ad ad

राजनीति


प्रचण्डको गोजीबाटै गायब भयो पदाधिकारीको सूची

प्रचण्डको गोजीबाटै गायब भयो पदाधिकारीको सूची

फाइल फोटाे


रुपक चौलागाईं
साउन ११, २०७९ बुधबार १९:५२, काठमाडौँ

‘केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी त बनायौं। यो जाबो पदाधिकारी टुंग्याउन त समस्यै छैन’ २३ असारको माओवादी केन्द्रीय कमिटी बैठकको अन्तिमतिर प्रचण्डले भनेका थिए, ‘प्लिज मलाई पढ्न नलगाउनुस्, दुई–चार दिन समय दिनुस्। साँच्चै भनेको क्या! मलाई समय दिनुस्।’

महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि पदाधिकारी टुंग्याउन नसकेका प्रचण्डले केन्द्रीय सदस्य र आकांक्षीको दबाब झेल्न नसकेपछि केन्द्रीय कमिटीको बैठकमा त्यस्तो बाचा गरेका थिए।

‘देशभरबाट जम्मा भएका सदस्यसँग पदाधिकारी चयन गर्न २/४ दिनको समय उनले मागेका थिए। तर, केन्द्रीय सदस्य माझ गरिएको वाचा अझै पूरा भएको छैन्। माओवादीका शीर्षनेताहरू पदाधिकारीको विषय कहिले र कसरी टुंगिने भन्नेबारे अन्योलमा छन्।

माओवादी नेता लीलामणि पोखरेलका अनुसार पदाधिकारी चयनको विषयमा अध्यक्षले केन्द्रीय कमिटी बैठकपछि कुनै छलफल अघि बढाएका छैनन्।

‘यो विषयमा अध्यक्षले कुनै छलफल बोलाउनुभएको छैन्,’ पोखरेलले नेपालखबरसँग भने, ‘कहिले टुंगिन्छ भन्ने विषय पनि केही थाहा छैन’

कता हरायो गोजीमै भएको सूची?
पदाधिकारीमात्र होइन, पोलिटब्युरो सदस्य चयन गर्दा पनि प्रचण्ड ‘असिन–पसिन’ भएका थिए। केन्द्रीय कमिटी बैठकमा दुईवटा सूची बोकेर नाम वाचन गर्न थालेपछि फ्लोरबाट आकांक्षिहरुको नाम समावेश नभएको भन्दै विरोध भएको थियो।

पोलिटब्युरोमा परेका सदस्यको नाममा विवाद बढेपछि बैठक नै स्थगित गरेर प्रचण्डले नयाँ सूची पढेर सुनाएका थिए। तर, उनले पढेर सुनाएको नाम भने भद्रगोल बनिदियो। हलमा उपस्थित नेताहरुको ध्यान खिच्दै प्रचण्डले ‘महासचिव र उपमहासचिव’को समेत नाम आफैँ गोजीमा भएको सुनाएका थिए।

प्रचण्डले सबैको अनुहार उज्यालो पार्ने गरी केही दिनमा पदाधिकारीको विषय टुंग्याउने बताएका थिए। तत्कालै सबै प्रदेशमा छलफल गरेर असन्तुष्टहरुको आवाज सम्बोधन गर्ने प्रचण्डको भनाइ थियो।

नेताहरु नै अलमलमा
अध्यक्ष प्रचण्डले ‘आँट’ नगर्दासम्म यो विषय नटुंगिने एक स्थायी कमिटी सदस्यले बताए। ‘सबैलाई पद नै चाहिएको छ,’ ती नेताले भने, ‘गाँठो फुक्ने नफुक्ने अध्यक्षकै हातमा छ।’

चुनावअघि पदाधिकारीको विषय टुंगिने, नटुंगिने भन्ने अन्योल बढेको माओवादीका अर्का एक नेताले बताए।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेल चाहिँ अहिले कुनै पनि छलफल नभएको बताउँछन्। 

‘पार्टीमा अहिले छलफल भएको छैन,’ पोखरेलले भने, ‘के विषयमा कुरा अड्किरहेको छ, केही थाहा पाएको छैन्।’

अर्का स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भने अध्यक्षले सहमतिमा नै पदाधिकारी टुंग्याउन खोजेको बताए। 

उनले भने, ‘चुनावको सन्दर्भमा देखा परेका समस्या हल गर्नका लागि छानबिन समिति बनेको छ। त्यसलाई २ हप्ताको समय दिइएको छ। सायद त्यो सकिएपछि गर्न खोजिएको होला।’

हलो अड्किएको कहाँ हो?
माओवादी पदाधिकारीमा आकांक्षीको संख्या बढेपछि प्रचण्डलाई सकस पर्दै गएको हो। 

‘नेताहरुलाई चिढाउँदा निर्वाचनको बेलामा हुन सक्ने क्षतिको आंकलन गरेर पनि अध्यक्षले यो विषय थाती राख्नुभएको हो,’ एकजना केन्द्रीय नेताले भने, ‘अहिले आफ्नो साथमा रहेका कुनै पनि नेतालाई असर पर्नेगरी कुनै निर्णय नगर्ने प्रचण्डको सोचाइ बुझिन्छ।’

एकथरीले महासचिव चयन गर्न समस्या पर्ने भएका कारणले प्रचण्डले पदाधिकारी चयनको विषय अघि नबढाएको बताउँदै आएका छन्। तर, महासचिवमा मात्र नभई अन्य पदमा पनि आकांक्षीको संख्या बढेपछि समस्या आएको ती नेता बताउँछन्।

पदाधिकारी चयनको विषय यो चुनावअघि नहुने ती नेताको विश्लेषण छ। 

‘पोलिटब्युरो झनै भद्रगोल नाम पढेर सुनाइएको छ,’ उनले भने, ‘१५/१६ जनाको स्थायी कमिटी बस्छ, अरु केही हुँदैन।’

अध्यक्षलाई निर्णय दिनका लागि ‘जिम्मा’ लगाउन स्थायी कमिटी बनेको भन्दै त्यो भएपछि अरु सबै छायाँमा परेको उनी बताउँछन्।

समाजवादी केन्द्रले गराउन सक्छ ‘च्याप्टर क्लोज’
पुसमा महाधिवेशन सकेर अध्यक्ष प्रचण्डलाई पदाधिकारी टुंगो लगाउने जिम्मा दिइएको थियो। पछिल्लो पटक बसेको केन्द्रीय कमिटीबाट पदाधिकारीको नाम सुन्न पाउने आश गरेका नेताहरु यो पटक पनि निराश हुँदै फर्किएका छन्।

‘अब विस्तारै निर्वाचन लाग्न थालेको छ,’ अर्का एकजना नेता भन्छन्, ‘समाजवादी केन्द्र बनाउने कुरा, निर्वाचनको तयारी, अर्थमन्त्रीमाथिको छानबिन लगायतका विषयमा केन्द्रित हुँदा अहिले तत्काल पदाधिकारी चयनमा चासो देखिन्न।’

पछिल्ला केहीदिन माओवादी केन्द्र, एकीकृत समाजवादी र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान समेत समाजवादी केन्द्र निर्माणको दौडधुपमा छन्।

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु भेला भएर सार्वजनिक रुपमै समाजवादी केन्द्र निर्माणको अभियानमा जुटेको बताइरहेका छन्। तर, एकीकृत समाजवादीका एकजना नेता भने सो कुरा ‘काम कम, हल्ला बढी’ भएको दाबी गर्छन्।

पार्टीभित्रका आन्तरिक विवाद व्यवस्थापन र कार्यकर्ताको मनोबल कमजोर हुन नदिनका लागि पनि समाजवादी केन्द्रको अवधारणा अघि सारिएको ती नेताको बुझाइ छ।

तर, माओवादीका अर्का एक नेताले भने, ‘चुनावसम्म जाँदैन, पार्टी एकता भएर समाजवादी केन्द्र नै बनेछ भने पनि हामी बकाइदा पदाधिकारी बनाएरै एकतामा जान्छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .