राजनीति


सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : नेता पाण्डे

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : नेता पाण्डे

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ६:३६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ चितवनले आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए।

सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उनले यस विषयमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताए। उनले भने, ‘सीमा सबै मिलेर रक्षा गरौँ, देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन।’ एक ठाउँमा उभिएर कस्सिएर वार्ता गर्नुपर्ने भन्दै उनले थपे, ‘ठूलो आवाज भयो भने आज नपाइएला एउटा विन्दुमा गएर सहमति नखोजी धर पाउँदैन।’ सरकारले प्रयासको थालनी गरेको भन्दै यसअघि कतिपय सरकारले आपत्तिसमेत जनाउन नसकेको उनले बताए।

सरकारका कामका सन्दर्भमा उनले घोषणापत्र आफैँमा महत्वकांक्षी भएकाले पूरा गर्न कठिन हुने बताए। आफ्नो पार्टीले घोषणा पत्र बनाउँदा यथार्थ धरातलमा नलेखेका कारण ५०÷६० प्रतिशतभन्दा बढी पूरा गर्न कठिन हुने जानकारी दिए। घोषणापत्र निर्माणका क्रममा कतिपय विषय सच्याउन लगाएको पाण्डेको भनाइ थियो। यद्यपि पार्टीले विकास र परिवर्तनका विषयलाई घोषणापत्रमा राख्नु सकारात्मक भएको उनले बताए। हरेक क्षेत्रमा सहभागिता र समानुपातिक भनियो तर गुणस्तर नखोज्दा समस्या देखिएको पाण्डेको ठम्याइ थियो।

चितवन क्षेत्र नं १ का निर्वाचित सांसद पाण्डेले आफ्नो क्षेत्रमा भएका ठूला कार्यक्रमहरुका बारेमा जानकारी गराए। राप्ती नदीको तटबन्धनका लागि लोथरदेखि सौराहासम्मको ३४ किलोमिटर आर सिसी वालसहितको ड्याग निर्माण गर्न युरोपियन युनियनसँग झण्डै रु १० अर्ब बजेट माग भई प्रक्रिया अन्तिम चरणमा पुगेको, भण्डारा मलेखु सडकको ४ दशमलव ५ किलोमिटर सुरुङ मार्गसहित ४१ किलोमिटर सडक निर्माणको काम एशियाली विकास बैंकको सहयोगमा हुन लागेको, सौराहामा रु ५५ करोडको लागतमा सभागृह बनिरहेको, वकुलहर फिस्लिङ सडक एशियाली विकास बैंकको रु ७५ करोड सहयोगमा बनिरहेको बताए।

यसैगरी कयर खोलाको शक्तिखोरदेखि सौराहासम्मको ५६ किलोमीटर तटबन्ध रु दुई अर्ब ३६ करोडको लागतमा काम भइरहेको, पूर्र्वी चितवनको रिङरोड निर्माण कार्य शुरु भएको, आफ्नो क्षेत्रमा पर्ने आठवटा सडकमा रु चार करोडका दरले सङ्घीय सरकारको बजेट परी काम भइरहेको उनले जानकारी दिए। महासंघका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको थियो। महासंघले यसअघि चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोख्रेलसँग पहिलो कार्यक्रम गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad