NepalKhabar NepalKhabar

राजनीति


बाबुराम माओवादीमै फर्किनुका पाँच कारण

बाबुराम माओवादीमै फर्किनुका पाँच कारण

सागर न्यौपाने
साउन ३० , काठमाडौँ

डा. बाबुराम भट्टराईले एमाओवादी परित्याग गरेको आगामी ९ असोजमा ७ वर्ष पुग्छ। उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवार नबनेको यही १० मंसिरमा ९ वर्ष पुग्छ।

तर, आफैँले ‘भत्केको घर’ भनेर छाडेको पुरानै दल नेकपा माओवादी केन्द्रको चिह्न लिएर चुनावमा उठ्ने बाध्यता उनलाई आइलागेको छ। उनी निकट नेताहरुका अनुसार अन्य कुनै कारणले रोकिएन भने माओवादीसँग पार्टी एकता नै गर्ने डा. भट्टराईको योजना छ।

माओवादीबाहिर रहेको यो अवधिमा भट्टराई नयाँ शक्ति, संघीय समाजवादी पार्टी र जनता समाजवादी पार्टी गरी तीन वटा पार्टीमा आबद्ध रहे। अन्ततः उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिने निर्णय गराउन आफ्नै नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्नुपर्यो।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नेसपाले माओवादी केन्द्रको गोलाकारभित्रको हँसियाहथौडाबाटै चुनाव लड्नेछ।

भट्टराईनिकट एक नेताले दिएको जानकारी अनुसार समानुपातिकमा पनि नेसपाले सोही चिन्ह लिने सहमति भइसकेको छ।

बाबुरामका तीन घुम्ती
संविधान जारी गर्दासम्म डा. भट्टराई एमाओवादीका वरिष्ठ उपाध्यक्ष थिए।

तर, ९ असोज २०७२ मा उनले रातो स्टिकर टाँस गरेको, भत्केको घर भन्दै एमाओवादी परित्याग गरेको घोषणा गरे।

पार्टी छाड्नुअघि उनले असोज ३ गते जारी भएको संविधानप्रति असन्तुष्टि जनाएका थिए।

‘यो संविधान आधा गिलास भरी, आधा गिलास खाली छ,’ भट्टराईले भनेका थिए, ‘आधा गिलासको रक्षा गरौँ र आधा गिलास भर्न संघर्ष जारी राखौँ!’

माओवादी परित्यागपछि उनी राजनीतिक रुपमा अस्थिर भएको उनीनिकट एक नेताले टिप्पणी गरे।

‘त्यसबेला के सोचेर डा. साबले एमाओवादीलाई भत्केको, स्टिकर टाँसेको घर भन्नुभयो थाहा भएन,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँले जुन विश्लेषण गरेर पार्टी छोड्नुभयो, त्यसले उहाँलाई अस्थिर मात्र बनायो, उहाँ कतै पनि स्थिर भएर काम गर्नै सक्नुभएन।’

एमाओवादी छोडेका बाबुरामले ३० जेठ २०७३ मा नयाँ शक्ति गठन गरेका थिए। २ सय ६५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् बनाएका डा. भट्टराईलाई ८ महिना नपुग्दै प्रभावशाली नेताले छोडे।

देवेन्द्र पौडेलसहितका ५० बढी प्रभावशाली नेताहरु माओवादीमै फर्किएपछि डा. भट्टराई दबाबमा परे। त्यस्तै पूर्वअर्थसचिव रामेश्वर खनालदेखि अभिनेता सरोज खनाल, अशोक शर्माले पनि भट्टराईको साथ छोडे।

देशकै वैकल्पिक शक्ति बनाउने योजनासहित पार्टी निर्माण गरेका भट्टराई एकपछि अर्का नेताहरुले पार्टी छोडेपछि कमजोर भए।

त्यहीबेला मधेश र हिमाल–पहाडबीच सम्बन्ध जोड्नेगरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग भट्टराई नजिकिए।

भट्टराईले संविधानमा असन्तुष्टि जनाएदेखि नै मधेशकेन्द्रित दलहरुसँग उनको राम्रो सम्बन्ध बनेको थियो। पटकपटकको छलफलपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्ने सहमति उनले गरे। 

२३ वैशाख २०७६ मा राष्ट्रिय सभागृह काठमाडौँबाट संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकता भई समाजवादी पार्टी बन्यो।

समाजवादी पार्टी बनेको एक वर्ष नबित्दै तत्कालीन केपी शर्मा ओली सरकारले दल विभाजन गर्न सहज हुनेगरी १० वैशाख २०७७ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यायो।

आफ्नै दल विभाजन गर्न अध्यादेश ल्याएको निष्कर्ष निकाल्दै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच १० वैशाखमा एकता भयो र जनता समाजवादी पार्टी (जसपा) बन्यो।

तर, जसपा बनेको एक वर्षमै विभाजन भयो।

१ साउन २०७८ मा जसपाबाट महन्थ ठाकुरले १३ जना सांसद लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे। ठाकुरले नयाँ पार्टी गठन गरेपछि जसपामा रिक्त रहेको अध्यक्ष पद कसलाई दिने भन्ने विषयमा डा. भट्टराई र अध्यक्ष यादवबीच विवाद भयो।

त्यो विवादले उग्र रुप लिएपछि २८ र २९ असार २०७९ मा केन्द्रीय समितिको काठमाडौँमा भेला राख्दै डा. भट्टराईले जसपालाई पुनर्गठन गर्ने निर्णय गरे।

१२ साउनमा भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो।

प्रचण्डसँग १० पटक छलफल
भट्टराईले ७ वर्षको अवधिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कम्तीमा १० पटक औपचारिक छलफल गरे।

ती औपचारिक छलफल पार्टी एकता, चुनावी मोर्चाकै विषयमा केन्द्रित थिए।

उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा मात्र प्रचण्ड र भट्टराईबीच कम्तीमा ५ पटक वार्ता भएको नेताहरु बताउँछन्। पछिल्लो पटक असार र साउनमा मात्र ३ पटक भट्टराई र प्रचण्डबीच उपराष्ट्रपति निवासमा छलफल भएको थियो।

त्यसपछि हात्तीवनस्थित प्रचण्डका भानिजको घरमा २ पटक, सिंहदरबारमा १ पटक र खुमलटारमा १ पटक छलफल भएको थियो।

अनौपचारिक, टेलिफोन संवाद धेरैपटक भएर मोर्चा हुँदै पार्टी एकतासम्म पुग्ने वातावरण बनेको भट्टराई निकट नेताहरु बताउँछन्।

एमालेसँग मिल्न तयार भट्टराई अन्तिममा किन मोडिए?
डा. भट्टराई नेसपा गठन भएपछि पाँच दलीय गठबन्धनबाट बाहिरिएका छन्। उनले आफ्नो पार्टीलाई गठबन्धनमा सहभागी गराउन जोड गरिरहेका छन्। तर, भर्खरै पार्टी फुटाएका भट्टराईलाई सजिलै गठबन्धनमा सहभागी गराउन यादव तयार छैनन्।

त्यसैले भट्टराई सुरुमा नेकपा एमालेसँग मिल्ने उपायको खोजीमा लागे। उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेलसँग सम्पर्क पनि गरे।

अन्य सम्पर्क सूत्रमार्फत एमालेसँग संवादमै थिए।  

त्यही बेला २० साउनमा बसेको गठबन्धनको बैठकले अन्य दललाई सहभागी गराउने ढोका बन्द गर्दै पाँच दलबीच मात्र गठबन्धन बलियो बनाउने निर्णय गर्यो।

यो निर्णयले भट्टराईलाई एमालेसँग मिल्ने बाटो खोलिदियो।

उनले महन्थ ठाकुरको लोसपा र नेसपा मिलाएर एमालेसँग प्रतिनिधि र प्रदेश सभा चुनावमा गठबन्धन बनाउनेगरी छलफल अघि बढाए।

तर, एमालेबाट सकारात्मक जवाफ पाएनन्।

एमालेले पनि चुनावमा सहकार्य गर्ने प्रस्तावमा चासो नदिएपछि २४ साउनमा गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे।

प्रधानमन्त्रीले अन्य दलसँग सल्लाह गरौँला भन्ने जवाफ दिएपछि भट्टराई माओवादीसँग मिल्नुपर्ने निष्कर्षमा पुगेका हुन्।

२९ साउनमा बाबुराम र प्रचण्डबीच हात्तीवनस्थित गोकुल भण्डारीको निवासमा भेट भयो र दुई नेताबीच सहमति बन्यो। एमालेसँग मिलेर अर्कै गठबन्धन बनाउन प्रयासरत् डा. भट्टराई माओवादी केन्द्रकै चुनाव चिन्ह र एउटै घोषणा पत्र लिएर मंसिरको चुनावमा जान तयार भए।

जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि अर्थमन्त्री र प्रधानमन्त्री बनेका डा. भट्टराईले अन्तिम पटक २०७० को दोस्रो संविधान सभाको चुनाव हँसिया हथौडाबाट लडेका थिए।

२०७४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा भट्टराई नयाँ शक्ति पार्टीबाट आँखा चिन्ह लिएर चुनाव लडे र विजयी भएका थिए। उनी कांग्रेससँग मिलेर लडेका थिए।

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नराम्रो पराजय भोगेका डा. भट्टराई माओवादी केन्द्रको चिन्ह लिन त्यसै पुगेका होइनन्।

किन माओवादीमै फर्किए त बाबुराम?
यति पछि भट्टराई आफैँले त्यागेको पार्टीसँग मिल्न किन आइपुगे त? लामो समयदेखि उनीसँगै रहेका एक नेताले यसका पाँच कारण दिए।

पहिलो, वैकल्पिक शक्ति बन्ने सम्भावना कम, नेताहरुको साथ पाउन मुश्किल। माओवादी छाडेपछि तीन वटा पार्टी फेर्दा पनि बलियो पार्टी गठन गर्ने भट्टराईको योजना कहिल्यै पुरा भएन।

दोस्रो, नयाँ शक्तिदेखि नेसपासम्म आइपुग्दा बाबुरामसँग लागेका ८० प्रतिशत नेताहरु माओवादी पृष्ठभूमिका छन्। उनीहरुको जोडबल माओवादीमै फर्किनुपर्छ भन्ने रह्यो। एमालेसँग मिल्ने प्रयास असफल भयो।

तेस्रो, अब संसदीय राजनीति गर्ने हो भने छुट्टै नयाँ दलबाट गर्न सकिँदैन भन्ने भट्टराईको निष्कर्ष।

चौथो, संसदमा धेरै सिट नजित्ने, प्रधानमन्त्री, मन्त्री बन्न नसक्ने हो भने नेता कार्यकर्ता जोगाउन सकिँदैन भन्ने विश्लेषण।

र पाँचौँ, क्षेत्रीय पार्टीहरुमा निर्णय गर्ने क्षमता कमी, चुनाव खर्चिलो, आफ्ना नेता/कार्यकर्ताको व्यवस्थापन चुनौतीपूर्ण हुने पार्टी पंक्तिको बुझाइ।

‘यदि भट्टराईले अहिलेको निर्णय नगरेको भए पार्टीका ३० प्रतिशत नेताहरु यताउता लागिसक्थे,’ अर्का नेताले भने, ‘कि एमालेसँग मिल्नुपर्यो कि माओवादी रोज्नुर्यो। यो दोधारमा उनी थिए, उनले एमालेभन्दा बढी क्रान्तिकारी पार्टी रोजे।’

उनका अनुसार भट्टराईले प्रचण्ड गम्भीर भए चुनावलगत्तै एकता गर्ने इच्छा जनाएका छन्।

तर, त्यसका लागि उनले नाम ‘नेकपा’ राख्न नहुने बताएका छन्।

‘चुनावी मोर्चा गरेको पार्टी एकताकै लागि हो। प्रचण्डजी तयार हुनुभयो भने चुनावलगत्तै एकता गर्ने बाबुरामजीको चाहना छ,’ ती नेताले भने, ‘यसपटक उहाँ आफैँ चुनावमा उठ्ने/नउठ्ने निश्चित छैन।’

साउन ३०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.