राजनीति


शेखर समूहले भन्यो : गठबन्धनले झन् भ्रष्टाचार बढायो, सरकार असफल भयो

शेखर समूहले भन्यो : गठबन्धनले झन् भ्रष्टाचार बढायो, सरकार असफल भयो

नेपालखबर
असार १७, २०७९ शुक्रबार १९:५९, काठमाडौँ

सत्ता साझेदार नेपाली कांग्रेसमा डा. शेखर कोइरालाले नेतृत्व गरेको समूहले पाँच दलीय गठबन्धन सरकारको पालमा झनै भ्रष्टाचार बढेको निष्कर्ष निकालेको छ।

अनुपम फुडल्यान्डमा दुई दिनसम्म बसेको उक्त समूहको बैठकपछि बोल्दै नेता गोविन्दराज पोखरेलले गठबन्धनले सुशासन भन्दा नीतिगत भ्रष्टाचारलाई बढावा दिएको निष्कर्ष निकालेको बताए। 

'यो सरकार केपी ओली नेतृत्वको सरकारभन्दा बिग्रियो। अब हामी हामी हरेक प्रदेश र पालिकासम्म जनपरिचालन गर्छौँ', उनले भने, 'पार्टीलाई विधि विधानअनुसार चलाउन दबाब दिँदैछौँ। सरकारमाथि पनि खवरदारी बढाउँछौँ।'

पोखरेलले दुई दिनसम्मको बैठकमा विभिन्न  पाँचवटा बुँदामा छलफल चलाइएको पनि बताएका छन्। 

'हामीले सरकार सञ्चालनबारेमा कुरा गर्यौँ। केपी ओलीको हामीले विरोध गरेका थियौँ। तर यो सरकारले सरकारले जनजीविका, मल आपूर्ति, आर्थिक सुधारमा ध्यानै दिन सकेन। देशको बिग्रँदो आर्थिक अवस्थामा जनतालाई राहत राहत दिन सकेन। जनजीविकाबारे त सरकारले केही गरेन।'

उनले सरकारमा आउनुअघि पार्टीले पनि सुशासनबारे प्रतिवद्धता गरेको स्मरण गराए। 'हिजो केपी ओलीले आफूमातहत राखेका राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धानसहितका कार्यालय फिर्ता गर्ने कुरा थियो। तर हाम्रा सभापतिले तिनलाई मातहत नै राखेर गलत गरेका छन्', उनले भने, 'यो बैठकले बजेट बनाउँदा आर्थिक नीतिको खिल्ली उडाइएको निष्कर्ष निकालेको छ। बजेट निर्माणमा व्यापक रुपमा नीतिगत भ्रष्टाचार भयो।'

उनले यो सरकारले परराष्ट्र नीति पनि राम्ररी अघि बढाउन नसकेको निष्कर्ष बैठकले निकालेको बताए। 'एउटा भरपर्दो परराष्ट्र नीति पनि यो सरकारले बनाउन सकेन', उनले भने, 'सभापतिजी नेपाली कांग्रेसको भन्दा गठबन्धनको सभापति भए। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई सभापति हो भन्ने देखाउन सकेनन्।'

उनले यो गुटभेला भन्दा मुख्य कुरा पार्टीलाई बलियो बनाउने र विधान विधि अनुसार चलाउन दबाब दिने गरी बसेको बताए। 

'अहिले देशको अर्थतन्त्र ओरालो लाग्यो, सरकारले मल दिएन, सरकार असफल भयो। हामी समानान्तर गतिविधि गर्दैनौँ। हाम्रो उद्धेश्य कांग्रेसलाई बलियो बनाउने हो', उनले भने, 'सरकारले गरेका नराम्रा कामको पनि विरोध गर्छौँ। हामी समानान्तर गतिविध गर्दैनौँ। हामी सभापति र सरकार दुवैलाई दबाब दिएर जान्छौँ। भागबन्डा दिएनन् भनेका छैनौँ।'

उनले महाधिवेशनमा आफूहरुको पक्षमा उभिएका ४० प्रतिशतलाई अपमान गरिएको पनि बताए। 'हामीले ती महाधिवेशन प्रतिनिधि त टिपेर ल्याएको होइन', उनले भने, 'तर सभापतिजीले तिनीहरुको अपमान गर्नुभयो। कांग्रेसका तल्लो तहका मानिसलाई पनि सम्मान गर्नुपर्यो। त्यो उहाँबाट भएन, सभापतिजीबाट कसैको पनि अपमान गरिनु भएन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad