राजनीति


प्रधानमन्त्रीको स्वास्थ्यबारे चिकित्सक टोलीको यस्ताे ब्रिफिङ

प्रधानमन्त्रीको स्वास्थ्यबारे चिकित्सक टोलीको यस्ताे ब्रिफिङ

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ९:५२,

अपेन्डिसाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री केपी ओली शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा तीन दिनदेखि उपचार गराइरहेका छन्। उनको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। हाल त्यसले राम्ररी काम नगर्दा दोस्रो पटक प्रत्यारोपण गर्ने तयारी भइरहेकाे छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रबार उनको उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन आयोजना गरे। जसमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, र उपचारमा संलग्न डा. रमेशसिंह भण्डारी तथा डा. अरुण सायमीले पत्रकारहरुको प्रश्नको उत्तर दिए। अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, पुनः मिर्गौला प्रत्यारोपण याेजना र पछिल्लाे स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्रीकाे दैनिकीमा पर्ने असरबारे चिकित्सकहरुको भनाइः

अहिले प्रधानमन्त्रीको अवस्था कस्तो छ?
डा. दिव्यासिंह शाहः अपेन्डिसाइटिसको अप्रेसन भएको तीन दिन भएको छ। उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उहाँको फिजिकल र बायोकेमिकल मापदण्डहरुमा अपेक्षाकृत सुधार देखिएको छ। उहाँको ब्लडप्रेसर, स्वासप्रस्वास, पल्स राम्रो छ। ठोस खाना दिन थालिएको छ र उहाँले त्यसलाई पचाउन थाल्नुभएको छ। साथै उहाँलाई हिँडाउन पनि थालिएको छ।

अरु कुनै समस्या छैन। मुख्य समस्या भनेको अपेन्डिसाइटिस भएर पेटमा अलिकति संक्रमण फैलिएको थियो, त्यसको उपचार भइसक्यो। त्यो अवस्था नियन्त्रणमा छ। घाउ निको हुन बाँकी छ। त्यसका लागि समय लाग्छ। त्यसबाहेकको अवस्था सामान्य छ।

त्यो अवस्थामा अप्रेसन गर्दा अन्य बिरामीलाई भन्दा अलिकति बढी जोखिम त हुन्थ्यो नै तर अपेन्डिसाइटिसको अप्रेसन गरेर उहाँको मिर्गौलाको उपचारमा त्यति धेरै फरक चाहिँ पर्दैन।

घाउ निको भएपछि अरु अवस्था सामान्य रह्यो भने अर्को हप्ता डिस्चार्ज गर्न सकिन्छ। कुनै व्यक्तिको उपचार गर्नु भनेको उसलाई सामान्य अवस्थामा पुर्‍याउनु हो। खानपिन, हिँडडुल गर्न सक्ने बनाउने हो, कुनै एक अंगको उपचार गर्ने भन्ने हुँदैन।

अपेन्डिसाइटिसको अप्रेसन सकिइसक्यो अब घाउलाई संक्रमण हुन नदिने र चाँडो निको बनाउने भन्ने हो। अरु उपचार चलिरहन्छ।

प्रधानमन्त्रीलाई काममा फर्किन कति समय लाग्छ? उहाँको ‘कन्फिडेन्स लेभल’ कस्तो पाउनु भएको छ?
डा. अरुण सायमी: ठ्याक्कै यति दिन भन्न सकिन्न। सबै सामान्य भएर गयो भने एक हप्तामा डिस्चार्ज गर्न सकिन्छ। उहाँ यहाँ आउनुभन्दा अघि पनि काम गरिरहनु भएकै हो। त्यस्तै अवस्थामा पुग्न एक हप्ता चाहिँ कम्तीमा लाग्छ।

भर्खर पनि मैले भेटेर आएको हुँ। २५ वर्षअघि उहाँ गृहमन्त्री हुँदा उपचार गर्दा धेरै डिस्टर्ब भयो भनेर हात्तीवनमा गएर बस्नु भएको थियो। उहाँ ‘फुल्ली कन्फिडेन्ट’ हुनुहुन्छ। त्यसले उपचारमा सहयोग गरेको छ। धेरै कममा मात्रै यस्तो हुन्छ।

डा. दिव्या सिंह शाहः उहाँलाई सामान्य अवस्थामा कहिले पुग्नु हुन्छ भन्ने विषय घाउ कहिले निको हुन्छ भन्नेले निर्धारण गर्छ।

प्रधानमन्त्री मंगलबार बिहान अस्पतालमा भर्ना हुन आउनुभएको थियो। उहाँलाई रातिदेखिनै पेट दुखेको भन्ने कुरा आएको थियो। समग्र उपचार प्रक्रिया र घटनाक्रम कसरी अघि बढ्यो?
डा. दिव्या सिंह शाहः सोमबार उहाँको अवस्था सामान्य थियो। प्रधानमन्त्रीले एक टेलिभिजनलाई अन्तर्वार्ता पनि दिनुभएको थियो। सिंहदरबारमा पाँच घण्टा मिटिङ गर्नुभयो। राति सामान्य खाना खाएर सुत्नुभयो। प्रधानमन्त्री ओलीले भन्नु भएअनुसार उहाँलाई राति साढे एक बजेदेखि पेट दुख्न थाल्यो। आफैैँ निको होला भनेर बस्नुभएछ। उहाँले म्याडम (राधिका शाक्य) लाई बिहान साढे चार बजे बताउनुभएको रहेछ।

त्यसपछि अरुलाई उठाउनुभयो। उहाँलाई अलि ज्वरो पनि रहेछ। प्यारासिटामोल लिनुभयो। त्यसले अलिकति दुखाइ कम भयो र उहाँ सुत्नुभयो।

मलाई फोन गर्ने कि भनेर पनि सोधिएको रहेछ। तर, प्रधानमन्त्रीले डाक्टर सापलाई यति राति दुख नदिऔं भन्नु भएछ। बिहान मैले अन्य दिन जस्तै साढे आठ बजे फोन गरेँ। फोन उठेन। टेक्स्ट गरेपछि फोन आयो।

प्रधानमन्त्रीज्युलाई किड्नीको दाहिनेतिर दुखेको जस्तो छ भनियो। मैले संक्रमण भएको हुनसक्ने भएकाले तुरुन्तै एन्टिबायोटिक चलाउनुपर्छ भनेर परीक्षण गर्न नर्स पठाउँछु भनेँ। म नजिकै बस्ने भएकाले त्यहाँ पुगिहालेँ।

फोनमा जे कुरा भनिएको थियो, पेटको अवस्था त्योभन्दा गम्भीर देखियो। दायाँतिर भएकाले अपेन्डिसाइटिस हुने सम्भावना धेरै भएकाले मैले भर्ना हुन जाऊँ प्रधानमन्त्रीज्यु भनेँ। उहाँले अल्ट्रासाउन्ड गर्ने मानिस बोलाउनुहोस्, यहीँ हेरौँला भन्नुभयो।

एन्टिबायोटिक चलाउनु पर्ने भए यहीँ चलाउँला भन्नुभयो। हुँदैन जानुपर्छ भनेर मैले तुरुन्तै ल्याएँ। त्यहीँबाट मैले डाक्टर रमेश (रमेशसिंह भण्डारी) लाई तपाईं तयार रहनु होला कुनै पनि बेला फोन गर्नसक्छु भनेँ। फोन इङ्गेज नराख्न भनेँ।

हामी पुगेको पाँच मिनेटमै उहाँलाई मनमोहनमा ल्यायौँ। बेड खाली थिएन।

डाक्टर अरुण सायमीलाई फोन गरेँ। उहाँ ड्राइभ गरिरहनु भएको रहेछ। ‘कलब्याक’ गर्नुभयो। हामीले पाँच मिनेटमा आउँछौ भनेका थियौँ तर एक मिनेटमा पुगिसकेका थियौं।

यो एकदमै भीड हुने ठाउँ बेडको पनि समस्या थियो। बेडमा राख्नेबित्तिकै एन्टिबायोटिक फटाफट चलायौं। डाक्टरहरु आउनुभयो। आधा घण्टाभित्र अपरेसन गरियो।

दिनदिनै प्रधानमन्त्रीको डायलासिस गरिएको भन्ने समाचार आइरहन्छ। प्लेटलेट्स पनि चढाइयो भनिएको छ। यस विषयमा पनि बताइदिनु हुन्छ कि?
डा. दिव्या सिंह शाहः १२ वर्षअघि उहाँको मिर्गौला प्रत्यारोपण भएको हो। त्यसको काममा ह्रास आएको छ। बीचबीचमा संक्रमणले गर्दा डायलासिस पनि चाहिएको थियो। मिर्गौलाले अलिअलि काम गरेको छ। सतप्रतिशत काम गरिरहेको छैन। बीच बीचमा डायलासिस गर्दै आएका छौं। अहिले अपरेसन भएको अवस्थामा हामीले सावधानी अपनाउँदै बिरामीको अवस्था स्थिर राख्ने गरी उपचार भइरहेको छ।

कुनै पनि समस्या आउनुअघि त्यसलाई रोक्न चिकित्सकले उपाय लगाउँछन्, हामीले त्यही काम गर्दै आएका छौँ। त्यसैले हामीले एक दुई पटक डायलासिस गर्‍यौं। अहिले स्थिर भएको अवस्था हो। अब चाहियो भने मात्रै डायलासिस गर्छौँ। अस्ति अपरेसनको दिन अल्ट्रा फिल्टरेसन थेरापी गर्‍यौँ। बिहीबार पनि डायलासिस गर्‍यौँ। आज हामी हेर्छौं। चाहियो भने मात्रै गर्छौँ। अपरेसनपछि रक्तश्राव भएर जटिलता उत्पन्न नहोस् भनेर प्लेटलेट्स दिएको हो। यो उपचारकै प्रक्रिया हो। जुन बेलामा जे आवश्यकता पर्छ, त्यही गर्नुपर्ने हुन्छ। यो ठूलो विषय पनि होइन। तर बाहिर आउँदा धेरै ठूलो समस्या रहेछ भन्ने लाग्छ। अरु सामान्य बिरामीको पनि उपचार गर्दा चिकित्सकले रक्तश्राव, संक्रमण तथा महत्वपूर्ण अंगमा कुनै असर नपरोस् भनेर सावधानीका प्रक्रिया अपनाउँछन्।

अपेन्डिसाइटिसको अप्रेसनले मिर्गौला प्रत्यारोपण कति पर सर्न सक्छ?
डा. दिव्या सिंह शाहः प्रत्यारोपणको तयारी गर्दा शारीरिकदेखि मानसिक सबै अवस्था हेर्नुपर्छ। कुनै व्यक्तिको पित्तथैलीमा पत्थरी छ भने पहिले पत्थरीको अपरेसन गरेर निकाल्छौँ अनि मात्रै प्रत्यारोपणमा जान्छौं। कसैलाई मुटुको समस्या छ भने त्यसको उपचार हुन्छ। अनि मात्रै प्रत्यारोपण हुन्छ। प्रत्यारोपण मानिसलाई स्वस्थ्य बनाउने काम हो। यसले कुनै फरक पार्नु नपर्ने हो। प्रत्यारोपण अलिकति पछि सर्न सक्छ। तर पहिलो कुरा प्रत्यारोपणको निर्णय हुनुपर्छ।

कहिलेकाहीँ डायलासिस गर्दा पनि अवस्थामा सुधार भएर सामान्य अवस्थामा मिर्गौला फर्किने गरेको छ। अवस्था स्थिर भयो भने नचाहिन पनि सक्छ। अहिले सातामा दुई तीन पटक डायलासिस चाहिएको छैन। आइतबार पनि खासै चाहिएको थिएन। उहाँले आज खास काम छैन एक पटक डायलासिस गर्ने कि भनेर फोन गर्नुभयो। त्यसपछि उहाँको अरु महत्वपूर्ण कार्यक्रम हुँदा डायलासिस गरिहाल्नु पर्ने अवस्था नआओस् र समय नमिल्ला भनेर गरिएको थियो। नियमित रुपमा डायलासिस गर्ने अवस्था भयो भने प्रत्यारोपण तुरुन्तै गरौँला। यस विषयमा निष्कर्ष निस्कन बाँकी थियो। अब चाहिने अवस्था भयो भने निधो गरेर प्रत्यारोपणको प्रक्रिया अघि बढाउछौं।

प्रधानमन्त्रीलाई अपेन्डिसाइटिसको जोखिम छ भन्नेतिर चिकित्सकको ध्यान नगएको हो?
डा. रमेशसिंह भण्डारी: रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउन औषधि लिइरहेको व्यक्तिमा एकै पटक धेरै बिरामी भएपछि मात्रै लक्षण देखिन्छ। तर सामान्य मानिसमा अपेन्डिसाइटिस भयो भने ५–६ घण्टामा बढ्दै जान्छ र २४ देखि ४८ घण्टासम्म अपरेसन भएन भने संक्रमण फैलिन सक्छ। तर रोग प्रतिरोधी कमजोर पार्न औषधी लिइरहेको व्यक्तिमा २–३ घण्टामै त्यो संक्रमण फैलिन सक्छ। प्रधानमन्त्रीलाई पनि २–४ घण्टामै फैलिएको हो। सबैले फुटेको भन्नु भएको छ। तर यो बेलुन जस्तो कुरा होइन। त्यो फुट्नु भनेको त्यसको संक्रमण पेटभित्र फैलिनु हो। त्यसलाई हामीले पेरिटोनाइटिस भन्छौँ। त्यो फुट्न पनि सक्छ नफुटेर कुहिन पनि सक्छ। ८०–९० प्रतिशत त्यो लोकलाइज भएर बस्छ। तर रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउन औषधि लिएको मानिसमा त्यो फैलिन्छ। प्रधामन्त्रीज्यूमा पनि त्यही भएको थियो। त्यो चार पाँच घण्टामा हुनसक्ने हुन्छ।

सर्जनको रुपमा मैले भन्नुपर्दा उहाँ गम्भीर बिरामी हुनुहुन्थ्यो। भाग्यवश हामीले समयमै सूचना पायौँ। औषधि पनि त्यही अवस्थामा सुरु गर्‍यौं र समयमा अपरेसन भयो। के गर्ने भनेर ३०–४५ मिनेटमा हामीले निर्णय गर्‍यौं। यस्तो अवस्थामा निर्णय गर्न पनि गाह्रो हुन्छ। त्यसैले पेटमा धेरै संक्रमण फैलिन पाएन। अपेन्डिक्स निकाल्नेबित्तिकै शरीरमा परिवर्तन देखिन थालिहाल्यो। सर्जनको रुपमा मैले यस प्रकारका धेरै अपरेसन गरेको छु। तर प्रधानमन्त्रीका हकमा यो सुधार धेरै नै राम्रो हो। यो उहाँको इच्छाशक्तिले पनि हुनसक्छ। हामीले गरेको अपेक्षाभन्दा राम्रो हिसाबले सुधार भएको छ।

अहिलेको अवस्थामा अपेन्डिसाइटिसको प्रभाव र संक्रमण सबै नियन्त्रणमा छ। अपरेसनपछिका परिणामको मात्रै हामीलाई डर हो। तर, अहिले जुन रुपमा प्रगति भएको छ, अब कुनै प्रकारको समस्या नहुनुपर्ने हो। अगामी सात दिनपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सफल हुन्छाैं। तर, तपाईंले कहिले सामान्य अवस्थामा फर्किनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। सामान्य अवस्था भनेर कस्तो खोज्नु भएको हो? त्यो स्पष्ट हुनुपर्छ। दौडिने अवस्थामा भन्नु भएको हो कि अन्य केही? अपेन्डिसाइटिस हुनुअघिको अर्थात् सोमबारको अवस्था भनेर कुरा गर्नुभएको हो भने घाउका पीडालाई अलिअलि सहँदा आगामी १० दिनभित्र त्यही अवस्थामा पुग्नु हुन्छ। चिकित्सकको सहयोग लिएर कुराकानी गर्ने, काम गर्न सक्नु हुनेछ। घाउले कतिको दुःख दिन्छ, त्यो थाहा हुँदैन। कसैलाई सानो घाउले पनि दुखाउँछ। कसैलाई ठूलो पनि दुख्दैन।

उहाँको अवस्था खतरामुक्त हो कि होइन?
डा. रमेशसिंह भण्डारी: पूर्ण खतरामुक्त कोही पनि हुँदैन।
डा. दिव्या सिंह शाहः:  अहिलेको अवस्थामा खतरामुक्त हो। भविष्यका कुरा समयले बताउँछ।

अहिलेको अप्रेसनले मृगौला प्रत्यारोपणलाई सार्छ कि सार्दैन?
डा. दिव्या सिंह शाहः यो घाउ चाँडो निको भयो भने यसैले पछि सार्दैन।

प्रत्यारोपण नेपालमै गर्न सम्भव छ?
डा. दिव्या सिंह शाहः पहिले कहाँ गर्ने भन्ने विषयमा निर्क्यौल हुनुपर्छ। अहिले अवस्था हेर्दा नेपालमा १२ सय जति प्रत्यारोपण गरिसकेका छौं। टिचिङमै मात्रै ६ सयभन्दा बढी गरेका छौं। हामीलाई अनुभव पनि भयो। हामी प्रत्यारोपणमा आत्मनिर्भर छौं। हामीसँग सर्जन पनि धेरै जना हुनुहुन्छ, नेफ्रोलोजीटमा पनि ठूलो टिम बनेको छ, क्रिटिकल केयर र सपोर्टिङ टिम पनि छ। यो टिमले नेपालका निजी तथा सरकारी अस्पताल जता गएर पनि सेवा दिन सक्छ।

प्रत्यारोपणको प्रक्रिया कहिलेबाट सुरु हुन्छ?
डा. दिव्या सिंह शाहः डायलासिसको प्रक्रियामा बसेर १०–१० वर्ष राम्रोसँग काम गरेको उदाहरण छ। विदेशतिर रगतवाला मात्रै नभएर सीएसपीडी र एपीडी भन्ने पनि हुन्छ। यो अफिसमै गएर गर्छन्। कार्यालय जानेले पीएसपीडी गर्छ। डायलासिसमा बसेर पनि मानिसले काम गर्छन्। प्रत्यारोपणको फाइदा भनेको झञ्झटबाट मुक्ति हो। प्रत्यारोपण गर्दा स्वास्थ्य अवस्थामा राम्रो हुन्छ भनेर प्रत्यारोपणमा जोड दिने मात्रै हो। एकदमै तयार गरेर ट्रान्सप्लान्ट गरिहाल्नु पर्ने अवस्था छैन। समय अनुकूल पारेर प्रत्यारोपणको काम हुन्छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad