ad ad

राजनीति


‘गम्भीर मानवअधिकार हननका घटनामा आममाफी दिएर शान्ति प्रक्रिया टुंगिँदैन’

भने : चिप्ला कुरा गर्न र अरुलाई पेलपाल पार्न बन्दीलाई मन्त्री बनाइएछ
‘गम्भीर मानवअधिकार हननका घटनामा आममाफी दिएर शान्ति प्रक्रिया टुंगिँदैन’

परराष्ट्र मामिलाका पत्रकारहरुसँगको अन्तरक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
साउन १९, २०७९ बिहिबार १८:४८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत ढंगले शान्ति प्रक्रिया अघि बढाउन खोजेको बताएका छन्। 

काठमाडौंस्थित विदेशी सञ्चारमाध्यम तथा नेपाली मिडियामा कूटनीतिक मामिलामा लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै ओलीले पीडितलाई थप पीडा दिने गरी शान्ति प्रक्रिया टुंगिन नसक्ने बताए। 

‘सरकारले अहिले जुन खालको विधेयक संसदमा दर्ता गरेको छ, त्यो सही छैन। पीडितहरुलाई अनुचित दबाबमा पारेर संक्रमणकालीन न्यायलाई टुंग्याउन खोजिएको छ। त्यसमा हाम्रो असहमति छ', उनले भने, 'मानवअधिकार उल्लंघनका गम्भीर अपराध छन्। पीडितका आफ्नै भनाइ छन्। ती कुरा ख्याल नगरी शान्ति प्रक्रिया अघि बढ्न सक्दैन।’ 

पूर्व प्रधामन्त्री समेत रहेका ओलीले शान्ति प्रक्रियाका लागि सबै दलको सहमति हुनुपर्ने बताएका छन्।  

अध्यक्ष ओलीले शान्ति प्रक्रिया अघि बढाउन सक्रियता देखाइरहेका कानुनमन्त्री गोविन्द बन्दीको नियुक्तिमा पनि प्रश्न गरे। 

‘गोविन्द बन्दीलाई त चिप्ला कुरा गर्न र अरुलाई पेलपाल गर्न पो बनाइएको रहेछ। तर यही हिसाबले शान्ति प्रक्रिया अघि बढ्न सक्दैन,’ उनले भने। 

ओलीले सरकारले नागरिकता विधेयक संसदबाट पास गर्दा छलफल नै नगरेको बताए। 

‘हाम्रै पालामा अध्यादेशबाटै नागरिकतासम्बन्धी कानुन ल्याउन खोजेकै हौँ। तर त्यसबेला अदालतमा मुद्दा हालेर अहिलेकै सत्ताधारीले रोके। हामीले कानुन ल्याउन खोज्दा विभिन्न अवरोध गरिए’ उनले भने। 

ओलीले नागरिकता जस्तो विषयलाई सत्तारुढ दलले खेलाँची ठानेको पनि आरोप लगाए। 

‘नागरिकता प्रमाणपत्र वितरण गर्ने कुरा होइन, कानुन बमोजिम हरेक नेपाली नागरिकका सन्तानले स-सम्मान अधिकारस्वरुप प्राप्त गर्ने हो', उनले भने, 'कुनै समयम रानीतिको जन्मदिनमा खै के वितरण गरेजस्तो होइन। तर सत्ताधारीले नागरिकतालाई वितरण गर्ने वस्तु बनाइदिए।’

ओलीले अंगिकृत नागरिकता दिँदा पनि कानुन बमोजिम दिइनुपर्ने विगतमा आफूहरुले भन्दा रडाको मच्चाइएको बताए। 

‘जो साथीहरुले रडाको मच्चाए आज तिनै नागरिकतालाई वितरण गर्ने चीजजस्तो रुपमा लिए’, ओलीले भने। 

ओलीले सरकारले निर्वाचनको घोषणा गर्नु नियमित र स्वाभाविक प्रक्रिया रहेको बताए। तर उनले देउवा नेतृत्वको सरकार निर्वाचन गराउन लायक नरहेको आरोप लगाए। 

‘निर्वाचनको घोषणा त भयो, तर ढुक्क हुने अवस्था छैन। किनकी यो सरकार नैतिक रुपमा पतन भइसकेको छ, यसले निर्वाचन गर्ने हैसियत राख्दैन', उनले भने, 'प्रमाणितरुपमा सरकार फेल भइसकेको छ। यो राज्य शक्तिको दुरुपयोग गरिरहेको सरकार हो।’

ओलीले निर्वाचनको मुखमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीका नेताहरुलाई पक्राउ पुर्जी जारी गर्नु गलत रहेको बताए। 

‘हामीले विप्लवलाई शान्तिको बाटोमा ल्याऔं। तर अहिले चुनावको मुखमा उनीहरुलाई पक्राउ आदेश भएको छ', उनले भने, 'कि शान्ति खल्बल्याउने गलत नियतले पक्राउ गर्न लागियो? किन विप्लवसँग कुनैखाले बार्गेनिङ गर्दैछ सरकार?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .