ad ad

राजनीति


उपेन्द्र र बाबुराम दुवैलाई ‘इन्गेज’ गर्ने प्रचण्डको नीति

हरिबोल भन्छन्– बाबुरामसँग अनिश्चित, उपेन्द्रसँग निश्चित
उपेन्द्र र बाबुराम दुवैलाई ‘इन्गेज’ गर्ने प्रचण्डको नीति

सागर न्यौपाने
साउन १६, २०७९ सोमबार २१:१७, काठमाडौँ

जनता समाजवादी पार्टी फुटाएर दायाँ–बायाँ मोडिएका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै नेता यतिखेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएका छन्।

प्रचण्ड दोधारमा छन्– बाबुरामतिर नजिकिउँ, उपेन्द्र टाढिने डर। उपेन्द्रतिर ढल्किउँ, बाबुराम बिच्किने डर।

जतिखेर जसपा फुटेको थिएन, त्यसबेलासम्म बाबुराम र उपेन्द्र यादवले प्रचण्डसँग खासै सम्वाद चलाएका थिएनन्। तर, पार्टी फुट्नासाथ यादव र भट्टराई दुवैले प्रचण्डसँग नजिक हुने प्रयास गरेका छन्, जसका पछाडि दुईवटा कारण छन् :

एक– शेरबहादुर देउवाले सीट बाँडफाँटका लागि सत्तारुढ वामपन्थीहरुलाई आपसमा मिलेर होलसेलमा आउनोस् भनेका छन्। बाबुरामलाई पनि देउवाले प्रचण्डसँगै सल्लाह गरेर आउन भनेका छन्।

दोस्रो– फुटेर कमजोर भएका बेला सत्ता गठबन्धनबाट टाढा हुँदा कमजोर भइन्छ भन्ने डर बाबुराम–उपेन्द्र दुवैलाई परेको छ। त्यसर्थ दुवै नेता प्रचण्डलाई उपग्रह बनाएर कांग्रेसको कक्षसम्म घुम्न र चुनावी सहकार्य गर्न चाहन्छन्। सत्ता गठबन्धनबाट बाहिर नपरियोस् भन्ने साझा चिन्ता उपेन्द्र–बाबुराम दुवैमा देखिन्छ।

बाबुराम र उपेन्द्र दुवैसँग समानान्तर छलफल चलाएका प्रचण्डले आफ्नो पार्टीको आन्तरिक बैठकमा भनेका छन्, उहाँहरु दुवैले सत्ता गठबन्धनभित्रै रहने प्रतिवद्धता जनाउनुभएको छ।

यहीबेला सत्तारुढ घटक माओवादी केन्द्र र एकीकृत समाजवादीसमेत उपेन्द्र–बाबुरामलाई मिलाएर समाजवादी केन्द्र बनाउने गृहकार्य पनि चलिरहेकै छ।

उता, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम गठबन्धनभित्रका वामशक्ति (कम्युनिष्ट मात्र) मिलाउने प्रयासमा छन्। उनले नेकपाकालीन पाँच नेताहरुलाई एकै ठाउँमा ल्याएर तीन पटक छलफल गरिसकेका छन्।

चारदलको मोर्चा बनाउने सहमति जुटिसक्यो : महीन्द्र यादव
डा. बाबुराम भट्टराईसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १६ साउनमा उपराष्ट्रपति नन्दबहादुर पुन निवास, ३ साउनमा सिंहदरबार र ५ साउनमा भैंसेपाटीमा छलफल गरे। भेटमा समाजवादी केन्द्र बनाए मोर्चामा सहभागी हुने डा. भट्टराईले जवाफ दिएका थिए। त्यसमा प्रचण्ड सहमत भए। उनले समाजवादी केन्द्र बनाउन छलफल थाल्ने जवाफ दिए।

३ साउनमै प्रचण्ड लगायत नेकपा कालीन सचिवालयका ५ नेताले सिंहदरबारमा छलफल गरे। उनीहरुबीच चुनावी मोर्चा बनाउने लगभग सहमति जुट्यो तर, मोर्चाको मोडालिटीबारे पछि सल्लाह गर्ने समझदारी बन्यो।

जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर डा. भट्टराईको नेतृत्वमा बनेको नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव कांग्रेससहितको गठबन्धन कायम राखेर त्यहीँभित्र चारदलको छुट्टै चुनावी मोर्चा बन्ने सहमति जुटिसकेको बताउँछन्।

‘कांग्रेससहितको एउटै गठबन्धनमा हामी छौँ,’ यादवले नेपालखबरसँग भने, ‘प्रचण्डजी, माधवजी, हामी र राष्ट्रिय जनमोर्चाबीच पनि छुट्टै गठबन्धन बनाउने सहमति जुटिसकेको छ।’

पाँचदलीय गठबन्धन चुनावसम्म रहने र चारवटै पार्टीको एउटै मोर्चा पनि चुनावकै लागि बनाइने उनले दाबी गरे।

‘चुनावी मोर्चा बनिसकेको निश्चित हो, गठबन्धन पनि रहन्छ, चुनावी मोर्चा पनि बन्छ,’ यादवले भने।

उपेन्द्रसँग बेग्लै सम्वाद
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सत्ता गठबन्धनमै छ। प्रचण्डले बाबुराम भट्टराईसँग जस्तै उपेन्द्र यादवसँग एक्लै छलफल गरेको खबर अहिलेसम्म बाहिर आएको छैन।

तर, माओवादी पार्टीमा बाबुरामलाई समाहित गराउन चाहेका प्रचण्ड पछिल्ला दिनमा जसपा अध्यक्ष उपेन्द्र यादवको पार्टीसँग आगामी चुनावी परिदृश्य र तालमेलबारे छलफल गरिरहेका छन्। यसका लागि उनले आफू निकटका तीन नेतालाई खटाएका छन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन र स्थायी समिति सदस्य हितमान शाक्य यादवसँगको सम्वादमा खटिएको माओवादी नेताहरु बताउँछन्।

उपेन्द्र यादवका तर्फबाट रकम चेम्जोङ लगायतका नेताहरु यस्ता छलफलमा छन्। यही भएर उपेन्द्र यादवले समेत अहिले वामपन्थी गठबन्धनको पक्षमा वकालत गर्न थालेका छन्। उनले गठबन्धनको विकल्प नभएको बताएका छन्।

बाबुरामलाई मिसाउने अनिश्चित भयो : हरिबोल
बाबुराम भट्टराई पक्षका नेताले आगामी चुनावमा छुट्टै मोर्चा बनाउने सहमति भइसकेको दाबी गरे पनि त्यो सम्भावना कम भएको माओवादी केन्द्रका नेता हरिबोल गजुरेल बताउँछन्। चुनावी मोर्चामा उपेन्द्र यादवको जसपा भने अटाउने गजुरेलले बताए।

‘बाबुरामजीलाई चुनावी मोर्चामा मिसाउने सम्भावना अनिश्चित भयो,’ गजुरेलले नेपालखबरसँग भने, ‘कम्युनिष्ट आन्दोलन छोडेर हामी जान सक्दैनौं, उहाँले (बाबुराम) कम्युनिष्ट नै नबन्ने भन्नुभएको छ। सत्ता गठबन्धनका हामी कम्युनिष्टहरु एउटै विचार र घोषणापत्र लिएर चुनाव लड्छौँ।’

विगतमा एउटै पार्टीमा रहँदा पनि बाबुरामका आलोचक मानिँदै आएका गजुरेलले थपे, ‘बाबुरामजी कम्युनिष्ट छाडेर गैरकम्युनिष्ट बन्नुभयो, अहिले हामी कम्युनिष्ट आन्दोलन छाडेर उहाँलाई बोक्न सक्ने अवस्थामा छैनौँ।’

तर, बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टीले कम्युनिष्टको आधारभूत मान्यता स्वीकार गरे फेरि एकै ठाउँ हुने गजुरेलको भनाइ छ।

उनी अगाडि भन्छन्, ‘कम्युनिष्ट धारणा मानेको खण्डमा बाबुरामजीलाई सँगै लैजान सकिन्छ तर, अहिले त उहाँ मार्क्सवाद नै मान्नुहुन्न, त्यही भएर अहिले एकै ठाउँ हुन कठिन छ।’

बाबुराम भट्टराईसँगै रहेका नेता महीन्द्र यादव भने कांग्रेसबाहेक चार दलबीचमा एउटै चुनाव चिन्ह, एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति नै जुटिसकेको ठोकुवा गर्छन्। तर, यो चारदलमा उपेन्द्र यादवको जसपा नरहेको उनले दाबी गरे।

उपेन्द्रको दललाई ल्याउने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको पनि यादवले बताए। ‘चारवटा पार्टी छुट्टा छुट्टै चिन्ह लिएर चुनावमा जानुभन्दा एउटै घोषणापत्र, एउटै चुनाव चिन्ह लिएर जाँदा जनतामा अन्योल नहुने देख्यौं,’ यादवले भने, ‘एउटै चिन्हमा मत दिन सजिलो हुन्छ, नतिजा पनि गडबड हुँदैन।’

अर्काे, चुनावका लागि छुट्टा छुट्टै दलबीच सिट बाँडफाँड गर्न नपर्ने भएकाले चार दलीय मोर्चा बनाइएको उनी दाबी गर्छन्। ‘हामी कांग्रेससँगको मोर्चा पनि राख्छौं,’ यादवले थपे, ‘त्यहीभित्रका अन्य दल मिलाएर चुनावी मोर्चा पनि बनाउँछौँ।’

‘घेराबन्दी’ मा परेकै हुन् बाबुराम?
समाजवादी केन्द्रमा सहभागी हुन तयार रहेका डा. भट्टराईले पार्टीको नाममा ‘नेकपा’ शब्द राख्न नमानेको एक नेताले बताए।

बाबुराम समाजवादी केन्द्र वा मोर्चा बनाउन तयार भए पनि ‘नेकपा’ शब्द राख्न तयार नभएपछि माओवादी र एकीकृत समाजवादीले नमानेको र उपेन्द्रसँग छलफल बढेको एक नेताले जानकारी दिए। नेकपा नराख्ने हो भने जनतामा आफ्नो पार्टी कम्युनिष्ट नरहेको सन्देश जाने उनले विश्लेषण गरे।

सोही कारण १० र ११ साउनमा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र उपेन्द्र यादवको जसपाका नेताहरुबीच माओवादी पार्टी कार्यालय पेरिसडाँडामा चार घण्टा बढी छलफल भयो।

माओवादीबाट वर्षमान पुन, हितमान शाक्य, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल र  कर्णाली इञ्चार्ज प्रकाश ज्वाला तथा जसपाबाट रकम चेम्जोङसहित नेता थिए।

उनीहरुबीच प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्था, दलको स्थिति, एउटै मोर्चा बनाएर चुनाव लडेपछिको सम्भावित परिणाम लगायत विश्लेषण भए।

त्यो छलफलमा बाबुराम भट्टराई पक्षका कोही नेतालाई पनि सहभागी गराइएन। दुई दिनको छलफलको निष्कर्षबारे माओवादी केन्द्रका एक नेताले मोर्चामा वामदेव र राष्ट्रिय जनमोर्चा अटाउने बताउँदै भट्टराईको निश्चित नभएको जवाफ दिए।

‘उपेन्द्रजी र माधवजीसँग आगामी चुनावमा मोर्चा बनाएर जाने सहमति बन्यो।’ यही मोर्चामा वामदेवजी र राष्ट्रिय जनमोर्चा पनि जोडिन्छ, तर, बाबुरामजीको निश्चित भएको छैन।’

१४ र १५ साउनमा माओवादी अध्यक्ष प्रचण्डले पनि बाबुराम भट्टराईसहितको समाजवादी केन्द्र बन्ने कुरा हल्ला मात्र भएको बताए। उनले बाबुराम भट्टराई कम्युनिष्ट÷माओवादी नरहेको बताए।

प्रचण्डलाई निकटका नेताहरुले बाबुरामसँग तत्काल नमिल्न सुझाव दिएका छन्। माओवादी नेता हरिबोल गजुरेलले त्यसबारे चुरो कुरा खोलेका छन्।

‘बाबुराम भट्टराई कम्युनिष्ट बनेमात्र चुनावी मोर्चामा अट्छन्,’ गजुरेलले भने, ‘नत्र गैरकम्युनिष्टसँग तत्काल मिलेर जान हामीलाई रुचि छैन।’

बाबुराम भट्टराईको नेसपाले (नेपाल समाजवादी पार्टी जुन निर्वाचन आयोगमा दर्ता भइसकेको छ।) २१ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ।

त्यही बैठकबाट पार्टीको नेतृत्व र पदाधिकारी घोषणा गर्ने तयारी छ। निकट नेताहरुका अनुसार चुनावी मोर्चाबारे त्यसपछि निर्णय गर्ने योजनामा डा. भट्टराई छन्। उनले चुनावको मिति घोषणा कुरेका छन्।

जसपाबाट कति शक्ति आफ्नो नयाँ पार्टीमा आउँछ, त्यही आधारमा गठबन्धन दलभित्र छलफल चलाउने भट्टराईको चाहना छ।

चुनावी गठबन्धनमा उपेन्द्रलाई समेट्दा आफूहरुलाई मान्य हुने भट्टराईले निकट नेतामार्फत् सन्देश पठाएका छन्। उपेन्द्र यादवले पनि बामपन्थी गठबन्धन आवश्यक रहेको भन्दै आफ्ना धारणा सार्वजनिक गरिसकेका छन्।

माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमसँग निरन्तर छलफल गरिरहेका छन्। यसको अर्थ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बाहेकका चुनावमा भाग लिएका अन्य कम्युनिष्ट घटकलाई एउटै मोर्चामा समेट्न चाहन्छन्।

नेपाली कांग्रेसले पनि मोर्चासँग होलसेलमै सिट बाँडफाँट गर्न चाहेको छ। गठबन्धनका कम्युनिष्ट घटकबीच छुट्टा छुट्टै सहमति गर्नुभन्दा एउटै मोर्चा बनेर आओस् भन्ने कांग्रेसको चाहना छ।

कांग्रेसका उपसभापति धनराज गुरुङले एउटै कम्युनिष्ट मोर्चासँग सहमति गर्न सजिलो हुने बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भेट्न आएका नेताहरुलाई प्रचण्डसँग सल्लाह गर्न सुझाव दिन थालेका छन्।

कांग्रेसकाे बटमलाइन– वामपन्थीसँग ‘होलसेल’ मा कारोबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .