राजनीति


लोसपाले केन्द्रमा कसैसँग गठबन्धन नगर्ने, स्थानीय स्तरमा तालमेल गर्न तयार

लोसपाले केन्द्रमा कसैसँग गठबन्धन नगर्ने, स्थानीय स्तरमा तालमेल गर्न तयार

शैलेन्द्र महतो
चैत २५, २०७८ शुक्रबार १६:५५, जनकपुरधाम

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धन चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिसकेको छ। 

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अन्य दलसँग तालमेलको लागि ढोका खुल्ला राखेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेलको कुराकानी एमालेले अघि बढाइसकेको छ। 

मधेश प्रदेशमा मात्र पार्टीको बढी जनाआधार क्षेत्र रहेपनि अर्को प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भने कुनै पनि दलसँग गठबन्धन गर्ने निर्णय गरेको छैन। 

एक दुई मन्त्रालय लिएर गठबन्धनकै सरकारमा सहभागी हुने र चुनावी तालमेलमा लोसपा पनि सहभागी हुने आन्तरिक कसरत चलेको थियो।

तर शेर बहादुर देउवासँग रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालयमा आफ्नै पार्टीबाट बुधबार दुई मन्त्री नियुक्त गरिसकेका छन्। बाँकी रहेको रक्षा मन्त्रालय कसैलाई दिने मनस्थितिमा पनि देउवा सरकार देखिँदैनन्। यसले अब लोसपा सरकारमा जाने कुनै सम्भावना देखिँदैन। 

वर्तमान सरकारमा जाने विषयमा कुनै औपचारिक कुरा नभएको र सरकारमा जाने  सम्भावना पनि नरहेको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए। 

‘सरकारमा  जाने चर्चा चलि नै रहन्छ। यो कुनै खास कुरा होइन। तर सरकारमा जाने कुनै सम्भावना छैन’ नेता महतोले नेपालखबरसँग भने।  

गठबन्धनले लोसपा आन्तरिक रुपमा ससंकित भए पनि बाहिरी रुपमा भने केन्द्रमा कुनै दलसँग गठबन्धन नगर्ने बताएको छ। स्थानीय स्तरमा नै पार्टीलाई आवश्यक्ता अनुसार कुनै पनि दलसँग चुनावी तालमेल गर्ने अधिकार दिएको छ। 

‘हाम्रो दल चुनावको तयारीमा जुटिसकेको छ। कुन दलसँग चुनावी तालमेल गर्ने अधिकार हामी स्थानीय स्तरमा दिएका छौं’ नेता महतोले भने, ‘आवश्यक्ता र औचित्यको आधारमा कुनै पनि दलसँग गठबन्धन हुन सक्छ।’

सत्ता गठबन्धनको चुनावी तालमेलले चुनावमा लोसपालाई फाइदा पुग्ने लोसपाका नेताहरुको तर्क छ। सत्ता गठबन्धनमा चुनावी तालमेलले धेरै असन्तुष्टि देखिएकाले बागी तथा स्वतन्त्र उम्मेदवारहरू बढी खडा हुने सम्भावना देखिएको लोसपा जनकपुरका नेता विन्दकिशोर साह बताउँछन्।

‘गठबन्धनले लोसपालाई फाइदा पुग्छ। ती गठबन्धनकै दलबाट असन्तुष्ट भएर बागी तथा स्वतन्त्र उम्मेदवारहरु बढी उठ्छन्। यसले गठबन्धनको भोटहरु काटिन्छ। लोसपालाई फाइदा पुग्छ’ उनले भने। 

चुनावी तालमेल विरुद्ध गठबन्धनकै पार्टीहरू भित्रबाट असन्तुष्टिको स्वरहरु सुनिएको र उम्मेदवारका आकांक्षीको व्यवस्थापन गर्न गठबन्धनमा चुनौती हुने लोसपाको आकलन छ। त्यस कारण केन्द्र भन्दा जिल्ला र स्थानीय तहमा नै आवश्यकताको आधारमा तालमेल गर्ने लोसपाले बताएको छ।

‘गठबन्धन भित्रै कतिपय दलले जिल्लामा गठबन्धन गर्न सक्दैनौँ भन्दै केन्द्रलाई दबाब दिइरहेका छन्। विभिन्न असन्तुष्टिहरू सुनिन्छ। त्यसकारण समग्रमा गठबन्धन हुँदैन। केन्द्रबाट गठबन्धनले तालमेल गर्नै पर्छ भनेर सर्कुलर जारी गर्छ भन्ने मलाई लाग्दैन’ जसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले भने। 

चैत २८ गते भित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन 
गठबन्धनका दलहरु तालमेलकै निर्णयमा व्यस्त रहेका बेला लोसपा भने उम्मेदवारको सिफारिस गर्न तयारीमा जुटेको छ। चैत २८ गतेभित्र वडा र पालिकास्तरबाट उम्मेदवार सिफारिस गर्न लोसपाले निर्देशन दिइसकेको छ। 

जिल्ला जिल्लाको रिपोर्टिङ गर्न लोसपाले केन्द्रीय पर्यवेक्षककाे उपस्थितिमा जिल्लाहरूमा विस्तारित बैठक गरिरहेको छ। केही जिल्लाहरुमा बिहीबार केन्द्रीय पर्यवेक्षककाे उपस्थितिमा बैठक भएको थियो भने धनुषा जिल्ला, चितवन लगायका केही जिल्लामा बैठक चलिरहेको छ। बैठकबाट चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको नेता झाले बताए। 

वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखलगायतको नाम सिफारिस गर्न पनि लोसपाले निर्देशन दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .