राजनीति


मञ्जु भण्डारी र हर्क साम्पाङको विवादमा ‘साइबर अपराधी’को हात

मेरो फेसबुकआइडी ह्याक भयो, मलाई खाने बाघले अरुलाई पनि खान सक्छ : मञ्जु भण्डारी
मञ्जु भण्डारी र हर्क साम्पाङको विवादमा ‘साइबर अपराधी’को हात

नेपालखबर
साउन १९, २०७९ बिहिबार १४:११, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ र गत चुनावमा मेयरकी प्रत्यासी मञ्जु भण्डारीबीचको विवादले सघन रुप लिन थालेको छ । तर, उनीहरुको विवादमा एकाएक ‘साइबर अपराधी’ घुसेको छ ।

क्रममा मञ्जु भण्डारीका नामबाट मेयर साम्पाङलाई गाली गर्दै फेसबुकमा जथाभावी लेख्ने व्यक्ति ‘साइबर अपराधी’ रहेको खुलेको छ । साइबर अपराधीले एमाले नेतृ एवं पूर्वउपमेयर मञ्जु भण्डारीको तस्बिर राखेर नयाँ फेसबुक आइडी बनाई त्यसैको माध्यमबाट हर्क साम्पाङलाई गाली गरेको पाइएको छ ।

एमाले नेतृ भण्डारीले भने आफ्नो फेसबुक आइडीसमेत ह्याक भएको बताएकी छिन् । आफ्नो आइडी प्रयोग गरेर जातीय सदभाव भड्किने अभिव्यक्ति दिने व्यक्ति पत्ता लगाएर कानूनी कारवारी गर्न भण्डारीले माग गरेकी छिन् ।

पछिल्लो केही दिनदेखि बराह सहकारीबाट पीडित भएकाहरुले धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेपछि मेयर साम्पाङ र पूर्वउपमेयर भण्डारीबीचको विवाद सतहमा आएको हो ।

मेयर हर्क साम्पाङले बराह बचतको विषयलाई लिएर एमाले कार्यकर्ताले पीडितलाई उचालेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।

साम्पाङको जवाफमा पूर्वउपमेयर भण्डारीका नामबाट फेसबुकमा आएको अभिव्यक्तिलाई लिएर साम्पाङले पनि जातीय भेदभावसहित  भण्डारीले धरानलाई भाँड्न खोजेको आरोप लगाए ।

तर, भण्डारीले भने आफ्नो फेसबुक आइडी अरुले प्रयोग गरेर भ्रम छर्ने काम गरिरहेको बताएकी छिन् । चौतर्फी आलोचना बढेपछि भण्डारीले विहीबार धरानमा पत्रकार सम्मेलन नै आयोजना गरेकी छिन् ।

नेपालखबरसँगको कुराकानीमा भण्डारी भन्छिन्, ‘आज मलाई खाने बाघले भोलि अरुलाई पनि खान सक्छ, त्यसकारण हामी सचेत हुन जरुरी छ। राज्यका निकाय र कानुन पनि बलियो हुनु जरुरी छ।’

अहिले भएको साइबर अपराधको घटनाविरुद्ध आफू कानुनी उपचारमा जाने भण्डारीले बताएकी छिन्।

आफ्नो आइडीको दुरुपयोगबारे मञ्जु भण्डारीको प्रतिक्रिया यस्तो छ–

सामाजिक सद्भाव बिग्रने गरी सामाजिक सञ्जालको आइडी दुरुपयोग गर्ने लगायतका कामहरु जुन अराजक तत्वले गरेको छ, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण  छ। सामाजिक रुपमा द्वेष फैलाउने गरी भ्रम फैलाउने काम भएको छ। जनतालाई भ्रम पार्न हुँदैन भनेर मैले पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछु। 

जातीय विद्वेष फैलाउने गरी मेरो सामाजिक सञ्जालको आइडी ह्याक भएको छ। हामीले हेर्दा फोटोसप गरिएको रहेछ। अपराधिक मानसिकताबाट अघि बढेको मैले बुझेकी छु। म कानुनी उपचारको समेत तयारी गरेर अघि बढेकी छु। यसलाई मैले सरासर साइबर क्राइमको रुपमा लिएकी छु।

सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गर्ने, सामाजिक सद्भाव भड्काउन खोज्ने काम ठीक भएन। म आफू राजनीतिक पृष्ठभूमिबाट आएकी मान्छे हुँ। म फुत्त आज एकदिन मात्र अघि बढेकी होइन। कुनै पब्लिक सेन्टिमेन्ट र एउटा निश्चित मुद्दाबाट आएको मान्छे पनि होइन। कम्युनिस्ट आन्दोलनबाट मात्र नभई सामाजिक र राजनीतिक आन्दोलनलाई पनि सँगसँगै लिएर आएकी हुँ। 

मेरा लागि सामाजिक सद्भाव, जातीय समानता कायम गर्ने कुरा र समावेशिताको सिद्धान्तलाई अंगीकार गर्ने कुरा महत्वपूर्ण विषय हो। म व्यक्तिगत नभई राजनीतिक मान्छे भएको हुँदा यस्तो विषयमा म बोल्दा पनि बोल्दिँन। आजसम्मको इतिहास हेर्दा म यस्ता विषयमा बोलेकी पनि छैन। सामाजिक सद्भाव भड्काउने यस्ता क्रियाकलापप्रति सजग हुनपर्ने बेला भएको छ। आज मलाई खाने बाघले भोलि अरुलाई पनि खान सक्छ त्यसकारण हामी सचेत हुन जरुरी छ। राज्यका निकाय र कानुन पनि बलियो हुनु जरुरी छ।

याे पनि:

​पत्रकार मिलन बिछोडलाई पनि अर्को तनाव

यसैबीच इटहरीबाट यसै वर्ष काठमाडौं आएका पत्रकार मिलन बिछोड (बूढाथोकी) का नामबाट पनि फेसबुक आइडी बनाएर विभिन्न कमेन्टहरु गर्न थालिएपछि उनी तनावमा परेका छन् ।

पत्रकार मिलन बिछोडका नामबाट राई लिम्बु जातिमाथि नकारात्मक टिप्पणी गरिएका कमेन्टहरु नेकपा एमाले धरानको फेसबुक पेजमा देखिएको छ ।

त्यस्तै, उपमेयर भण्डारीका नामको फेसबुक आइडीबाट पनि ‘तिब्बती शरणार्थी’ भन्दै जातीय सदभावविरुद्ध कमेन्टहरु सामाजिक सञ्जालमा पोस्ट भएका छन्, जुन नक्कली भएको मञ्जु र मिलन दुबैले स्पष्ट पारेका छन् ।

मञ्जुको नक्कली फेसबुक आइडीलाई सक्कली ठानेर मेयर हर्क साम्पाङ पनि झुक्किएको स्रोतले बतायो ।

मिलनले प्रहरीमा दिएको उजुरी- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .