राजनीति


लुम्बिनीको पाँचदलीय गठबन्धन बैठकमा किन गएन एकीकृत समाजवादी?

चुनावी तालमेलबारे चार दलबीच मात्र छलफल र निर्णय
लुम्बिनीको पाँचदलीय गठबन्धन बैठकमा किन गएन एकीकृत समाजवादी?

चुनावी तालमेलबारे छलफल गर्न बुधबार लुम्बिनी प्रदेशमा बसेको सत्ता गठबन्धनका चार दलको बैठक।


सुदीप भण्डारी
चैत २४, २०७८ बिहिबार ११:२७, बुटवल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल गर्न बुधबार सत्ता गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय पहिलो बैठक बस्यो। तर गठबन्धनका पाँच दलमध्ये नेकपा एकीकृत समाजवादी पार्टी सहभागी भएन। 

लुम्बिनी प्रदेशसभा अन्तर्गत माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सो दलसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका मात्र प्रदेश नेता सहभागी भएका हुन्।  

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा पनि  ४ दलको मात्र हस्ताक्षर छ। एकीकृत समाजवादीको छैन।

यसबाट एकीकृत समाजवादी पार्टी लुम्बिनीमा गठबन्धनबाट अलग भएको त होइन भन्ने जिज्ञासा उत्पन्न भएको छ।

गठबन्धनको बैठकमा सहभागी कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बुटवलमा नभएका कारण अनुपस्थित रहेको र आगामी बैठकमा सहभागी हुने बताए। 

‘अलि ढिला सूचना गएछ’, श्रेष्ठले बिहीबार बिहान नेपालखबरसँग भने, ‘बैठकका निर्णय उहाँलाई सुनाएको पनि हो। तपाईंहरुको कुरा ठीक छ। हामी अर्को बैठकमा उपस्थित हुन्छौं भन्नुभएको छ।’ 

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष मेटमणि चौधरीसँग भने सम्पर्क हुन सकेन। सो पार्टीका केन्द्रीय सदस्य सिद्दचरण भट्टराईले गठबन्धनमा केही तलमाथि नभएको बताउँदै आफ्ना अध्यक्ष प्रदेशमा नभएकाले मात्र छलफलमा सहभागी नभएको दाबी गरे। 

‘अध्यक्ष काठमाडौँ हुनुहुन्थ्यो। अचानक बैठक राखे। अरूलाई जान भन्न पनि भ्याउनुभएन’, उनले भने, ‘अरू बैठकमा हाम्रो पार्टी सहभागी हुन्छ।’ 

मंगलबार बसेको लुम्बिनीको सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा संयन्त्र बनाउने निर्णय गरेको छ। बैठकमा अब नियमित बैठक बसेर मत विश्लेषणसहितको रिपोर्ट पेस गर्ने, पालिका र जिल्लाले गरेका निर्णयलाई सकारात्मक तरिकाले ग्रहण गर्ने निर्णय भएको छ। 

गठबन्धनको आवश्यकताबारे प्रदेशस्तरीय संयुक्त सभा गर्ने निर्णय पनि ४  दलको बैठकले गरेको छ। 

प्रदेशको गठबन्धनको बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायत सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .