ad ad

राजनीति


जनार्दन शर्मा अर्थमन्त्रालय नफर्किने

आफूनिकट नेताहरुसँग भने, ‘बरु अर्को मान्छे प्रस्ताव गरौँला’
जनार्दन शर्मा अर्थमन्त्रालय नफर्किने

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०७९ शनिबार २१:४७, काठमाडौँ

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले फेरि अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न नजाने बताएका छन्।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि असार २२ मा पदबाट राजीनामा दिएका शर्माले शनिबार यस्तो बताएका हुन्।

जावलाखेलस्थित निजी निवासमा भेट्न आएका आफूनिकट माओवादी नेताहरूसँगको छलफलका क्रममा तत्कालै अर्थमन्त्रालयमा फर्किने पक्षमा नरहेको शर्माले बताएका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्थमा जनार्दनलाई नै फर्काउन तयार छन्। 

११ सदस्यीय संसदीय विशेष छानबिन समितिले सफाइ दिएको भोलिपल्ट शनिबार निवासमै माओवादीका केही नेताहरूसँगको कुराकानीका क्रममा शर्माले अर्थमा नफर्किने अडान लिएका हुन्। 

१७ दिन लगाएर छानबिन पूरा गरेपछि संसदीय समितिका संयोजक लक्ष्मणलाल कर्णले संसदमा पेश गरेको प्रतिवेदनमा अर्थमा अनधिकृत व्यक्ति नपसेको र करका दर पनि हेरफेर नभएको उल्लेख छ।

यससँगै जनार्दनले दुवै आरोपबाट सफाइ पाइसकेका छन्। यस्तोमा आइतबारसम्म जनार्दनलाई अर्थमा फर्काएर शपथ खुवाउने चर्चा भइरहेका बेला उनी आफैंले भने नफर्किने बताएका हुन्।

शनिबार मात्रै एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले जनार्दनले कुनै गल्ती नगरेको बताउँदै सफाइ पाइसकेकाले पुन: जिम्मेवारीमा फर्काउन सक्ने संकेत गरेका थिए। 

तर शनिबारै जनार्दनले आफू अर्थमा फर्किने पक्षमा नरहेको कुरा आफूनिकटहरुसँग राखे। 

'हामी उहाँ (जनार्दन शर्मा) लाई भेट्न जावलाखेलस्थित निवासमै पुगेका थियौँ। हामी उहाँलाई अर्थमा फर्किएको हेर्न चाहन्छौँ', ती माओवादी नेताले नेपालखबरसँग भने, 'हामीले उहाँलाई अर्थमा फर्किनुपर्ने कुरा राख्यौँ। तर उहाँले म जान्न, अब यही अवस्थामा अर्थमै फर्किएर काम गर्ने मनस्थिति मेरो छैन भन्ने जवाफ दिनु भयो।'

जनार्दन शर्माले अब सरकारमा जानुपरे चुनावपछि मात्रै अन्य कुनै मन्त्रालय सम्हाल्ने गरी जाने यसअघि नै बताएका थिए। 

शनिबार पनि उनले त्यही कुरा राख्दै आफू अब अर्थमा नदोहोरिने जवाफ दिए। भेट्न पुगेका नेताहरुले निराश हुने गरी जवाफ आएपछि अर्को को हुन सक्छ भनेर शर्मालाई सोधेका थिए।

'मेरो अडान यही हो। भोलि पार्टी स्थायी कमिटी बैठक पनि छ', शर्माको भनाइ उद्धृत गर्दै ती नेताले भने, 'मैले पनि कोही मान्छे प्रस्ताव गरौँला। तर यसबारे पार्टी स्थायी कमिटीले भोलि ३ बजे आवश्यक निर्णय लिने छ।'

नेताहरुले शर्माले नफर्किने अडान लिएपछि 'तपाईंको के हो त रुचि, कसलाई सिफारिस गर्नुहुन्छ?', भनेर सोधेका थिए। 

तर शर्माले आफूले असार २२ मा राजीनामा दिँदा पनि नफर्किने संकेत गरिसकेको उल्लेख गरेका थिए। 

यद्यपि आइतवार ३ बजे बस्ने स्थायी कमिटीमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको दबाब आएमा आफ्नो निर्णयमा जनार्दनले पुनर्विचार गर्ने नगर्ने प्रष्ट भइसकेको छैन।

यसअघि माओवादीका अर्का नेता वर्षमान पुनले जनार्दन नै अर्थमा फर्किने बताएका थिए।

शर्माको यो भनाइ आइरहँदा बालुवाटारबाट प्रधानमन्त्री देउवा पनि उनैलाई ल्याउने योजनामा रहेको स्रोत बताउँछ। स्रोतका अनुसार प्रचण्डसँगको छलफलमा पनि देउवाले जसरी हुन्छ शर्मालाई नै ल्याउनुपर्छ भनेका थिए। 

तर शनिबार जावलाखेल पुगेका माओवादी नेताहरु शर्माको जवाफ सुनेपछि निराश भएर फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .