राजनीति


नेकपाका ४४५ जना केन्द्रीय सदस्य नै चीन भ्रमणमा जाँदै, मंसिर २४ गते प्रचण्ड जाने

नेकपाका ४४५ जना केन्द्रीय सदस्य नै चीन भ्रमणमा जाँदै, मंसिर २४ गते प्रचण्ड जाने

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १३:३३,

नेपाल कम्युनिष्ट पार्टीको ठूलो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाने तयारी भएको छ।

आकस्मिक कुनै परिवर्तन भएन भने प्रचण्डले नेतृत्व गरेको नेकपाको टोली मंसिर २४ गते (१० डिसेम्बर) चीन जाने तय भएको छ।

एमाले र माओवादी एक भएपछि गत वर्षपनि प्रचण्ड चीन भ्रमणमा गएका थिए तर बेइजिङ पुगेका थिएनन्। चीनका उपराष्ट्रपति वाङ क्वीसाङले हुनान प्रान्तको छाङ्सामा प्रचण्डसँग भेटवार्ता गरेका थिए। गत साता कार्यकारी अध्यक्षको समेत जिम्मेवारी पाएपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अध्यक्ष प्रचण्ड नेकपाका विभिन्न तहका करिब चार दर्जन नेताको टोली लिएर चीन जान लागेका हुन्।

‘चीनबाट अध्यक्षलाई सिधै निम्तो आएपछि नेकपाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जान लाग्नु भएको हो’, रिजालले भने, ‘भ्रमण दलमा करिब ५० जना रहने छन्।’

प्रचण्ड आफैंले शुक्रबार बिहान काठमाडौंमा नेपाल–चीन मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै चीनका राष्ट्रपति सीकै चाहना अनुसार आफु उच्चस्तरीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको बताएका थिए।

‘हाम्रो एउटा टोली छिट्टै चीनको भ्रमणमा जाँदैछ, राष्ट्रपति सीले मलाई र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मेरै नेतृत्वमा चीन भ्रमण भइदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नु भएकाले म जाँदैछु’, प्रचण्डले भने, ‘सन् २०१३ मा पहिलो पटक भेटेयता राष्ट्रपति सीसँग मेरो ८ पटक भेट भैसकेको छ र सम्बन्ध पनि राम्रो रहेको छ।’

राष्ट्रपति सीले असोजमा काठमाडौंमा भेटवार्ता हुँदा नै प्रचण्ड लगायतका नेताहरूलाई चीन भ्रमणमा आउन निम्तो दिएका थिए। हालै मात्र भ्रमण तालिकासहित लिखित निम्तो आएपछि २४ गतेको मिति तय गरिएको हो।

बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति सीकै निमन्त्रणामा भ्रमण आयोजना गरिएकाले बेजिङमा संभवतः सी र प्रचण्डबीच भेटवार्ता हुनेछ। त्यसअघि चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ ताओ लगायत उच्च नेताहरूसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ।

‘राष्ट्रपति सीसँग प्रचण्डको भेटवार्ताको समय मिलाउन चिनियाँ पक्षसँग कुराकानी भइरहेको छ, निश्चित भइसकेको छैन’, नेकपा सचिवालयका एक जना सदस्यले भने।

राष्ट्रपति सीको असोजमा भएको नेपाल भ्रमणअघि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भ्रमण आदानप्रदान गर्ने सम्झौता भएको थियो। त्यस सम्झौता अनुसार नेकपाको तर्फबाट हुन लागेको यो नै पहिलो चीन भ्रमण हो।

नेकपाका एक जना सचिवालय सदस्यका अनुसार दुई वर्षभित्र नेकपाका सबै चार सय ४५ जना केन्द्रीय सदस्यलाई नै चीन भ्रमण गराउने तयारी भएको छ।

‘एक वर्षमा ६ र अर्को वर्षमा ६ टोली बनाएर चीन भ्रमणमा जाने तयारी छ, एउटा टोलीमा कम्तिमा ३० जना रहने छन्’, सचिवालयका ती सदस्यले भने, ‘दुई वर्षमा नेकपाका सबै केन्द्रीय सदस्य एक पटक चीन भ्रमणमा जानेछन्, अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने टोली पहिलो हो।’

सन् २००८ मा प्रधानमन्त्री भएपछि पहिलो पटक चीन भ्रमण गरेका प्रचण्ड सन् २००९ मा तत्कालीन नेकपा माओदवादी पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोस्रो पटक चीन पुगेका थिए।

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा भारत जाने परम्परा तोड्दै चीन गएपछि प्रचण्ड विवादमा परेका थिए। फर्कने क्रममा उनले विमानस्थलमा आफ्नो पहिलो राजनीतिक भ्रमण भारत नै हुने अभिव्यक्ति दिएका थिए।

नौ महिनामै सरकारबाट बाहिरिएपछि प्रचण्ड माओवादी नेताहरू मोहन वैद्य र कृष्णबहादुर महरालाई लिएर सन् २००९ को सेप्टेम्बरमा चीन गएका थिए। राष्ट्रपति हु जिन्ताओले नेतृत्व गरेको चिनियाँ कम्युनिष्ट पार्टी र माओवादीबीच यो नै पहिलो औपचारिक भेटवार्ता थियो। राष्ट्रपति हुसँग प्रचण्डले त्यसबेला लामो समय कुराकानी गर्ने अवसर पाएका थिए।

त्यसपछि सन् २०१० मा सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुने क्रममा र पछि पनि प्रचण्डले चीन भ्रमण गरे।

प्रचण्डको अर्को महत्वपूर्ण चीन भ्रमण सन् २०१३ मा भयो, जुन बेला उनले चीनका नयाँ नेता सी चिनफिङसँग लामो भेटवार्ता गर्ने अवसर पाए।

‘सीले नै बोलाएर त्यसबेला म चीन गएको थिएँ र, नेपालबाट सबैभन्दा पहिला मलाई नै भेटवार्ताका लागि बेइजिङ बोलाइएको थियो’, शुक्रबार त्यो कालको स्मरण गर्दै प्रचण्डले भने, ‘मलाई नै किन पहिला बोलाइयो भनेर मैले कहिल्यै पनि सीसँग सोधेको चाहिँ छैन।’

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र राष्ट्रपति बनेपछि सीसँग प्रचण्डको त्यो भेट पहिलो थियो। त्यसयता सरकार र विपक्षमा रहेका बेला पनि प्रचण्डको भेट सीसँग भइरहेको छ।

यसपाली नेकपाको पहिलो ठूलो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेका प्रचण्ड सीसँगको भेटपछि केही दिनमै स्वदेश फर्कने छन् भने अन्य सदस्यहरू साता लामो भ्रमण सकेर फर्कने कार्यक्रम छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad