ad ad

राजनीति


मधेश सरकारको चार वर्षे उपलब्धि : मोदीको भ्रमणदेखि सडक निर्माणको बोलपत्रसम्म

मधेश सरकारको चार वर्षे उपलब्धि : मोदीको भ्रमणदेखि सडक निर्माणको बोलपत्रसम्म

शैलेन्द्र महतो
फागुन ३, २०७८ मंगलबार १४:४८, काठमाडौँ

मधेश प्रदेश सरकारले आफ्नो चार वर्षे उपलब्धि सार्वजनिक गरेको छ। स्थापनाको चार वर्ष पुरा गरेको अवसरमा मंगलबार मधेश भवनमा पत्रकार सम्मेलन गर्दै मधेश सरकारले उपलब्धि सार्वजनिक गरेको हो।  

मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक गरेको पुस्तिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण लगायत सडक निर्माणका लागि बोलपत्र सूचना प्रकाशनसम्म सरकारले आफ्नो ठूलो उपलब्धि रहेको उल्लेख छ।  

४४ वटा ऐन, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण, मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ योजना, कोरोना रोकथाम तथा नियन्त्रण, जनस्वास्थ्य प्रयोगशाला स्थापना र नाम र राजधानीको टुंगो लगायतको उपलब्धि रहेको मुख्यमन्त्री राउतले बताए। 

चार वर्षमा प्राप्त राजनैतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका महत्वपूर्ण योजनाहरु बेटी पढाउ बेटी बचाउ अभियान, शहिदको सम्मान, किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनको लागि अनुदान, ६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे, तीन वटा विश्वविद्यालयको स्थापना लगायतका कार्यलाई उनले आफ्नो उपलब्धिमा जनाए। 

आठ वटै जिल्लाका विभिन्न स्थानहरुमा ६० वटा बर्थिङ्ग सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, ३ वटा योग भवन, २ शिशु सदन, २० खेल मैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रंगशाला, ३ कभर्ड हल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ बालगृह, २ शौचालय निर्माण गरेको र ३१ वटा विद्यालय भवन र २ वृद्धाश्रम भवनको मर्मत सम्भार तथा स्तरोन्नति, ६४ वटै निर्वाचन क्षेत्रमा ५ किमि सडक कालोपत्रे गर्नका लागि बोलपत्र सूचना प्रकाशन गरेकोलाई समेत प्रदेश सरकारको उपलब्धि पुस्तिकामा उल्लेख छ। 

चार वर्षमा करिब २२५ किमि माटो सडक, ९३७ किमि ग्राभेल सडक, २२४ किमि कालोपत्रे सडक र २३७ किमि ढलान सडक निर्माण, २९२ कल्भर्ट र ३२ पुल निर्माण सम्पन्न गरेको, करिब ३५ किमि नाला निर्माण र ३ झोलुङ्गे पुल, सिंचाईतर्फ ३४ हेडबक्स निर्माण, १७४ किमि कच्ची नहर निर्माण, २९ किमि पक्की नहर निर्माण र ७८ किमि तटबन्ध निर्माण गरेको, ८ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण, ५३ किमि बस्ती संरक्षण र २६ किमि घाट निर्माण गरेको जनाएको छ। त्यस्तै, ९ वटा सरकारी भवन, ९७ वटा सामुदायिक भवन, २३ वटा धर्मशाला र जनता आवास कार्यक्रम अन्तर्गत ९ हजार ४५ वटा घर बनाएको प्रदेश सरकारले जनाएको छ।

अब चाँडै प्रदेशको कामकाजी भाषा टुंगो लगाउने, प्रदेश सरकारद्वारा स्थापित निकायहरुमा जनशक्ति, स्रोत साधनको व्यवस्थापन गरी कामकारबाही प्रभावकारी ढंगले अगाडि बढाउने मुख्यमन्त्री राउतले बताए।

सार्वजनिकी कार्यक्रममा मधेश सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .