राजनीति


ओलीको दाबी : अमेरिकी सैनिक जहाज र व्यारेक राख्ने गरी देउवाले प्रक्रिया अघि बढाइसके

ओलीको दाबी : अमेरिकी सैनिक जहाज र व्यारेक राख्ने गरी देउवाले प्रक्रिया अघि बढाइसके

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार ३, २०७९ शुक्रबार १७:२१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफहरुले 'च्याप्टर क्लोज' गरिसकेको सैन्य सम्झौता एसपीपीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि अघि बढाएको आरोप लगाएका छन्। 

अमेरिकी राज्य उटाहको नेशनल गार्डको व्यारेक बनाउने गरी देउवाले प्रक्रिया अघि बढाइसकेको दाबी उनले शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रियसभा गृहमा सम्बोधनका क्रममा गरेका हु्न्। 

'इन्डो प्यासिफिक रणनीतिअन्तर्गत यसलाई राखेपछि हामीले यसअघि नै अस्वीकार गरिसकेको हो', उनले भने, 'तर अहिले एउटा अन्तिम ड्राफ्टमा यहाँ अमेरिकी सेनाका साना सैन्य जहाज राख्ने र ब्यारेक पनि बनाउने कुरा आएको छ।'

उनले अमेरिकी राज्य उटाहस्थित नेशनल गार्डसँग नेपाली सेनाले सैन्य सम्झौता गर्नु गलत हुने पनि बताएका छन्। 

'त्यसबेला २०७२ सालमा सुशील कोइरालाको समयमा चलेको पनि भूकम्पमा विपद् व्यवस्थापनको सहयोग लिने मात्रै थियो', उनले भने, 'एमसीसी पास गरेपछि गठबन्धन हौसिएर अमेरिकी सेना ल्याउने गरी हस्ताक्षर गर्न मात्रै बाँकी राखेको छ।'

उनले अहिले भएको यो ड्राफ्टबारे जवाफ दिनुपर्ने उनले बताए। 'यो के हो? कहिले कसले षड्यन्त्र गर्यो उत्तर चाहिन्छ', उनले भने, 'स्टेट पार्टनरसिप प्रोग्राममा भाग नलिने भनेर टुंगो लागेको थियो। तर अहिले त्यो भन्दा गम्भीर कुरा आएको छ।'

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको नेतृत्वमा सम्झौता गरिएको भन्ने कुरालाई झुट र बेइमानीको संज्ञा दिए। 'झुट र बेइमानीको पनि एउटा हद हुन्छ नि!', उनले भने, 'त्यस्तो भ्रमको पछि कोही पनि नलाग्नू।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .