राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन्।
प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने मागसहित माइतीघर मण्डलबाट जुलुस निकालिएको छ।
प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्तासँगै पार्टीका नेताहरु समेत सहभागिता छन्।
माइतीघर मण्डलबाट शुरु भएको विरोध प्रदर्शन बानेश्वर पुगेको छ। युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्व प्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठन लगायत जनवर्गीय संगठन प्रदर्शनमा सहभागी छन्।
राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा संगठन निर्माणसँगै सडक आन्दोलनतर्फ केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए। उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणवद्ध रुपमा लगिनेछ।

Shares

प्रतिक्रिया