ad ad

राजनीति


रवि लामिछानेका दाजुभाइले यसरी गिजोले ‘स्वतन्त्र’ अभियान

रविको कार्यक्रमलाई ‘स्वतन्त्र उम्मेदवारी अभियान’ले चिनेन
रवि लामिछानेका दाजुभाइले यसरी गिजोले ‘स्वतन्त्र’ अभियान

नेपालखबर
असार ७, २०७९ मंगलबार ११:१३, काठमाडौँ

ग्यालेक्सी टेलिभिजन छाडेर राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले आफ्नो फेसबुकको टाइमलाइनमै लेखेका छन्– राष्ट्रिय सभागृह, काठमाडौं मंगलबार, असार ७ गते, १ बजे ।

अर्थात, रवि लामिछानेले आज असार ७ गते राष्ट्रिय सभागृहमा भेलाको आयोजना गरेका छन् ।

गत स्थानीय चुनावमा बालेन्द्र शाहलाई चुनाव जिताउन सहयोग गरेको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ ले आगामी असार १७ र १८ गते काठमाडौंमा राष्ट्रिय भेलाको तयारी गरिरहेको छ । सो अभियानले अहिले बुटवल, इटहरी, दमक लगायतका स्थानमा सुझाव संकलन कार्यक्रम गरिरहेको छ । तर, स्वतन्त्र उम्मेदवारी अभियानले राष्ट्रिय भेलाको तयारी गरिरहेकै बेला रवि लामिछानेले भने आज छुट्टै भेला बोलाएका हुन् ।

स्वतन्त्र अभियन्ता भन्छन्– रवि लामिछानेको भेला छुट्टै हो 
असार १७ र १८ मा स्वतन्त्र उम्मेदवारी अभियानको राष्ट्रिय भेलाको तयारीका लागि देश दौडाहामा लागेका डम्बर साहुले नेपालखबरसँग भने, ‘रवि लामिछानेजीले व्यक्तिगत रुपमा कार्यक्रम गर्न लाग्नुभएको होला, यो कार्यक्रम स्वतन्त्र उम्मेदवारी अभियानसँगको जानकारी वा सहकार्यमा आयोजना गरिएको होइन ।’

रवि लामिछानेले स्वतन्त्र रुपमा भेलाको आयोजना गर्न, उम्मेदवारी घोषणा गर्न वा नयाँ पार्टीसमेत खोल्न पाउने उनको अधिकार रहेको साहुले बताए । झापामा रहेका रहेका साहुले नेपालखबरसँग भने, ‘रविजीसँग अहिले हाम्रो छलफल र सहकार्य छैन ।’

आफूहरुले सुरु गरेको स्वतन्त्र उम्मेदवारी अभियानले असार १७ र १८ गतेको भेलाबाट आगामी बाटो तय गर्ने साहुले बताए । कसरी अगाडि जाने भन्नेबारेमा नीति नै तय नभई कसैले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्दैमा उनीहरुलाई सघाउन नसकिने उनले बताए । अभियन्ता साहुले भने, ‘हाम्रा केही मान्यता र मापदण्डहरु छन्, कसैले आफूखुशी उम्मेदवारी घोषणा गर्दैमा उसैलाई सघाइहाल्ने भन्ने हुँदैन, भोलि मनोनयन दर्ता गर्ने बेलामा ऊभन्दा राम्रो मान्छे आयो भने राम्रोलाई सघाउनुपर्ने हुन्छ ।’

पछिल्लो समय आत्मकेन्द्रित सोचाएका साथ स्वतन्त्र बन्ने र उम्मेदवारी घोषणा गर्ने लहर चलेको साहुले बताए । यसरी आफूखुशी उम्मेदवार बनेकाहरुको विगतको पृष्ठभूमिसमेत हेरेर मात्रै निर्णय लिइने साहु बताउँछन् । उनी भन्छन्, स्वतन्त्र हुँ भनेर मात्रै पुग्दैन उसको विगतको पृष्ठभूमि र आचरणको पनि मूल्यांकन गर्नुपर्ने हुन्छ ।’

त्यसो त रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेर राजनीतिमा लाग्ने घोषणा गर्नुअघि नै डम्बर साहु, सुमन सायमी र सुदीप श्रेष्ठहरुको टिमले असार १७ र १८ मा राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरिसकेको थियो । यो निर्णइ कार्यान्यन गर्न साहु र श्रेष्ठ देश दौडामा सक्रिय रहेकै बेला रविले राजनीतिमा आउने घोषणा गरेका हुन् । र, आज राष्ट्रिय सभागृहको भेला पनि उनले स्वतन्त्र उम्मेदवारी अभियानसँग सल्लाह नगरी एक्लै आयोजना गरेका हुन् ।

रविले नयाँ दल घोषणा गर्छन् या स्वतन्त्र रुपमै उम्मेदवारी तय गर्छन्, यो आजै थाहा हुनेछ ।

के छ रविको तयारी ?
‘अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहन्छु । म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’ राजनीतिमा प्रवेश गर्दैगर्दा रविले आफ्नो भिडियो सन्देशमा भनेका छन्, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केही पनि होइन । यसलाई मेरोतर्फबाट मैले यो समाजलाई फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।’

रविले आज आफ्ना सबै कुरा भन्ने बताएका छन् । भिडियो सन्देशमा उनले भनेका छन्, ‘म आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहन्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्नेबारे थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनुहोला । म आफ्नो सबै कुरा त्यहाँ भन्नेछु ।’

कार्यक्रममा आफूले खानाको व्यवस्था गर्न नसक्ने बताउँदै रविले भनेका छन्, ‘तपाईका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन । तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ । यदि यति नै पर्याप्त छ भने आउनोस्, राष्ट्रिय सभागृहमा बसेर एउटा नयाँ मार्ग कोर्नेबारे सल्लाह गरौँ ।’

आफूसँग सन्ततिहरुको सुनौलो भविश्य कोर्न सक्ने योजनाहरुसमेत रहेको रविको दाबी छ । उनी भन्छन्, ‘वर्षातको समय छ । पानी पर्ला, हुरी चल्ला । चट्याङ पर्ला । मसँग त तपाईलाई दिने छाता पनि छैन । तर, केही यस्तो योजनाहरु छन् । जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविश्य सुनौलो बन्न सक्छ । भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्नेरहेछ । अब म तयार भएँ । तपाई तयार हो ? आउनोस् । नयाँ बाटो तय गरौं । सल्लाह गरौँ ।’

टीभी छाडेर राजनीतिमा लागेको घोषणा गर्नुअघि रवि लामिछानेले राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने प्रयास गरेका थिए । यसका लागि उनले राप्रपाका नेताहरुसँग केही चरण वार्तासमेत गरेका थिए । तर, अन्तिममा उनी राप्रपामा नजाने निष्कर्षमा पुगे ।

यसबीचमा रविले कांग्रेसमा प्रवेश गरेर टिकट लिन लागेको चर्चा पनि चल्यो । तर, यसको कुनै पुष्टि भएको छैन । शायद आज राष्ट्रिय सभागृहबाट उनले यसको जवाफ दिनेछन् ।

पछिल्लो समयमा रवि नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने तयारीमा रहेको चर्चा चले पनि उनले आफ्नो आगामी यात्रा आजसम्म गोप्य राखेका छन् । यही गोप्यता भंग गर्न लामिछानेले आज सभागृहमा कार्यक्रम राखेका हुन् ।

दाजुले गिजोलेको वातावरण
यसैवीच असार १७–१८ मा राष्ट्रिय भेलाको तयारी गरिरहेको ‘स्वतन्त्र उम्मेदवार अभियान’ सँग सल्लाह नगरी रवि लामिछानेले राष्ट्रिय सभागृहमा कार्यक्रम गर्न लागिरहेका बेला उनका दाजु हरिशरण लामिछानेले सुमन सायमी, पुकार बम, विश्व साइकल यात्री पुष्कर शाह हरुको सामुहिक तस्बिर सार्वजनिक गर्दै काठमाडौं ३ बाट उम्मेदवार बन्ने घोषणा गरेपछि अर्को भद्रगोल सिर्जना भएको छ ।

भेलाको तयारीमा लागेका ‘स्वतन्त्र उम्मेदवार अभियान’ का एक अभियन्ता भन्छन्, ‘१७–१८ को भेला हरिशरणजीले आयोजना गर्नुभएको होइन, तर मैले उक्त भेला गर्दैछु भनेर मिडियामा छपाउनुभएछ र काठमाडौं ३ मा चुनाव लड्ने घोषणा पनि आफैं गर्नुभएछ । राष्ट्रिय भेलाले ठोस निर्णय नगरिकन हामीले कसैलाई पनि उम्मेदवार घोषणा गरेका छैनौं, अहिले स्वतन्त्र उठें भन्दैमा हामीले उनीहरुलाई आँखा चिम्लेर समर्थन गरिहाल्ने कुरो आउँदैन ।’

असार १७–१८ को भेलामा काठमाडौंका मेयरका निवर्तमान उम्मेदवार सुमन सायमीको भने नेतृत्वदायी सहभागिता रहने अभियन्ता डम्बर साहुले नेपालखबरलाई बताए । उनले भने, ‘हामीले सुमन दाइको नेतृत्वमा स्वतन्त्र अभियानलाई अगाडि बनाउन चाहेका छौं ।’

स्वतन्त्र अभियानमा लाग्दा व्यक्तिगत लाभ हुने देखेर कसैले हतार–हतार वीचमा छिर्दै उम्मेदवारी घोषणा गर्नुभन्दा असार १७–१८ को राष्ट्रिय भेलासम्म पर्खेर त्यसैको निर्देशनका आधार सामुहिक रुपबाट अघि बढ्नु उपयुक्त हुने अभियन्ताहरुको तर्क छ । तर, यसमा हरिशरण लामिछानेको तरिकाले व्यक्तिवादलाई प्रशय दिने ती अभियन्ताले गुनासो गरे ।

त्यसो त हरिशरणले स्वतन्त्र उम्मेदवारी अभियानलाई मात्र होइन, स्वयं भाइ रवि लामिछानेलाई पनि गिजोलेका छन् । फिल्मी शैलीमा राजनीति नहुने भन्दै उनले काठमाडौं ३ मा आफैं उम्मेदवारी घोषणा गरेर रविको ठाउँ ओगट्न खोजेका छन् । रविले पनि आफ्नो घर पायकको यही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेका बेला हरिशरण एक कदम अगाडि बढेका हुन् ।

बालेन्द्रको समर्थन कसलाई ?
यसैवीच स्वतन्त्र उम्मेदवार बन्न अघि सरेका सबैले आफूलाई बालेन्द्र शाहको समर्थन रहेको देखाउन खोजेका छन् ।  स्वतन्त्रहरुको राष्ट्रिय भेला नहुँदै काठमाडौं १ मा व्यक्तिगतरुपमा उम्मेदवारी घोषणा गरेका पुकार बमले आफूलाई बालेन्द्रको साथ रहने विश्वास लिएको देखिन्छ । रवि लामिछाने पनि आफूलाई बालेन्द्र शाह निकट देखाउन प्रयासरत छन् ।

त्यस्तै काठमाडौं ३ मा आफूखुशी उम्मेदवारी घोषणा गरेका हरिशरण लामिछानेले पनि बालेन्द्र र सुमन सायमीको साथ रहेको देखाउन खोजेका छन् । काठमाडौं ५ मा उम्मेदवारी घोषणा गरेकी रञ्जु दर्शनाले पनि बालेन्द्रलाई स्थानीय चुनावमा लगाएको गुन फर्कने अपेक्षा गरेको देखिन्छ ।

उता, स्थानीय चुनावमा बालेन्द्र लगायत देशैभरिका स्वतन्त्र उम्मेदवारलाई सघाएका स्वतन्त्र उम्मेदवार अभियानको संयोजन गरिरहेका डम्बर साहु भन्छन्– बालेन्द्रको साथ हाम्रो अभियानलाई रहन्छ । हामी सुमन सायमीको नेतृत्वमा अघि बढ्ने तयारी गरिरहेका छौं ।

विवेकशीलमा चार गुट
यसैवीच आफ्नै दलगत राजनीति अघि बढाउन नसकेर स्वतन्त्रका पछि दौडिएका विवेकशील पार्टीका नेताहरु अहिले चारवटा गुटमा छितरिएका छन् । विभिन्न गुटमा विभाजित विवेकशीलका नेताहरु ‘स्वतन्त्र’ कै वरिपरि फन्को मारिरहेका छन् । उनीहरुमा अराजकता यस्तो देखिएको छ कि पार्टीबाट कुनै निर्णय नगरी आफूखुशी स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । विवेकशीलका नेता भएर पनि व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्नेमा रञ्जु दर्शना र पुकार बम अगाडि देखिएका छन् ।

विवेकशील पार्टीमा नेता मिलन पाण्डेको एउटा गुट भने उनको विरुद्धमा निर्देश तिम्सिनाको अर्को गुट सक्रिय छ । रञ्जु र पुकार एउटै गुटमा छन् । उनीहरुले आफूलाई मिलन पाण्डे निकट भने तापनि पार्टीको निर्णय नहुँदै अराजक रुपमा उम्मेदवारी घोषणा गरेकाले अब पुकार र रञ्जुलाई मिलन गुटमा रहेको मान्न नसकिने सो समूहका नेताहरु बताउँछन् ।

रञ्जु र पुकार अब विवेशकीलको ‘ब्राण्ड’ कमजोर भएको भन्दै स्वतन्त्र बन्ने मुडमा छन् भने मिलन चाहिँ यो स्वतन्त्रको हावा केही महिनापछि सेलाउने र पार्टी अघि बढ्ने लाइनमा छन् । विवेकशील पार्टीमा कर्मा तामाङको अर्को गुट छ । उनले निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टीसमेत दर्ता गरिसकेकी छिन् ।

उता पूर्वसाझा पार्टीका रवीन्द्र मिश्रको समूह पनि विवेकशील साझा पार्टीको एउटा बलियो गुटका रुपमा रहेको छ ।

स्थानीय चुनावपछि स्वतन्त्रको हावा तीव्ररूपमा चले सँगै विवेकशील साझा पार्टीमा यसको प्रभाव परेको छ । 

अन्त्यमा, विवेकशील साझामा एक समय सक्रिय बनेका राजनीतिक विश्लेषक मुमाराम खनालको व्यंगात्मक टिप्प्णीबाट स्वतन्त्र अभियानको बिट मारौं–
पहिले पार्टी छोडेर ’स्वतन्त्र’ हुने रे ! अनि ’स्वतन्त्र’हरू मिलेर फेरि पार्टी बनाउने रे! हे दैव, राजनीति सप्रेरै छोड्ने भयो!

 

        

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .