राजनीति


राष्ट्रपतिलाई उपेन्द्र यादवको प्रश्न : ओलीको अध्यादेश किन पारित गरेको?

‘राष्ट्रपतिबाट संविधानविरोधी काम भयो, अब संसदले हुबहु पठाउँछ : यादव
राष्ट्रपतिलाई उपेन्द्र यादवको प्रश्न : ओलीको अध्यादेश किन पारित गरेको?

नेपालखबर
साउन २९, २०७९ आइतबार २१:१, काठमाडौँ

सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर गल्ती गरेको बताएका छन्।

नेपालखबरसँग कुरा गर्दै यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्ने राष्ट्रपतिले त्यही अध्यादेशमा भएको व्यवस्था हुबहु राखेर विधेयक पठाउँदा फिर्ता गर्नु गलत भएको प्रतिक्रिया दिए।

‘अध्यादेशमा त्यही लाइन आउँदा प्रमाणीकरण गर्ने, अहिले त्यही कुरा हुबहु राखेर संसदले प्रमाणित गरेर पठाउँदा फिर्ता किन?’ यादवले प्रश्न गर्दै भने, ‘नागरिकता पाएका सन्तानले नागरिकता पाउने संविधानको व्यवस्था विरोधी काम राष्ट्रपतिबाट भयो, यो गलत छ।’

संविधानमा नागरिकताबाट कोही नेपाली नागरिकलाई पनि वञ्चित गरिने छैन भन्ने कुरा राष्ट्रपतिबाट हनन भएको यादवले बताए।

अब बस्ने संसद बैठकबाट हुबहु विधेयक पारित गरेर प्रमाणित गरी फेरि पठाउने यादवले ठोकुवा गरे।

‘संविधानको व्यवस्था विरोधी गलत काम राष्ट्रपतिबाट भएको छ, अब संसदबाट हुबहु पास गरेर फेरि पठाउँछौं,’ यादवले थपे, ‘कुनै विषय, बुँदा पनि परिवर्तन हुँदैन।’

यसबारे गठबन्धनको संयुक्त धारणा आवश्यक नभएको उनको भनाइ छ। अहिले दुबै सदनबाट पास भएको कुरा पहिला अध्यादेशमा थियो, त्यसबेला राष्ट्रपतिले किन अध्यादेश प्रमाणीकरण गरेको? त्यो अध्यादेश किन फिर्ता नपठाएको?’ यादवले प्रश्न गरे।

संसदको दुबै सदनबाट पास भएर सभामुख अग्नि सापकोटाले प्रमाणित गरेको नागरिकता विधेयक १५ साउनमा राष्ट्रपति कार्यालय पठाइएको थियो। तर, राष्ट्रपतिले १५ दिनपछि विधेयक फिर्ता गरेर पुनः संसदमा फर्काइदिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad