ad ad

राजनीति


कर्मचारीकै भरमा चल्दैछ जनप्रतिनिधिविहीन बुढीगंगा

असार १० गते नगरपालिकाको बजेट ल्याउन समस्या
कर्मचारीकै भरमा चल्दैछ जनप्रतिनिधिविहीन बुढीगंगा

गोकुल जोशी
जेठ ३०, २०७९ सोमबार १६:२४, कञ्चनपुर

देश संघीयतामा गएपछि दोस्रोपटक स्थानीय निर्वाचन वैशाख ३० गते सम्पन्न भई देशैभरिका स्थानीय तहहरु जनप्रतिनिधिले सम्हालिसकेका छन्। तर, सुदूरपश्चिमको बाजुरास्थित बुढीगंगा नगरपालिका यसको अपवाद बनेको छ।

अहिले सबै स्थानीय तह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्न र बजेट बनाउनमा व्यस्त छन्। तर, बुढीगंगा भने जनप्रतिनिधिविहीन अवस्थामा छ।

बुढीगंगामा ३० वैशाखमा बुथकब्जा र निर्वाचनमा धाँधली भएको भन्दै नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद भएको थियो। त्यसपछि मतगणना रोकिएको थियो।

विवादपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरा संयोजकत्वको आयोगको टोलीले स्थलगत अध्ययन गरेको थियो। निर्वाचनका क्रममा सुरक्षामा लापरवाही गरेको भन्दै सिडिओसहित दुई सुरक्षा निकायका प्रमुख पनि फेरिएका थिए।

कांग्रेस र एमालेबीच पुनः मतगणना गर्ने वा पुनः मतदान भन्ने विषयमा उत्पन्न विवादको छिनोफानो गर्दै आयोगले जेठ १२ गते बुढीगंगा नगरपालिकाका १० वटै वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो।

आयोगले बुढीगंगामा पुनः चुनावको मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिएको थियो। तर, त्यहाँ अहिलेसम्म निर्वाचन मिति तोकिएको छैन।

जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिएपछि अहिले बुढीगंगा नगरपालिका जनप्रतिनिधिविहीन बनेको निवर्तमान उपमेयर तारा खाती थापाले नेपालखबरलाई बताइन्।

जनप्रतिनिधिविहीन रहेको बुढीगंगा नगरपालिका कर्मचारीको भरमा चलेको छ। नगरपालिकाको बेभसाइटमा अहिल पनि निवर्तमान नगरप्रमुख दीपक विक्रम शाह र उपप्रमुख तारा खाती थापाको नाम हटाइएको छैन। जबकि उनीहरुको पदावधि जेठ ५ मै सकिइसकेको छ।

कर्मचारीहरुले नगरपालिका र वडाबाट प्रदान गर्न सक्ने प्रशासनिक सेवा प्रदान गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र ओखेडाले बताए।

‘जनप्रतिनिधि नहुँदा पनि कर्मचारीतन्त्रमार्फत गर्न सकिने काम हामीले गरिरहेका छौँ, अहिले नीति तथा कार्यक्रम बनाइरहेका छौँ,’ उनले भने, ‘योजनाको अनुगमन पनि भइरहेको छ।’

आफ्नै नेतृत्वमा ७ सदस्यीय समिति बनाएर नगरका आयोजनाहरुको भुक्तानीका लागि अनुगमन भइरहेको ओखेडाले बताए।

तर, जनप्रतिनिधि नहुँदा असार १० भित्र नगरको अगामी आर्थिक वर्षको बजेट ल्याउन नसकिने प्रमुख प्रशासकीय अधिकृत ओखेडा बताउँछन्।

उनी भन्छन्, ‘जनप्रतिनिधि नहुँदा उहाँहरुमार्फत प्रदान हुने अधिकांस सेवा ठप्प छन्, तीमध्ये कर्मचारीले गर्न सक्ने केही काम भने हामीले गरिरहेका छौँ। अगामी आर्थिक वर्षको बजेट असार १० भित्र आउँदैन।’

१० वटा वडा रहेको बुढीगंगामा जनप्रतिनिधि नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ। वडा कार्यालयमा नागरिकता, पिछडिएको क्षेत्र लगायत सिफारिसका लागि सेवाग्राही पुग्ने गरेका छन्। तर, जनप्रतिनिधि नहुँदा उनीहरु सेवा नपाएरै फर्किने गरेका छन्।

‘सिफारिसको अधिकार हामीलाई छैन, सेवाग्राही आउँछन् तर उहाँहरुलाई त्यसै फिर्ता पठाउन बाध्य छौँ,’ वडा नम्बर ६ का सचिव श्याम खत्रीले भन्छन्, ‘वडाका योजनाहरु छनोट गर्नुपर्ने थियो, जनप्रतिनिधि नहुँदा त्यो हुन सकेको छैन।’

बुढीगंगा नगरपालिकामा निर्वाचन कहिले हुने भन्ने अझै यकिन भइनसकेको बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए। यही विषयमा छलफल गर्न मंगलबार सर्वदलीय बोलाइएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .