राजनीति


नेपाल-भारत सीमा विवादको समाधान वार्ताबाट : चिनियाँ दूतावास

नेपाल-भारत सीमा विवादको समाधान वार्ताबाट : चिनियाँ दूतावास

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १३:५६,

चीनले कालापानी क्षेत्रको सीमा विवादलाई नेपाल र भारतबीचको मित्रवत् परामर्श र वार्ताबाट समाधान खोज्नुपर्ने जनाएको छ ।

नेपालस्थित चिनियाँ दुतावासले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सधैं सम्मान गर्ने जनाएको छ।

‘नेपाल र भारतबीचको कालापानी भूभागको विवाद उनीहरूबीचको मित्रवत परामर्श र वार्ताको माध्यमबाट समाधान होस् भन्ने चिनियाँ पक्ष चाहन्छ,’ चिनियाँ दुतावासले भनेको छ, ‘नेपाली पक्षको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको चीन सधैं सम्मान गर्दछ।’

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई भारततर्फ समावेश गरेपछि विवाद चर्किएको छ। नेपाल सरकारले यस विषयमा आपत्ति जनाइसकेको छ। भारतले जारी गरेको नक्साको विरोधमा नेपालका सबै राजनीतिक दलहरु एकजुट भएका छन्।

सरकारले नेपाली भूभाग फिर्ता गर्ने विषयमा सबै प्रकारको कुटनीतिक प्रयास गर्ने जनाएको छ। भारतले आफ्नोतर्फ पारेको सो भूभाग चीनसँग समेत सीमा जोडिएको क्षेत्र रहेको छ।

विभिन्न सञ्चारमाध्यम र नेताहरुले चीनले पनि नेपाली भूभाग मिचेको दाबी गरेको भन्दै विज्ञप्तीमा त्यस्ता समाचारको खण्डन गरिएको छ।

‘केही गैरजिम्मेवार सञ्चारमाध्यम तथा व्यक्तिहरुको समूहले चीनले पनि नेपालको भूभाग मिचेको भन्ने विषयमा हामीले जानकारी लिएका छौं। यस प्रकारका आरोपहरु आधारहीन र अन्यौल सिर्जना गर्ने खालका छन्, जुन आममानिसको ध्यान अर्कोतर्फ मोड्ने उद्देश्यले आएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीनबीच सन् १९६१ मा सीमा सन्धिमा हस्ताक्षर भई सीमा छुट्याउनुका साथै सीमाकांन गरिएको हो।’

यसैसाता संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा नेपाली कांग्रेसका सांसदद्वय देवेन्द्रराज कँडेल र अमरेशकुमार सिंहले चीनले ११ स्थानमा नेपाली भूभाग मिचेको दाबी गर्दै त्यस बारेमा पनि सरकार चुप रहन नहुने बताएका थिए।

नेपाल र चीनबीच सीमा र सुख्खा बन्दगाहजस्ता मामिलामा राम्रो सहकार्य हुँदै आएको चिनियाँ दुतावासले जनाएको छ।

‘यही अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सफल नेपाल भ्रमण भएको थियो र सो भ्रमणको समयमा दुई पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सहमतिमा हस्ताक्षर गरेको थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमा मामिलामा नेपालसँगको सहकार्यलाई थप सुदृढ गर्न, बाह्य हस्ताक्षेप रोक्न र साझा विकास प्रवर्धन गर्न चीन इच्छुक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad