राजनीति


महाअभियोगबारे सुवास नेम्वाङले भने : सरकारको छापामार शैली देखेर छक्क परेका छौँ

गठबन्धनले स्थानीय निर्वाचन भाँड्न खोजेको आरोप
महाअभियोगबारे सुवास नेम्वाङले भने : सरकारको छापामार शैली देखेर छक्क परेका छौँ

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०७८ आइतबार १३:५६, काठमाडौँ

एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउने सत्ता साझेदार दलको प्रस्तावलाई अलोकतान्त्रिक भनेका छन्। 

उनले देश स्थानीय तह निर्वाचनतर्फ गइसकेको अवस्थामा आएको महाअभियोग प्रस्तावले गम्भीर राजनीतिक संकट निम्त्याउने पनि बताएका छन्। 

एमालेले स्थानीय तह निर्वाचनमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम नै थालिसकेको अवस्थामा आएको महाअभियोगले संसदीय प्रणालीमै थप जटिलता ल्याउने नेम्वाङले बताए।

'हामीले सत्ता पक्षलाई जानकारी गराएरै, संसदलाई जानकारी गराएर, सिंगो देशलाई जानकारी गराएर स्थानीय तहको निर्वाचन तयारीको शिलशिलामा देशव्यापी छलफल थालेका थियौँ। त्यही शिलशिलामा प्रदेशमा हामी जम्मा भइरहेका थियौँ', उनले नेपालखबरसँग भने, 'हाम्रो प्रशिक्षण चलिरहेको अवस्थामा अचानक र हठात हामीलाई कुनै जानकारी र सुइँको नदिएर छापामार शैलीमा सत्ता पक्षले यो महाअभियोग प्रस्ताव दर्ता गरे थाहा पायौँ।'

उनले संसदीय प्रणालीमा ठूला निर्णय लिँदा प्रतिपक्षीसँग परामर्श गर्ने नियम रहेको पनि स्मरण गराएका छन्। 'संसदीय प्रणालीमा प्रतिपक्षलाई 'गभर्नेन्ट इन वेइटिङ' पनि भनिन्छ। राज्यको अभिन्न अंग भनिन्छ', उनले भने, 'तर हामीलाई थाहासमेत नदिइ सत्ता पक्षको यस्तो व्यवहार अलोकतान्त्रिक हो। संसदीय प्रणालीविरुद्ध हो। र, हामी यसबाट छक्क परेका छौँ।'

उनले सत्तारुढको यो कदमले स्थानीय निर्वाचनमाथि प्रश्न उठेको पनि बताएका छन्। 

'एकातिर भर्खरै मात्रै हामी सबैको दबाबबाट सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ', उनले भने, 'त्यो निर्वाचनलाई लिएर सर्वोच्च अदालतमा प्रक्रियाको प्रश्न पनि उठेको छ। एउटा रिट दरपीठ पनि भएको छ। तर त्यसलाई लिएर सर्वोच्च अदालतमा मुद्दा जाने प्रसंगहरु पनि आएका छन्। अर्कोतिर हामीले सधैँ उठाइ आएको हाम्रा १४ जना सांसद र नेताहरुको मुद्दा बल्ल बल्ल आज पालो आउने अवस्थामा पेशीमा चढेको अवस्था छ। ललिता निवास प्रकरणसम्बन्धी मुद्दा झुण्डिएको झुण्डियै सर्वोच्चमा छ। यस्ता थुप्रै मुद्दा सर्वोच्चमा पैरवीको बेला अचानक र हठात यो महाभियोगको विषय अहिले हाम्रो अगाडि देखा परेको छ। हामीले यसलाई गम्भीर रुपमा लिएका छौँ।'

उनले यसलाई लिएर सबै सांसद र नेताहरुलाई काठमाडौं बोलाइएको पनि बताएका छन्। 

'हाम्रा सांसद र हाम्रा नेताहरुलाई राजधानी आउन भनिसकेका छौँ', उनले भने, 'हामी यसबारे छलफल गर्छौँ। आजै साँझ सचिवालय बैठक पनि बस्ने भएको छ। भोलि दिउँसो हामी संसदीय दलको बैठक पनि बस्छौँ । हामी यसबारेमा त्यसपछि औपचारिक धारणा बनाउँछौँ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad