे। कतिपय ठाउँमा एमालेलगायत विपक्षी उम्मेदवारमाथि साङ्घातिक आक्रमण, घरमा बम आक्रमण, घेराउ र प्रचारमा जान अवरोध गरियो। ठाउँ–ठाउँमा विपक्षी कार्यकर्ताको हत्या समेत भयो।’

स्थानीय चुनावमा धाँधलीका घटना भएको बताउँदै ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘सत्तापक्षीय नेता र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी सवारी साधनको चरम दुरुपयोग गरे। मौन अवधिमा मतदातालाई प्रभावित पार्न र मत खरिद गर्न पैसाको खोलो बगाए। मतगणनास्थलमै समेत सत्तापक्षले गैरकानुनी हर्कतहरू ग¥यो। तर यी सबै सत्ताको दुरुपयोग, आचारसंहिताको उल्लङ्घन, हिंसा र गैरकानुनी काममा नियन्त्रण गर्नुको साटो प्रहरी प्रशासन कैयौं ठाउँमा सहयोगी र धेरै ठाउँमा मूकदर्शक बन्यो।’

केही सञ्चारमाध्यमले समेत गत स्थानीय चुनावमा सत्तापक्षको सहयोगीको भूमिका खेलेको ओलीको आरोप छ। उनले कुन कुन सञ्चार माध्यमले त्यस्तो भूमिका खेले भन्ने खुलाएका छैनन्।

प्रतिवेदनमा भनिएको छ, ‘कतिपय सञ्चार माध्यमहरूले समेत निष्पक्ष र व्यवसायिक भूमिका खेल्न सकेनन्। गठबन्धनको पक्षमा मनोवैज्ञानिक दबाब सिर्जना गर्न उनीहरू सहयोगी बने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .