ad ad

राजनीति


नयाँ मन्त्री छान्न प्रचण्डलाई सकस

नयाँ मन्त्री छान्न प्रचण्डलाई सकस

सागर न्यौपाने
कात्तिक २७, २०७६ बुधबार १४:१३,

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्वमाओवादी पक्षको भागमा पर्ने मन्त्रालयको नेतृत्व चयन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सकस परेपछि मन्त्रिपरिषद् पुनर्गठनको विषय केही दिन धकेलिने संभावना बढेको छ।

मन्त्रिपरिषद् पुनर्गठन र रिक्त सभामुखको चयनको विषयलाई प्रचण्ड एकैपटक टुंगो लगाउने योजनामा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा अहिले पार्टीभित्र छलफल चलाइरहेका छन्। पछिल्लो तयारीअनुसार मन्त्रीपरिषदमा सहभागी रहेका कम्तीमा तीन पूर्वमाओवादी मन्त्रीलाई प्रधानमन्त्री ओलीले परिवर्तन गर्न चाहेका छन्।

आकांक्षीहरुको ठूलो संख्या, चाहना र विभिन्न पक्षहरुको प्रतिनिधित्व गराउनुपर्ने बाध्यताको कारण अध्यक्ष प्रचण्ड निर्णयमा पुग्न नसकेको उनीनिकट नेताहरुले बताए। कम्तीमा ८ जनाले मन्त्री बन्नका लागि आकांक्षा देखाएका छन्।

‘ती आकांक्षीहरुको व्यवस्थापन गर्न अध्यक्षलाई निकै कठिन छ। त्यसमा पूर्वमन्त्री भैसकेका प्रभावशाली नेताहरुले मन्त्रालय रोजेपछि निर्णय गर्न थप जटिलता परेको छ,’ एक नेताले भने।

आपसी छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको प्रचण्डनिकट नेताहरु बताउँछन्। पूर्वमाओवादीबाटै सभामुख चयन गर्न चाहेका प्रचण्ड एकैपटक निर्णय गर्ने योजनामा छन्।

चारित्रिक कारणले कृष्णबहादुर महराले असोज १४ गते राजिनामा दिएपछि सभामुख पद खाली छ।

पूर्वमााओवादीले अहिले पाएको मन्त्रालयमा गृह, उर्जा, उद्योग, खानेपानी, कृषि विकास, बन र शिक्षा छन्।

‘यीमध्ये उद्योग, कृषि, खानेपानी मन्त्रालयमा नयाँ मन्त्री पठाउने तयारी भइरहेको छ’, पूर्वमाओवादी पक्षका नेकपा स्थायी समितिका एक सदस्य भन्छन्, ‘तर ती मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय गर्न प्रचण्डले सकेका छैनन्।’

प्रचण्डनिकट मन्त्रीहरु भने पर्याप्त तयारी नभई मन्त्रीमण्डल फेरबदल नहुने दाबी गर्छन। सोमबार र मंगलबार चितवनमा प्रचण्डसँगै रहेका बनमन्त्री शक्ति बस्नेतले भने, ‘मन्त्रीमण्डल पुनर्गठनबारे उहाँले केही भन्नुभएको छैन।’

स्थायी समितका अर्का सदस्य अग्नि सापकोटाले पनि मन्त्रीमण्डल फेरबदलमा प्रचण्डले केही निर्णय गरिनसकेको दाबी गरे। अध्यक्षसँग आफूले पटक–पटक कुरा गरेको जानकारी दिँदै सापकोटाले भने, ‘व्यवस्थित रुपमा कुरै भएको छैन, भित्री तयारी कुनै भइसके जस्तो लाग्दैन।’

तर आइतबार बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीचको भेटमा मन्त्रीमण्डल पुनर्गठनबारे निर्णायक कुराकानी भएको नेताहरुले बताएका छन्। प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारमा जानुपर्ने भएकाले त्यसअघि मन्त्रीमण्डल पुनगर्ठन गर्ने तयारी रहेको बताइएको छ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मंगलबारदेखि शुरु भएको चारदिने नेपाल भ्रमणले त्यसलाई केहि दिन पर धकेलेको हो।

आफूनिकट नेतामध्ये मन्त्री बन्न धेरै आकांक्षी भएपछि प्रचण्ड दैनिक परामर्शबाट पनि निष्कर्षमा पुग्न सकेका छैनन्।

अग्नि सापकोटा, लेखराज भट्ट, रेखा शर्मा, जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, देव गुरुङ लगायतका आकांक्षीमध्येबाट तीनजना मात्रै छानेर पठाउन प्रचण्डलाई कठिन देखिएको उनीनिकट अर्का एक नेताले बताए।

प्रचण्ड सकस
एकातर्फ खाली हुने मन्त्रालयको संख्या कम छ भने अर्कोतर्फ खाली गराइन लागेका उद्योग, कृषि, खानपानी मन्त्रालयमा चर्चामा रहेका नेताहरु जान इच्छुक नभएको प्रतिक्रिया आएपछि परिस्थिति थप जटिल भएको हो।

पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेलले अहिले खाली गराइन लागेका मन्त्रालयमा त्यत्ति रुची देखाएका छैनन्।

‘यसबारेमा अध्यक्ष प्रचण्डले मसँग कुरा गर्नुभएको छैन, कुरा भए मेरा धारणा राख्नेछु,’ भुसालले नेपालखबरसँग भनिन्।

सबै पक्षलाई मिलाएर समावेशी अनुहार खोज्नु प्रचण्डका लागि अर्को चुनौति हो। अहिले सुदुरपश्चिमबाट मन्त्री नबनाएकोमा हालै धनगढी गएका बेला गुनासो झेलेका प्रचण्ड अब पुनर्गठन गर्दा त्यसलाई सम्बोधन गर्नैपर्ने दबाबमा छन्।

भट्ट सभामुख बन्न अनिच्छुक
मन्त्रीमण्डल फेरबदलको चर्चा चुलिएपछि अध्यक्ष प्रचण्डलाई भेट्न लेखराज भट्ट सोमबार खुमलटार निवासमै पुगेका थिए। भेटमा अध्यक्षअप्रचण्डले सभामुख बन्न प्रस्ताव गरेको भट्टले आफू निकटस्थहरुलाई जानकारी गराएका छन्।

तर भट्टले सभामुख नबन्ने जवाफ दिएको उनको भनाई उद्धृत गर्दै उनीनिकट एक नेताले नेपालखबरलाई बताए ।

‘सभामुख भएपछि सक्रिय राजनीतिमा धक्का पुग्छ र स्थानीय नेताहरुसँग पनि सम्पर्क टुट्छ, त्यसैले त्यसमा म इच्छुक छैन’, भट्टलाई उद्धृत गर्दै ती नेताले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .