राजनीति


विदेशका नेपालीलाई मतदानको सुनिश्चितता खोज्दै कांग्रेस महामन्त्रीद्वय आयोगमा

विदेशका नेपालीलाई मतदानको सुनिश्चितता खोज्दै कांग्रेस महामन्त्रीद्वय आयोगमा

नेपालखबर
असार ७, २०७९ मंगलबार १७:३७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनसम्बन्धी कानूनमा भएका केही व्यवस्थालाई सच्याउन आवश्यक रहेको बताएका छन्।

मंगलबार विदेशमा रहेका नेपालीहरुले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुगेका महामन्त्री थापाले कानूनमा भएको व्यवस्थामा कम्तिमा पनि ५ ठाउँमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए।

उनले कानूनमा भएका केही व्यवस्थालाई सच्याउन सके विदेशमा रहेका नेपालीहरुको नामपनि मतदाता नामावलीमा समावेश गर्नसक्ने भन्दै अबको ८÷१० दिन भित्रमा निर्वाचन ऐनको विषय संसदमा पेस गर्ने प्रतिवद्धता जनाए।

महामन्त्री थापाले विदेशमा रहेका नेपालीहरुले मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाका लागि चाँडै नै राजनीतिक समझदारी कायम गरी संसदमा पारित गर्ने कुरामा आफ्नाे भूमिका रहने बताए। उनले सकेसम्म आगामी साउन १ गतेबाट नै नेपाल बाहिर रहेका नेपालीहरु नाम मतदाता नामावलीमा टिपाउने कुरामा पनि छलफल भएको बताए। उनले विदेशमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीमा टिपाउनका लागि छलफल शुरु गर्ने बताए।

उनले भने, ‘कानूनमा भएको व्यवस्थामा कम्तिमा पनि ५ ठाउँमा यसलाई बदल्नुपर्छ। जसको आधारमा नेपालभन्दा बाहिर रहेका नेपालीहरुलाई मतदाताको रुपमा सूचित पनि हुन्छ, नाममा पनि राख्न सकियो। त्योसँगै मतदान गर्न पाउने अवस्था बनाउन सकिन्छ। ८/१० दिन भित्रमा निर्वाचन ऐनको विषय संसदमा पेस गर्नेछौं र त्यसका निम्ति राजनीतिक समझदारी कायम गरेर छिटो त्यसलाई संसदमा पारित गरेर पास गर्ने कुरामा हाम्रो भुमिका अपेक्षा गर्नुभएको छ। जुन हामी गर्नेछौं नै। अर्को श्रावण १ गतेबाट नै नेपाल बाहिर रहेका नेपालीहरु नेपाल बाहिर हुनुहुन्छ, नेपालमा नभएको कारण मतदाता नामावलीमा नाम लेखाउन छुटेको हुनुहुन्छ। तर मतदानको बेलामा फेरि नेपालमा आउनुहुन्छ। कम्तिमा उहाँहरुको नामावली संकलन गर्ने कुरा काठमाडौंमा अन्य जिल्लाको गरेजस्तै गरी यसलाई अघि बढाउन भनेका छौँ। सम्भव भएसम्म साउन १ गतेबाट नै नेपाल बाहिरका नेपालीहरुलाई मतदातामा नाम संकलन गर्ने कुरालाई अघि बढाउने छलफल शुरु गर्नेछौँ।’

महामन्त्री थापाले बुधबारबाट काठमाडौंमा स्थानीयका लागि छुट्टै मतदाता नामावली संकलन केन्द्र बनाइ बाहिरी जिल्लाका लागि फरक मतदाता नामावली संकलन केन्द्रको स्थापना गर्ने बारेमा छलफल भएको पनि बताए। उनले स्थानीय तहमा नै नामावली संकलन गर्ने कुरामा पनि छलफल भइरहेको बताए।

महामन्त्री थापाले बाहिरी र काठमाडौंका सबैलाई एकै ठाउँमा मतदाता नामावली संकलनको कार्य गर्दा भीड भएकोले त्यसलाई मध्यनजर गरेर केही स्थानमा बाहिरी जिल्लाका लागि मतदाता नामावली संकलन कार्यालय बनाइने पनि बताए।

उनले निर्वाचनलाई निर्माण गरिने आचारसंहिता कसैले पन मान्ने नगरेको उल्लेख गर्दै सबैले मान्ने किसिमको आचारसंहिता बनाएर कडाईका साथ लागू गर्नुपर्ने बारेमा पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल भएको बताए। उनले आचारसंहिताको सन्दर्भमा अव्यवहारिक कुरालाई पहिल्यै हटाएर निर्वाचनलाई मितव्ययी बनाउने, प्रभावकारी बनाउने सन्दर्भमा पनि छलफल भएको बताए।

उनले निर्वाचनको तोकिएको सीमाअनुसार खर्च हुने नगरेको भन्दै साँच्चिकै निर्वाचनको खर्च घटाउन गर्न सकिने कामको बारेमा छलफल भएको बताए।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकारसँग सम्बन्धित विषयमा छलफल भएको बताए।

उनले विदेशमा रहेका नेपालीहरुले मताधिकारको प्रयोग गर्न पाउने कुरालाई निर्णयमा पुर्याउनका लागि छलफल गरेको बताए। महामन्त्री शर्माले नेपाल बाहिर रहेका ४० लाख नेपालीहरुको भावना गाँस्ने कुरालाई मध्यनजर गरेर यो काम अघि बढाइएको बताए। उनले विदेशमा बसेका नेपालीको भोट चल्ने दिन बनाउन यो काम थालिएको बताए।

नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले आज निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त थपलियासँग विदेशमा रहेका नेपालीहरुले पनि आगामी निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए।

महामन्त्री शर्माले भेटमा प्रमुख आयुक्त थपलियाले निर्वाचन ऐनलाई सच्याउने कुरामा संसदमा राजनीतिक दलहरूसँग समझदारी गरी पेस गर्न र पास गर्ने वातावरण मिलाइदिन आग्रह गरेको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .