नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले रोकेपछि अब सर्लाहीमा बनाउन प्रस्ताव गरेका छन्।
शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेलाई पत्र पठाउँदै बुढाथोकीले मधेस प्रदेशको सर्लाहीमा विमानस्थल बनाउन प्रस्ताव गरेका हुन् ।
सर्लाहीको सागरनाथ बन विकास क्षेत्रको धरहरा–मुर्तीया क्षेत्रमा निर्माण गर्न उनले माग गरे।
सो क्षेत्रमा विमानस्थल बनाए वन फडानी गर्न नपर्ने उनको तर्क छ।
‘मधेस प्रदेशको बीच भागमा पनि हुने र पहिले नै सम्भाव्य अध्ययन समेत भइसकेको हुँदा सो क्षेत्रमा अन्तराष्ट्रिय विमानस्थल बनाउन आवश्यक प्रक्रिया अघि बढाउनका लागि आवश्यक पर्ने बजेटको समेत सुनिश्चितता गरिदिनुहुन निवेदन गर्दछु,’ बुढाथोकीले मन्त्रीलाई लेखेका छन्।
सर्वोच्च अदालतले बिहीबार बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य तत्काल रोक्न आदेश दिएको थियो।
अदालतको आदेशसँगै निजगढको विमानस्थल निर्माण कार्य रोकिने छ। अदालतको आदेशप्रति राजनीतिक दलहरुले भने असन्तुष्टि जनाएका छन्।
प्रतिक्रिया