राजनीति


बुटवल : निर्वाचन कार्यालयमा भएन चहलपहल, एमालेले दर्ता गरेन, कांग्रेस छलफलमै

बुटवल : निर्वाचन कार्यालयमा भएन चहलपहल, एमालेले दर्ता गरेन, कांग्रेस छलफलमै

सुदीप भण्डारी
बैशाख ११, २०७९ आइतबार २०:१७, बुटवल

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको आइतबार मनोनयन दर्ता गर्ने पहिलो दिन। निर्वाचन अधिकृतको कार्यालयमा भिडभाड र चहलपहल हुनुपर्ने हो।

तर, बुटवल उपमहानगरपालिकाको निर्वाचनको लागि स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अपरान्हसम्म सुनसान जस्तै थियो। अपरान्हपछि भने केही साना दल उम्मेदवारी दर्ता गराउन आएका थिए।

पहिलो दिन आइतबार प्रमुखका लागि २ जनाको मात्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। उनका अनुसार जनता समाजवादी पार्टीबाट प्रमुखमा सुरज हिताङले उम्मेदवारी दर्ता गरेका छन् भने धर्मेन्द्र क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। 

उपप्रमुखमा पनि दुई जनाको उम्मेदवारी परेको छ। जसपाबाट सम्झना पौडेल र स्वतन्त्र रुपमा किसन गुरुङको उम्मेदवारी दर्ता भएको छ। त्यसबाहेक वडाध्यक्षको लागि ६ जना र वडा सदस्यको लागि १२ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

दलतर्फ मंगोल नेशनल अर्गनाइजेसन, लोसपा, जनमुक्ति पार्टी लगायतले वडामा उम्मेदवारी दर्ता गरेका छन्। केही स्वतन्त्र उम्मेदवार छन्।

उम्मेदवारी दर्ता गर्ने दिन नेपाली कांग्रेसले साँझसम्म पालिका प्रमुख र उपप्रमुखहरुको नाम सार्वजनिक गरेको छैन। बुटवलको प्रमुखमा खेलराज पाण्डेको नाम मात्र सिफारिस गरेको भएपनि यो लगायत अन्य नाम कांग्रेसको प्रदेश समितिले सार्वजनिक गरेको छैन।  

कांग्रेसको प्रदेश कार्यालय तामनगरमा उम्मेदवारबारे छलफल भइरहेको र आज नामहरु टुंग्याएर भोलि उम्मेदवारी दर्ता गर्ने कांग्रेस प्रदेश उपसभापति राजु खनालले बताए। 

कांग्रेसँगै गठबन्धन गरेका दल माओवादी केन्द्र, एकीकृत समाजवादीले पनि बुटवलमा वडा तहका उम्मेदवार टुंग्याइसकेका छैनन्।

एमालेले रुपन्देहीमा पालिका प्रमुख र उपप्रमुखहरुको उम्मेदवार टुंग्याए पनि भोलि मात्र मनोनयन दर्ता गर्ने भएको छ। वडा तहमा केही मिलाउन बाँकी रहेकाले बुटवलमा भोलि मनोनयन दर्ता गर्ने एमाले नगर अध्यक्ष किसन श्रेष्ठले जानकारी दिए।

भोलि धेरैले एकैपटक उम्मेदवारी दर्ता गर्ने भएपछि निर्वाचन अधिकृतको कार्यालयमा भिड हुने भएको छ। केही पार्टीले ११ गते नै मनोनयन दर्ता गर्न आउने भने पनि नआएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए। 

‘हामीले १० गते विहान सर्वदलीय बैठक गर्यौं केही पार्टीले ११ गते नै आउँछौं भन्नुभएको थियो तर आउनुभएन। धेरै पार्टीहरुले १२ गते भन्नुभएको छ’ उनले भने। 

सोमबार दर्ता प्रक्रिया विहानबाटै सुरु हुने पौडेलले बताए।

त्यस्तै, रुपन्देहीका अन्य पालिकाहरुमा पनि निकै कम मात्र मनोनयन दर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .