प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका तीन दलले ल्याएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय लिएको छ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतवार साँझ बसेको सचिवालयको आकस्मिक बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरूद्धको षडयन्त्रपूर्ण कदम भन्दै प्रतिवादमा उत्रिने निर्णय लिएको हो।
बैठकपछि बालकोटमै पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिए। उनले लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाविरुद्ध भएको यस कदमविरुद्ध उभिन जनतासमक्ष आग्रह गर्ने निर्णय भएको पनि बताए।
महासचिव पोखरेलले सोमवार बिहान बोलाइएको संसदीय दलको बैठकबाट महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने गरी महत्वपूर्ण निर्णय लिने पनि बताएका छन्।
आइतबार सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए।
उक्त महाअभियोग प्रस्तावपछि जबरा स्वत: निलम्बित भइसकेका छन्। उनी निलम्बित भएपछि दीपक कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिइसकेका छन्।
Shares

प्रतिक्रिया