ad ad

राजनीति


देउवाका विश्वासपात्र साउद र लेखकको गृहजिल्लामै कांग्रेसले स्वीकारेन तालमेल

केन्द्रको निर्देशन अवज्ञा गर्दै उम्मेदवार छान्दै
देउवाका विश्वासपात्र साउद र लेखकको गृहजिल्लामै कांग्रेसले स्वीकारेन तालमेल

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०७८ बिहिबार २१:४६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय एनपी साउद र रमेश लेखकको गृहजिल्ला कञ्चनपुरका चार स्थानीय तहमा नेपाली कांग्रेसले चुनावी तालमेल अस्वीकार गरेको छ। 

कञ्चनपुरको जेठो नगरपालिका भीमदत्त, पुरानो सदरमुकाम बेलौरी, पुनर्वास र लालझाडीमा कांग्रेसका पालिकास्तरीय कार्यसमितिहरूले स्थानीय निर्वाचनमा तालमेल अस्वीकार गरेका हुन्। 

कांग्रेसको भीमदत्त नगर कार्यसमिति, बेलौरी नगर कार्यसमिति, पुनर्वास नगर कार्यसमिति, बेलडाँडी गाउँ कार्यसमिति र लालझाडी गाउँ कार्यसमितिले पार्टी एक्लै निर्वाचन जित्न सक्षम रहेको जिकिर गर्दै तालमेल अस्वीकार गरेका छन्। 

बेलौरी नगर कार्यसमितिले बिहीबार प्रदेशसभा क्षेत्रीय कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिलाई गठबन्धनसम्बन्धी गरेको पत्राचारमा पालिका कांग्रेस एकतावद्ध भएर अगाडि बढ्ने संकल्प गर्दै तालमेल आवश्यक नरहेको उल्लेख छ।

‘हाम्रो नगर कार्यसमिति एवम् बेलौरी कांग्रेसले कुनै पनि पार्टीको वैशाखी टेक्न जरुरी छैन,’ सचिवद्वय भूपेन्द्र बहादुर शाही र कन्हैया रानाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।   

पार्टीको चुनाव चिन्ह रुखबाहेक अरुको चिन्हमा भोट हाल्ने र भोट माग्ने अवस्था नरहेको, नसकिने देखिएको भन्दै बेलौरी नगर कार्यसमितिले एकतावद्ध भएर गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिने निर्णय गरिएको जनाएको छ। 

बेलौरी नगर कार्यसमितिले पालिकामा चुनावी तालमेल लाद्न खोजे स्वीकार्य नहुने समेत चेतावनी दिएको छ। 

नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगरको गृहनगर पुनर्वासमा पनि कांग्रेस चुनावी तालमेलको विपक्षमा उभिएको छ। 

पुनर्वास नगर कार्यसमितिले जिल्ला कार्यसमितिलाई पठाएको पत्रमा चुनावी तालमेलका लागि सर्तहरू अघि सारेको छ। 

पुनर्वास कांग्रेसले तालमेलबारे निर्णय गर्नुअघि संविधानसभा सदस्य दिवानसिंह विष्ट, क्षेत्र नम्बर १ का सभापति गोपी उपाध्याय, २०७४ को स्थानीय तह निर्वाचनका मेयरका प्रत्यासी, महाधिवेशन ​प्रतिनिधिहरूसँग छलफल गर्नुपर्ने सर्त राखेको छ।

छलफलका क्रममा चुनावी तालमेलको विकल्प नदेखिए पुनर्वास नगरपालिकाको नेतृत्व कांग्रेसले पाउनुपर्ने पनि माग राखेको छ। तालमेल गर्नै पर्ने अवस्था आउँदा कांग्रेसले नेतृत्व नपाए पार्टीविरुद्ध अकल्पनीय कदम चाल्ने सम्भावना रहेकोसमेत चेतावनी दिएको छ। 

‘गठबन्धनको विकल्प निस्कन सकेन भने पालिकाको नेतृत्व कांग्रेसले नै पाउनुपर्ने र यदि यसो नभए यहाँका नेता–कार्यकर्ता र नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण जनता आक्रोशमा आएर संगठन–पार्टीविरुद्ध अकल्पनीय कदम चाल्ने सक्ने सम्भावना भएकाले यदि यस्तो भएमा यसको सम्पूर्ण जिम्मेवारी नेतृत्व पंक्तिले लिनुपर्ने भन्दै विज्ञप्ति जारी गरिन्छ,’ सचिव प्रवीण रावलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

लालझाडी गाउँपालिका कार्यसमितिले पनि प्रदेशसभा क्षेत्रीय कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म पत्र पठाएर एक्लै चुनावमा जाने निर्णय गरिएको जनाएको छ।

लालझाडीमा कुनै पनि पार्टीको वैशाखी टेक्न जरुरी नभएको भन्दै गाउँपालिका कार्यसमितिले रुखबाहेक अरु अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्ने र जनतासँग भोट माग्ने अवस्था नरहेको पनि प्रस्ट्याएको छ। 

‘लालझाडी गाउँपालिका कार्यसमिति एवम् हजारौ लालझाडी कांग्रेसजनको भावना÷निर्णयलाई उपेक्षा गर्दै केन्द्रीय, प्रदेश र जिल्ला नेतृत्वले लालझाडीमा गठबन्धन लाद्न खोजे स्वीकार हुने छैन,’ सचिव रमेश विष्टद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ। 

बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्दछन्। यो क्षेत्रमा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य दिवानसिंह विष्ट निर्वाचन लड्दै आएका छन्। 

उनी २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी नेतृ बीना मगरसँग पराजित भएका थिए। विष्टले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मगरलाई पराजित गरेका थिए। 

कांग्रेस नेता लेखक निर्वाचन लड्दै आएको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने भीमदत्त नगरपालिकामा पनि कांग्रेसको पालिका नेतृत्वले चुनावी तालमेल मान्य नरहेको जनाएको छ। 

नगर कार्यसमितिले जिल्ला कार्यसमितिलाई पत्र पठाएर आफूले स्थानीय तह निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल नगर्ने निर्णय गरिसकेको जानकारी गराएको छ। 

नगर सभापति अच्युतराज कलौनीले जिल्ला सभापतिलाई सम्बोधन गरेर पठाएको पत्रमा भनिएको छ, ‘चैत २२ गतेको नगर कार्यसमितिको निर्णयअनुसार भीमदत्त नगरपालिकामा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन अन्य राजनीतिक दलहरूसँग नगर्ने-नगराउने भन्ने निर्णय जानकारी गराइन्छ।’

कञ्चनपुरमा नौ पालिका छन्। जसमध्ये क्षेत्र नम्बर ३ को दोधारा–चाँदनी र क्षेत्र नम्बर २ का कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरपालिकाका कांग्रेसका समितिहरुले भने तालमेलको विरोध गरेर निर्णय गरेका छैनन्। 

२०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त र पुनर्वास नगरपालिकामा नेकपा एमाले, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको थियो। पुनर्वासमा एमालेबाट मेयरमा विजयी उम्मेदवार जीवन थापाले फुटपछि एकीकृत समाजवादी रोजेका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .