ad ad

राजनीति


खान ठिक्क पारेको अण्डा बालेन्द्रलाई खुवाएँ : केशव स्थापित

‘उनले सुकुम्बासीको कुरा गरे, मैले फुटपाथको कुरा गरेँ’
खान ठिक्क पारेको अण्डा बालेन्द्रलाई खुवाएँ : केशव स्थापित

केशव स्थापितको घरमा काठमाडौंका मेयर बालेन्द्र शाह।


रुपक चौलागाईं
असार २९, २०७९ बुधबार १८:२६, काठमाडौँ

गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा मुख्य प्रतिस्पर्धी थिए, बालेन्द्र शाह र केशव स्थापित। बुधबार बिहान अचानक उनै बालेन्द्र र प्रतिस्पर्धी स्थापितबीच भेटवार्ता भयो।

चुनावका बेला स्थापितले बालेन्द्रलाई ‘विश्वकै फटाहा रहेछ नि’ भनेका थिए । बालेन्द्रसँग आफ्नो प्रतिस्पर्धा नै नहुने स्थापितको दाबी थियो । बालेन्द्रले चाहिँ चुनावका बेला स्थापितसँग आशीर्वाद मागे तर सार्वजनिक रुपमा कुनै गालीगलौच गरेनन् ।

चुनावको तीतो हट्न बाँकी नै रहेका बेला बुधबार अचानक भएको बालेन्द्र–स्थापितको भेट आश्चर्यजनक नै रहे पनि भेट कसरी भयो र के–कस्तो कुरा भयो भन्ने विषयचाहिँ विरोधाभाषपूर्ण देखिएको छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन्द्रले काठमाडौंमा माहोल तताइरहँदा एमाले उम्मेदवार स्थापितले सुरुमा धेरै चासो दिएनन्। मतपरिणाम सार्वजनिक हुँदै गर्दा र बालेन्द्रले अग्रता लिँदा पनि ‘कोर एरिया’मा पुगेपछि जित्ने आत्मविश्वास स्थापितलाई थियो।

तर, कोर एरिया भनिएकै ठाउँका बहुमत मतदाताले स्थापितलाई भोट दिएनन्। बालेन्द्र झण्डै दोब्बर मतसहित काठमाडौंको मेयरमा निर्वाचित भएपछि स्थापित ‘गुमनाम’ छन्।

मेयर बालेन्द्रको सचिवालयका अनुसार चाबहिल–बौद्ध सडकखण्डको अनुगमनमा निस्किएका बेलामा स्थापितसँग अचानक बाटोमा भेट भएको थियो।

‘चाबहिल एरियामा अनुगमनका लागि बिहान मेयरसाब निस्कनुभएको थियो’, मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहले भने, ‘केशव स्थापितज्यू पनि मर्निङ वाकमा निस्कनुभएको रहेछ, त्यसपछि उहाँको घरमा गएर केहीबेर बसेका थियौँ।’

सो क्षेत्रको सहरी विकास गर्नका लागि स्थापितले सुझाव दिएको उनले बताए।

तर, स्थापित भने बाटोमा ‘जम्काभेट’ नभएको बताउँछन्। तपाईंको मेयर बालेन्द्रसँग जम्काभेट भएछ नि? भन्ने नेपालखबरको प्रश्नमा प्रतिप्रश्न गर्दै स्थापितले भने, ‘कहाँ बालेनलाई खोज्दै हिँड्ने मेरो टाइम छ र?’

स्थापितका अनुसार आफ्नो घरमा आइपुगेपछि पाहुनाको रुपमा स्वागत सत्कार गरेर लगभग १ घण्टाजति कुराकानी भएको थियो।

‘अचानक घरमा आइपुगे, कफी र अण्डा खुवाएँ’
आफू व्यायाम र ध्यानमा रहेको बेलामा अचानक मेयर बालेन्द्रको टोली आफ्नो घरमा आएको स्थापितको भनाइ छ।

‘म बिहानको ध्यान गर्दै बसिरहेको थिएँ। श्रीमती आइन् र बालेन आए भनिन्,’ स्थापितले नेपालखबरसँग भने, ‘अनि तल आउँदा एउटा कुनामा बसिरहनुभएको थियो। ५/६ जना आएका थिए।’

आफ्नो घरमा आइपुगिसकेपछि घरमा बनेको परिकारले स्वागत गरेर पठाएको स्थापितले जानकारी दिए। ‘म जिम जाने मान्छे, दैनिक ५/७ वटा अण्डा खानपर्ने, त्यही रेडी थियो, त्यही खुवाइयो,’ स्थापितले भने।

तर, सडकमा अचानक जम्काभेट भएपछि तपाईंले घर लिएर जानुभएको थियो भन्ने आएको छ नि? भन्ने नेपालखबरको प्रश्नमा आक्रोशित हुँदै स्थापितले भने, ‘त्यस्तो हुँदै होइन। मैले एउटा मेरो फोटो पनि नहाल्नु भनेको थिएँ, त्यसरी कथा बनाउन कहाँ पाइन्छ? म घरमा बसिरहेका बेलामा उहाँहरु आइपुग्नुभएको हो।’

यमबुद्धको शालिक नबनाउन सुझाव
स्थापितले दिवंगत र्‍यापर अनिल अधिकारी (यमबुद्ध) को शालिक नबनाउन मेयर बालेन्द्रलाई सुझाव दिए।

‘सहरी विकास योजनामा एप्रोच ठीक छैन, त्यसले डुबाउँछ। यमबुद्धको शालिक बनाउने होइन, भनेर मैले भनेको छु’, स्थापितले नेपालखबरसँग भने।

स्थापितले यस्तो सुझाव दिएपछि आफूले ‘पार्क’ मात्र बनाउन लागेको मेयर बालेन्द्रले जवाफ दिएका थिए। ‘पार्क नै बनाउन खोजेको भए पनि, मूर्ति बनाउन खोजेको, त्यो मिल्दैन भनेर मैले भनेको थिएँ,’ स्थापितले भेटबारे भने, ‘यमबुद्ध आम मान्छे हो, विश्वकै म्युजिकको सेन्टर बनाउनेतिर सोच्नुपर्छ अबका युवाले।’

सुकुम्बासीको समाधान गर्नेबारे बालेन्द्रको चासो
भेटमा मेयर बालेन्द्रले काठमाडौंका सुकुम्बासीहरुको समस्या समाधानका लागि स्थापितसँग आइडिया मागेका थिए। ‘सुकुम्बासीको कुरा उहाँले उठाउनुभएको थियो,’ स्थापितले भने, ‘त्यहाँ अहिले अघि नबढ्नू भनेर मैले भनेको छु।’

स्थापितको नाम लिएर सुकुम्बासी बस्तीमा डोजर लिएर गएको खण्डमा आफ्नो बदनाम हुनेतर्फ स्थापित सजग रहेको बताउँछन्।

‘मैले वामदेवजीका पालामा गृहमन्त्री हुँदा सबै पक्षलाई राखेर फुटपाथको बजारको व्यवस्थापन कसरी गर्ने भनेर डकुमेन्ट बनाएको छु,’ स्थापितले नेपालखबरसँग भने, ‘मैले ५० चरणमा कुरा गरेको छु। ती कुरा भन्दा उहाँले सुन्न चाहनुभएन।’

स्थापितले भेटमा फुटपाथमा भएको समस्याबारे पनि मेयर बालेन्द्रको ध्यानाकर्षण गराएको बताए। ‘मकै पोल्ने मेसिन १ हजार थान ब्रिकेटले पोल्नेखालको चाहिन्छ भनेको थिएँ,’ आफ्ना योजना सुनाउँदै स्थापित भन्छन्, ‘१० हजार मान्छेलाई रोजगार दिने भए म सहयोग गर्छु भनेको थिएँ। उनले सुकुम्बासी समाधानका कुराहरु गरेका थिए, मैले त्यहाँ गएको अवस्थामा फसिन्छ भनेको छु।’

स्थापितले बालेन्द्रसँगको भेटको फोटो पनि नहाल्नू भनेको सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .