राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रवार सुनसरीको इटहरीका फरक फरक ठाउँमा पत्रकार भेटघाट गरे।
लिङ्देनको गृहजिल्ला झापा जाने गरी काठमाडौंबाट विराटनगर एयरपोर्ट हुँदै इटहरी पुगेका थापा त्यहाँ एक पुराणमा पनि सहभागी भए।
थापा बिहान ९ बजे नै इटहरी आउने सूचना थियो। तर, मौसम खराबीले उनी मध्यान्ह १२ बजे मात्रै पुगे। पुराणमा सहभागी हुनुपूर्व थापाले तरहरास्थित गुरुङ होटलमा पत्रकार भेटघाट राखेका थिए।
राप्रपा छाडेका थापाले अध्यक्ष लिङ्देन र पूर्व राजा ज्ञानेन्द्र शाहप्रति कुण्ठा पोख्न सुरु गरिहाले।
भेटघाटको कार्यक्रम सुरु हुनेबित्तिकै थापाको पहिलो आक्रोश पूर्वराजा शाहतिर सोझियो। ३१ वर्षसम्म राजसंस्थाको वकालत गरेर हिँडे पनि त्यसैले आफूविरुद्ध ठूलो चलखेल गरेको आरोप उनले लगाए।
थापाले पत्रकार भेटघाटका क्रममा दुई चार हजार मान्छे उतार्दैमा राजसंस्था नआउने पनि जिकिर गरे।
गत मंसिरमा भएको एकता महाधिवेशनमा अध्यक्ष हारेका उनले केही दिनयता देश दौडाहा थालेका छन्। तर उनले त्यसक्रममा आक्रोशको प्रमुख केन्द्र नै पूर्वराजा र अध्यक्ष लिङ्देनलाई बनाएका छन्।
'राप्रपाको चरित्र पनि फेरिने सङ्केत देखियो। राप्रपा देशको एउटा राजनीतिक शक्ति भन्दा कुनै विषयलाई पुन: स्थापित गर्ने संघर्ष समितिको रूपमा परिणत भयो', उनले भने, 'निर्मल निवासको रिमोट कन्ट्रोलबाट चल्ने सम्भावना देखिन थाल्यो। यही कुरा देखेर मैले पार्टी अध्यक्षलाई मङ्सिर २७ गते सैद्धान्तिक विषयमा आफ्नो स्पष्ट धारणा हुनु पर्दछ भनेर ध्यानाकर्षण गराएँ। तर त्यसलाई रद्दीको टोकरीमा फाल्नु भयो।'
राप्रपामा मात्रै होइन, अन्य पार्टीमा समेत राजाले चलखेल गर्ने भन्दै बेलैमा सजग हुनुपर्नेमा थापाको जोड थियो।
'अहिले राप्रपामा हस्तक्षेप गरेको निर्मल निवासले भोलि नेपाली कांग्रेस र एमालेमा पनि हस्तक्षेप गर्न सक्छ', उनले भने।
लिङ्देनको काउन्टर
थापाले आक्रोश पोखिसकेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत एक्कासि इटहरीमै पत्रकार भेटघाट कार्यक्रम राख्ने सूचना आयो।
थापाले आफू र राजसंस्थाविरुद्ध कुण्ठा पोखेको थाहा पाएपछि त्यसलाई काउन्टर दिन लिङ्देनले समेत पत्रकार भेटघाट कार्यक्रम राखेका थिए। उनी पनि गृहजिल्ला झापा जान लागेका थिए।
उनले त्यसक्रममा भूमिका बाँधेर आफ्नो भनाई राखेनन्। सिधै पत्रकारहरूलाई प्रश्न सोध्न अनुरोध गरे।
केही समय अगाडि मात्रै कमल थापाले राप्रपालाई संघर्ष समिति मात्रै भने नि भन्ने प्रश्नबाट लिङ्देनले जवाफ दिन सुरु गरेका थिए। उनले थापालाई काउन्टर हुने गरि जवाफ दिन सुरु गरिहाले।
'हाम्रो पार्टीको वैचारिक रूपमा स्पष्ट धारणा छ। हामी राजतन्त्रसहितको हिन्दु राष्ट्रको मागमा छौँ, सङ्घर्ष समिति हो कि के हो भन्ने विषयमा जवाफ दिइराख्नु पर्छ जस्तो लाग्दैन,' लिङ्देनले भने, '३१ वर्षसम्म उहाँले पार्टी चलाउनु भएको थियो कि सङ्घर्ष समिति?'
Shares
प्रतिक्रिया