अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी सांसद अमि बेरासँग भेटवार्ता गरेका छन्।
क्यापिटल हिलस्थित बेराको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल र अमेरिकाका संसदका माध्यमबाट द्विपक्षीय सम्बन्ध बढाउने विषयमा विचार आदान प्रदान भएको वासिंगटनस्थित नेपाली दूतावासले उल्लेख गरेको छ।
अमेरिकाका प्रभावशाली सांसदसँगको भेटमा राजदूत खत्रीले अमेरिकी संसद् अन्तर्गत ‘नेपाल ककस’ ब्युँताउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शेर बहादुर देउवा र प्रधानसेनापति प्रभूराम शर्माको अमेरिका भ्रमणअघि राजदूत खत्रीले अमेरिकाका विदेश र रक्षा मन्त्रालयका अधिकारी, सांसद र त्यहाँस्थित नेपाली समुदायसँग छलफल गरिरहेका छन्।
राजदूत खत्रीले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र रक्षा सहायकमन्त्री लिन्ड फोर्डसँग भेटवार्ता गरिसकेका छन्। ती भेटमा राजदूत खत्रीले प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे छलफल गरेका थिए। नवनियुक्त राजदूत खत्री कार्यभार सम्हाल्न गत मार्च १२ मा अमेरिका पुगेका थिए।
प्रधानसेनापति शर्माले असार १३ गते अमेरिकाको औपचारिक भ्रमण शुरु गर्दैछन्। त्यसलगत्तै प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाँदैछन्। मंगलबार संसदमा बोल्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेको बताएका थिए। तर उनले भ्रमणको यकिन मिती बताएनन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको तयारी अघि बढेको छ। काठमाडौस्थित अमेरिकी दूतावास र वासिंगटनस्थित नेपाली दूतावासले भ्रमणका एजेन्डामा गृहकार्य गरिरहेका छन्।
राजदूत खत्रीले चार दिनअघि भेटेका सांसद बेरा अमेरिकी संसदको एसिया प्रशान्त, मध्य एशिया र अप्रसार उपसमितिका अध्यक्ष हुन्।
उनी सन् २०२० को फेब्रुअरी महिनामा द्विपक्षीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपाल भ्रमणमा आएका थिए।
अमेरिकी संसदमा ‘नेपाल ककस’ ब्युँत्याउने प्रयास
नेपाली राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीसँग अमेरिकी कंग्रेसअन्तर्गत नेपाल ककस ब्युँताउने विषयमा छलफल गरिसकेका छन्। नेपाली दूतावासका अनुसार अमेरिकी पक्षले यसबारे सकारात्मक जवाफ दिएको छ।
गत अप्रिलमा राजदूत खत्रीले अमेरिकी उपसहायक विदेशमन्त्री केली किडरलिङसँग विदेश मन्त्रालयमा गरेको भेटमा ककस ब्युँताउनेबारे छलफल गरेका थिए।
सन् २०११ को मार्चमा अमेरिकी संसदअन्तर्गत पहिलोपटक नेपाल ककस गठन भएको थियो। अमेरिकाको रिपलब्लिकन पार्टीका सांसद एन्डर क्रिन्स र डेमोक्रेटिक पार्टीका सांसद जरेड पोलिसले उक्त ककसमा सहअध्यक्षता गरेका थिए।
तत्कालीन नेपाली राजदूत डा. शंकर शर्माको पहलमा स्थापित अमेरिकी सांसदहरुको ककसले अमेरिका–नेपाल सम्बन्ध र सहकार्यका क्षेत्रबारे छलफल गर्ने तथा अमेरिकी सरकारलाई नेपाल मामिलाबारे राय सुझाव दिने लक्ष्य लिएको थियो।
नेपाल–अमेरिका राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि सांसदहरुको उक्त फोरमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको थियो।
उक्त ककसले अमेरिका र नेपालबीचका सांसद तथा राजनीतिज्ञलाई अन्तर्क्रिरयाका लागि नयाँ बाटो खोलेको थियो। तर समयक्रममा उक्त नेपाल ककस सुस्ताएर गयो।
खत्री अमेरिका पुगेसँगै उनले अमेरिकी विदेश मन्त्रालय र त्यहाँका सांसद समक्ष नेपाल ककसलाई ब्युँताउन आग्रह गर्दै आएका छन्।
Shares

प्रतिक्रिया