प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वतन्त्रबाट निर्वाचित भएका उम्मेदवारहरुको कामलाई नजिकबाट नियाल्न निर्देशन दिएको छ।
पार्टीले सोमबार एक अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै स्वतन्त्रहरुको जितबाट कतिपय पाठ सिक्नपर्ने भएको पनि उल्लेख गरेको छ।
‘हामीले मतदाताको छनोटको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ, विजयी जनप्रतिनिधिहरुको कामलाई नजिकबाट नियाल्नुपर्छ र यसबाट कतिपय पाठ सिक्नु पनि पर्छ’, जारी अपानिमा भनिएको छ।
स्वतन्त्र उम्मेदवारलाई दलीय प्रणालीको विकल्पको रुपमा प्रस्तुत गर्ने कुरालाई भने खण्डन र आलोचना गर्नपर्ने एमालेले बताएको छ।
‘निर्वाचनमा काठमाडौं महानगरपालिका र धरान तथा धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारहरुले नगर प्रमुखमा विजय हासिल गरेका छन्’, अपानिमा भनिएको छ, ‘स्वतन्त्र उम्मेदवारहरुको यस विजयका पछाडि चलायमान सहरी जनमत, मुख्य पार्टीहरुका कतिपय कमजोरी र नयाँ प्रयोगमा रमाउने युवाहरुको मनोविज्ञानलगायत विषयहरु देखिन्छन्।’
कतिपयले स्वतन्त्रको जितलाई लोकतन्त्रकै असफलताको रुपमा अपव्याख्या गर्न खोजेका भन्दै मुख्य राजनीतिक पार्टीहरुलाई कमजोर गर्ने अस्त्रको रुपमा प्रयोग गर्ने प्रयास पनि भएको जनाइएको छ।
Shares
प्रतिक्रिया