ad ad

राजनीति


धरानको कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार, मेयर भन्छन् : यो त ठीक भएन

धरानको कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार, मेयर भन्छन् : यो त ठीक भएन

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १६:१४, काठमाडौँ

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन्। 

शुक्रबारका लागि बोलाइएको बैठकमा सहभागी भएर पनि एमालेबाट निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुले स्थगित भन्दै हिँडेका हुन्। 

एमालेले बैठक बहिष्कार गरेपछि दिउँसो १ बजे बसेको कार्यपालिका बैठक एजेण्डामा छलफल नै नगरी स्थगित भएको उपमेयर अईन्द्रविक्रम बेघाले बताएका छन्। 

उनका अनुसार बैठकमा उपस्थित भएर पनि बहुमत रहेको एमालेका जनप्रतिनिधिहरुले कारण नै नदिइ उठेर हिँडेका हुन्। 

बैठक सुरु गर्दा एमालेबाट छानिएका कार्यपालिका सदस्य र वडाअध्यक्षहरु सबै उपस्थित थिए। धरानमा नयाँ प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल पुगेका छन्। 

धरानका जनप्रतिनिधिहरुले सुरुमा उनीसँग परिचय गरेका थिए। त्यसपछि एमालेबाट निर्वाचित वडा नं. १५ का अध्यक्ष नरेश इवारमले बैठक स्थगित गर्न भनेका थिए। 

तर एमालेको उक्त प्रस्तावपछि मेयर हर्क साम्पाङले कारण खोजेका थिए। मेयर साम्पाङले कारण खोज्दै गर्दा एमालेका जनप्रतिनिधिहरु एकपछि अर्को उठ्दै हिँडेका थिए। 

एमालेका जनप्रतिनिधिहरुले कारण नै नदिइ हिँडेपछि कार्यपालिका बैठक बहुमत नपुगी स्थगित भएको हो। 

एमालेले बहिष्कार गरे पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट निवार्चित वडाध्क्षहरु बसेका थिए। 

बैठकमा सहभागी अन्य दलका जनप्रतिनिधिले एमालेले बहिष्कार गर्नुपर्ने कारण नदिएको भन्दै आपत्ति जनाए।

बहुमत नपुगेर बैठक स्थगित हुनुअघि डुबेको भनिएको बराह सहकारीबारे पनि त्यहाँ कुरा उठेको थियो। जनप्रतिनिधिहरुले बराह संकट समाधान गर्नेभन्दा सामाजिक सद्भाव बिथोल्ने गरी सामाजिक सञ्जालमा जथाभावी टिप्पणी र आरोपप्रत्यारोप भइरहेको भन्दै यसमा सचेत हुन आग्रह गरेका थिए।

यसअघि बराहपीडितहरुबारे विवादित टिप्पणी गरेपछि आलोचनामा परेका मेयर साम्पाङले यो छलफलमा आफू समाधानको खोजीमा रहेको बताए। उनले पीडितहरुलाई न्याय दिलाउन आफू तयार रहेको बताउँदै सामाजिक सद्भाव जोगाउनेतर्फ सबै सचेत हुनुपर्ने उल्लेख गरे। 

मेयर भन्छन् : ठीक भएन 
यसबारेमा मेयर हर्क साम्पाङले नेपालखबरसँग कुरा गर्दै एमालेको यो कदमले धरानको विकास नै प्रभावित हुने बताए। 

'एमालेले किन बहिष्कार गर्यो मलाई थाहा भएन, हामीले बहिष्कार गर्नुको कारण पनि सोध्यौँ तर उहाँहरु केही नभनी एकपछि अर्को गर्दै हिँड्नु भयो', मेयर साम्पाङले नेपालखबरसँग भने, 'म मेयरको भूमिकाबाट समन्वय गर्न, वार्ता गर्न तयार छु। तर बैठक नै बहिष्कार गरेपछि धरानको विकास कसरी अघि बढ्छ?'

साम्पाङले एमालेको यो कदम ठीक नभएको बताउँदै सबै दलसँग आफू वार्ताका लागि तयार रहेको बताए।

'अहिले सामाजिक सञ्जालमा आइरहेको विषय भए पनि म कुरा गर्न तयार छु। कसैले पनि सामाजिक सद्भाव बिथोल्नु हुँदैन', उनले भने, 'कारण जेसुकै भए पनि बैठकमा त भन्नु पर्यो नि! एकैचोटी स्थगित भनेर हिँड्नु भयो, पछि बुझ्दा बहिष्कार नै गर्नु भएको रहेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .