राजनीति


नेपालको सुरक्षित भविष्यका लागि राप्रपाले हिँडेको बाटो नै सही र उपयुक्त छः थापा

नेपालको सुरक्षित भविष्यका लागि राप्रपाले हिँडेको बाटो नै सही र उपयुक्त छः थापा

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ६:४७,

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।

नेपालको राष्ट्रिय एकताको आधारहरुको पहिचान र पुनःस्थापनामा आवश्यक परे हस्तक्षेपकारी भूमिका निर्वाह गर्न प्रवासी नेपालीलाई थापाले आग्रह समेत गरे।

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको बाल्टिमोरमा आयोजित तेश्रो अधिवेशनको समुदघाटन गर्दै अध्यक्ष थापाले नेपालका अन्य राजनीतिक दलभन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिँडिरहेको बताउँदै कतिपयले दुस्साहसपूर्ण बाटो भने तापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको बाटो सही र उपयुक्त रहेको बताए।

‘स्वदेश विदेश जहाँ गए पनि कतिपय मान्छेले मलाई राप्रपाले दुस्साहसपूर्ण बाटो हिडेको भन्छन्’, अध्यक्ष थापाले भने, ‘हामीले हिँडेको बाटो सजिलो छैन कठिन छ तर नेपालको सुरक्षित भविष्यको लागि राप्रपाले हिँडेको बाटो सही र उपयुक्त छ।’ उनले आफूहरु राप्रपाले लिएको बाटोबारे हामी आम नेपालीलाई बुझाउँदै हिडिरहेका र एकदिन सफल भएरै छाड्ने दावी समेत गरे। उनले आफूहरुको निष्ठा र आदर्शमा शंका नगर्न आग्रह गरे।

नेपालमा पटकपटक आन्दोलन र परिवर्तन भएको तर पटकपटकका अभ्यास असफल हुँदै गइरहेका छन् भन्दै अध्यक्ष थापाले नेपालमा नेपाली मात्रको प्रयासले अर्को एउटा राष्ट्रवादी आन्दोलनको खाँचो रहेकोमा जोड दिए। राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासमा पार्टी र पार्टीभन्दा माथि उठेर विवेकको प्रयोग गर्ने अवस्था नरहेको भन्दै उनले देशमा डरलाग्दा ठूल्ठूला भ्रष्टाचारका काण्डहरु भइरहेको तर जनता पार्टीका आधारमा विभाजित हुँदा भ्रष्टाचारीले सजिलै उन्मुक्ति पाउने गरेकोमा चिन्ता व्यक्त गरे।

समारोहमा राप्रपाका प्रवास संघका प्रमुख, सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले विदेशमा राष्ट्रियताको भावना प्रचुर रहेको बताउँदै राष्ट्रवादी आन्दोलनमा प्रवासको साथ, सहयोग र समर्थन रहने उल्लेख गरे।

कार्यक्रममा प्रवासी नेपाली एकता समाजका नेताहरू प्रेम चौलागाईं, लोकनाथ तिवारी, दिपु भुषाल, राजेन्द्र शेरचन, राधा शर्मा, मेरिल्याण्ड स्टेट काउन्सिलका डेलिगेट हरि भण्डारी, महावाणिज्यदूत एवं चर्चित लोक गायक प्रेमराजा महत लगायतले शुभकामना व्यक्त गरेका थिए।

अधिवेशनले बोस्टन निवासी राजेन्द्र शेरचनलाई अध्यक्ष, दिपु भुषाल, राधा शर्मा, नरेन्द्र शाहलाई उपाध्यक्ष, नवराज खड्का महासचिव, नरेन्द्र रावल सचिव र रामशरण श्रेष्ठलाई कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा राप्रपा अध्यक्ष थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका छन्। अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासमा आयोजना भएको नेपाली समुदायसंगको छलफल र अन्तरक्रियामा सहभागी हुनेछन्। यसैगरी अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad