राजनीति


रुपन्देहीमा उम्मेदवारी होड, एकै नगरपालिकामा साढे ५ सयको मनोनयन

दक्षिण भेगमा उम्मेदवारी दिनेको संख्या अत्यधिक
रुपन्देहीमा उम्मेदवारी होड, एकै नगरपालिकामा साढे ५ सयको मनोनयन

बुटवलमा उम्मेदवारी दर्ताका क्रममा एमालेका उम्मेदवारहरु। तस्बिर : रासस


सुदीप भण्डारी
बैशाख १३, २०७९ मंगलबार १३:५४, बुटवल

रुपन्देही देशभरमै सबैभन्दा बढी उम्मेदवार दर्ता भएको जिल्ला हो। काठमाडौं र मोरङपछि बढी जनसंख्या भएको रुपन्देहीमा १६ वटा स्थानीय तह छन्। यहाँ एक उपमहानगरपालिका ५ वटा नगरपालिका र १० गाउँपालिका छन्। 

ठूलादेखि मधेसवादी दलको समेत प्रभाव रहेको रुपन्देहीको दक्षिणी भेगमा उम्मेदवार बन्ने होड बढी देखिएको छ। दक्षिणी भेग दलगतभन्दा व्यक्तिगत प्रभावका कारण भोट तान्न सकिने विश्वास छ।

यी ठाउँमा धेरैजसो स्थानीय दल फेरेर उम्मेदवार बनिरहेको छन्। त्यत्तिकै संख्यामा स्वतन्त्र उम्मेदवार बन्ने पनि छन्। 

जिल्लामा सबैभन्दा बढी उम्मेदवारी लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको छ। यहाँ कुल ५ सय ६६ वटा उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले निकालेको विवरणमा उल्लेख छ। 

लुम्बिनी सांस्कृतिकको मेयरमा १५ र उपमेयरमा १९ जनाले उमेद्वारहरु दर्ता गराएका छन्। नगरपालिकामा १३ वडा  छन्। तीनवटामा १० जना वा त्यसभन्दा बढीका दरले वडाध्यक्षका उम्मेदवार छन्। 

लुम्बिनी सांस्कृतिकपछि तिलोत्तमामा नगरपालिकामा उम्मेदवारको संख्या धेरै छ। यहाँ कुल ४६५ जनाको मनोनयन दर्ता भएको छ। 

१७ वटा वडा र ८५ हजार बढि मतदाता भएको तिलोत्तमामा धेरै उम्मेदवार हुनु स्वभाविक रुपमा लिन सकिन्छ। 

यहाँका दुई वडामा मात्रै १०– १० जना वडाध्यक्षका उम्मेदवार छन्। अरु वडामा त्यो भन्दा कम छन्। तिलोत्तमा जिल्लामा सबैभन्दा बढी पालिका प्रमुखका उम्मेदवार भएको नगर हो। यहाँ नगर प्रमुखको लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

गाउँपालिकातर्फ सम्मरीमाइमा सबैभन्दा बढी १८ अध्यक्षका उम्मेदवार छन्। सानो भूगोल र थोरै मतदाता संख्या भए पनि सम्मरीमाइमा तिलोत्तमाकै जति १८ जनाले गाउँपालिका अध्यक्ष मनोनयन दर्ता गरेका छन्। 

कुल ७ वडामध्ये ३ वटामा १० वा त्योभन्दा बढी वडाध्यक्षका उम्मेदवार छन्। सम्मरीमाइमा कुल उम्मेदवारको संख्या ३ सय १६ छ। 

दक्षिण भेगकै कोटइमाइमा कुल उम्मेदवार संख्या ३२६ छ। गैडहवामा ३४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

बुटवल उपमहानगरपालिकाको नगर प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि १६ जनाको उम्मेदवारी परेको छ। यहाँको ११ नम्बर वडामा ११ जनाको उम्मेदवारी परेको छ। अरु १८ वटा वडामा १० भन्दा कम वडाध्यक्षका उम्मेदवार छन्। बुटवलमा कुल ४१७ उम्मेदवारी दर्ता भएको छ। 

देवदह नगरपालिकामा मेयरको लागि १७ जनाको उम्मेदवारी परेको छ। यहाँ कुल ३५७ जनाले मनोनयन दर्ता गरेका छन्। सिद्धार्थनगर नगरपालिकामा मेयरमा १६ जनाले मनोनयन दर्ता गरेका छन्। सबै पदमा गरेर ४२५ जना उम्मेदवार बनेका छन्। 

जिल्लाको उत्तरी पश्चिमका केही पालिकामा भने उम्मेदवारीमा स्थानीयले चासो देखाएनन्। बुटवल पश्चिमको बजार क्षेत्र सैनामैना नगरपालिकामा कुल उम्मेदवार संख्या २२५ मात्रै छ।

नगर प्रमुखका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर ३ देखि ६ जनासम्मका दरले मात्रै वडाध्यक्षमा उम्मेदवारी परेको छ। 

शुद्धोधन र सियारी गाउँपालिकामा पनि उम्मेदवारी दर्ता कम भएको छ। यहाँ गाउँपालिका अध्यक्षमा १० जनाभन्दा कमले मनोनयन दर्ता गरेका छन्। वडाध्यक्ष पदमा पनि ५ जना हाराहारीमा उम्मेदवारी परेको छ।  

जिल्लाको पश्चिमी कञ्चन गाउँपालिकामा सबैभन्दा कम १५२ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा १२ जनाले मनोनयन दर्ता गरे। वडा तहमा मनोनयन संख्या कम छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .