ad ad

राजनीति


एमाले देखाएर कांग्रेसलाई तर्साए प्रचण्डले

रेनुमा निर्भर छ नयाँ राजनीतिक समीकरण
एमाले देखाएर कांग्रेसलाई तर्साए प्रचण्डले

चितवनमा आयोजित सभामा प्रचण्ड। तस्बिर : रासस


रुपक चौलागाईं
बैशाख २२, २०७९ बिहिबार १८:५९, काठमाडौँ

भरतपुर महानगरपालिका यो स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको छ। ६ महानगरमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच भए पनि भरतपुरलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन्। 

अहिले सबैभन्दा बढी चर्चा र चासोको केन्द्र नै भरतपुर भएको छ। भरतपुरमा पाँच दलीय गठबन्धन एकातिर हुँदा एमाले एक्लै मैदानमा छ। 

सत्ता गठबन्धनप्रति असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता एवम् पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएर प्रचारमा होमिएका छन्। 

गत वैशाख ८ गते सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णयलाई सत्ता गठबन्धनले स्थगित गरेको थियो। तर भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको गठबन्धनले बिहीबार शीर्ष नेता उतारेर शक्ति देखाउन खोज्यो। 

भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित चुनावी सभामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए।

भरतपुरमा आयोजित सभामा सम्बोधन गर्दै शीर्ष नेताहरुले देशभरकै ‘गठबन्धन’ को भविष्य र उथलपुथलबारे चर्चा गर्न भ्याए। उनले ‘भरतपुर हार्दा गठबन्धन हार्ने र जित्दा सिंगो गठबन्धन जित्ने’ भाषा बोलेका छन्।

‘रेनुको जित नभए देश दुर्घटनामा’
माओवादी अध्यक्ष प्रचण्डले भरतपुरको जित–हारलाई गठबन्धनको मात्र नभई देशकै भविष्यसँग तुलना गरे। उनले भरतपुर महानगर प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीलाई भोट नहाले देश नै दुर्घटनामा जाने बताएका छन्। 

‘हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भनेका छन,‘होइन यो राष्ट्र र जनताको आवश्यकता हो। लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।’

उनले रेनुको ५ वर्षको कामले सम्पूर्ण चितवनवासीले नै गर्व गर्ने अवस्था सिर्जना भएको बताए। ‘बुवाको नाताले गर्व गर्ने कुरा त छँदैछ, पार्टीको अध्यक्ष र परिवर्तनको नेताको हिसाबले पनि मैले गर्व गर्न चाहन्छु। चितवनवासीले पनि गर्व गर्नुभएको छ, म आभार ब्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भनेका छन्।

एमाले जोडेर तर्साए 
चितवनमा गठबन्धन गराउनैपर्ने बाध्यतामा रहेका प्रचण्डले एमालेले पनि आफूसँग एकता र तालमेलका कुरा गरेर आएको खुलासा गरे। 

प्रचण्डको यो भनाई अर्थपूर्ण थियो। ‘एमालेका साथीहरु अहिले पनि मिलौँ भन्दै आएका छन्। गठबन्धनका अन्य नेताहरुलाई झस्काउँदै भने, ‘तर मैले हुन्न भनेको छु। म अहिले यही गठबन्धनलाई १५/२० वर्षसम्म लैजाने योजनामा रहेको जवाफ दिएको छु,’ उनले भने।

प्रचण्डले आफू गतिशील र सिर्जनशील भएपनि अस्थिर भने नभएको दाबी गरे। ‘म गतिशील र सिर्जनशील मान्छे हो तर म अस्थिर होइन। शेरबहादुरजीले नेपालमा राजनेता जन्मियो भनेपछि मैले गठबन्धन फेरेँ,’ उनले भने, ‘यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो भनेर नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।’

देउवाको आशंका
सभाको अन्तिममा सम्बोधन गरेका कांग्रेस सभापति देउवाले पनि गठबन्धन जोगाउन भरतपुर जित्नैपर्ने तर्क गरे। ‘कुनै हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुनै सक्दैन, हुँदै हुँदैन। यो कुरामा स्पष्ट हुनुस् तपाईंहरु।’ देउवाले भनेका छन्। 

साथै, गठबन्धनकै कारण चितवनको विवाद मिलाउन नसकेका देउवाले देशको अन्य क्षेत्रमा कहीँ गठबन्धनमा विवाद नभएको बताए। 

‘मैले गठबन्धनको विरोधको आवाज यहाँ मात्रै सुनेँ, अन्त सबैतिर गठबन्धनको पक्षमै माहोल देखिएको छु। अन्त विरोध छैन, यहाँ मात्रै विरोध छ। गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। यदि त्यसो भयो भने हाम्रो पार्टी पनि बिग्रिन्छ, खत्तम हुन्छ,’ देउवाले भनेका छन।

देउवा–प्रचण्ड प्रशंसा
महानगर र उपमहानगरको भागवण्डा नमिलेकै कारण गठबन्धन टुट्नसक्ने आशंका धेरै पहिल्यैदेखि थिए। यद्यपि स्थानीय तह निर्वाचनसम्म कम्तिमा गठबन्धन नटुट्ने सहमति भएको छ। 

भागबन्डा मिलाएर चुनावी अभियानमा होमिएका प्रचण्ड र देउवाबीच प्रचण्डकै चुनावी क्षेत्रमा बिहीबार दिउँसो निकै उल्लासपूर्ण वातावरण बन्यो। देउवाले प्रचण्ड निकै सहज भएको बताए। प्रचण्डले कांग्रेससँग लामो सहकार्य गर्ने प्रतिवद्धता जनाए। 

‘यति सजिलो मानिस हुनुहुन्छ उहाँ प्रचण्डजी, तपाईंहरुले चिन्नु भा छैन,’ देउवाले भनेका छन्। उनले ०७४ मा कांग्रेस र माओवादीबीचको गठबन्धन चितवनकै कारण टुटेको पनि दाबी गरे।

‘अघिल्लो पल्ट प्रधानमन्त्रीबाट समर्थन किन फिर्ता लिनुभयो भन्ने कुरा सबैलाई थाहा छ नि। कत्रो विरोध भयो रेनुजीको। अरु कहीँ पनि विरोध भएन, यहीँ मात्र किन विरोध भयो? त्यसो भएर ठूलो षडयन्त्र छ हेर्नुस्।’ देउवाले भनेका छन।

बागी उम्मेदवारबारे नरम
माओवादी अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेललाई पनि सम्झिए। 

पौडेलले बागी उम्मेदवारी दर्ता गराउनेबित्तिकै फिर्ता गराउने पहलको सुरुवात प्रचण्ड आफैंले गरेका थिए। उम्मेदवारी दर्ता गराएको भोलिपल्टै सुटुक्क चितवन पुगेका प्रचण्डले त्यही भूमिबाट पौडेललाई टेलिफोनमा कन्भिन्स गराउने प्रयास गरेका थिए।

तर, उनको प्रयास असफल भइदियो। उनीसँगै कांग्रेस सभापति देउवा लगायतका अन्य शीर्ष नेताहरुको प्रयास पनि असफल भयो। 

अन्तिम अवस्थासम्म उम्मेदवारी फिर्ता नगरेका पौडेल अहिले चुनावी अभियानमा छन्। पौडेल र उनलाई साथ दिइरहेका कृष्णलाल सापकोटाको नाम नै लिएर आफूलाई कुनै ‘गुनासो’ नभएको बताए।
प्रचण्डले घुमाउरो भाषामा भनेका छन, ‘मलाई विश्वास छ, उहाँहरुले अन्तिमसम्म विचार गर्नुहुनेछ। विचार गर्नुहुन्न भनेपनि कृष्णलाल, जगन्नाथसँग मेरो कुनै विद्वेष हुने छैन। उहाँको अधिकार हो।’
प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले आश्वासन देखाएको खुलासा गर्दै ‘प्रतिक्रियावादीको गिरोह’ को रुपमा अर्थ लगाए। ‘उहाँ(केपी ओली)ले भन्नुभएको छ रे, स्वतन्त्र उम्मेदवारलाई अडिनुस्! लास्टमा हाम्रो सबै तपाईंलाई खन्याइदिउँला भनेका छन् रे! भन्नलाई त हाम्रो केपी जी लाई केही पनि गाह्रो छैन,’ प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .