नेपाली कम्युनिस्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयमा अन्तर्क्रिया आयोजना गरिएको छ।
नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको आयोजनामा सो विचारधारासम्बन्धी कार्यक्रम गरिएको हो। नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछिको पहिलो कार्यक्रम हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्त नेम्वाङले सी चिनफिङ विचारधाराले दुई देशबीचको धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। समाज एक चीन नीतिको पक्षमा उभिँदै नेपाली भूमि चीन विरोधी गतिविधि रोक्न जनपरिचालन गर्ने अभियानमा अगाडि बढेको जानकारी दिए।
पूर्वमन्त्री तथा समाजका संरक्षक आनन्दप्रसाद पोखरेलले कार्यक्रमले एकअर्काका विचार, सिद्धान्त र प्रयोगहरुलाई बुझ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे। उनले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जग र फरक–फरक आर्थिक, सामाजिक र भौगोलिक आधारमा केही भिन्नता भए पनि दुवै देशको गन्तव्य दुई राष्ट्रको समृद्धि नै भएको बताए।
उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपाल–चीनबीचको सम्बन्धमा नयाँ युगको शुरुवात भएको र भ्रमणले दुई देशबीचको व्यापार पारवहन तथा उत्तरी सीमा नाका खोल्नेलगायत महत्वपूर्ण काम भएको उल्लेख गरे।
कार्यक्रममा चिनियाँ प्राडा ओयु लिमिङले आर्थिक समृद्धिका लागि निन्तरता चाहिन्छ भन्ने कुरा चीनका राष्ट्रपति सी चिनफिङ विचारधाराबाट सिक्न सकिने बताए। समाजले नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि काम गर्दै आएको छ। रासस

प्रतिक्रिया